काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती स्वास्थ्य टोलीमार्फत होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि घुम्ती स्वास्थ्य टोलीमार्फत प्रारम्भिक स्क्रिनिङ, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै रेफरल र फलोअप सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले सम्भावित महामारी वा प्रकोपलाई मध्यनजर गर्दै जीवनजल, व्यक्तिगत सुरक्षा उपकरण, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको पर्याप्त भण्डारण गर्न निर्देशन दिएको छ भने स्वच्छ खानेपानी, हात धुने व्यवस्था, पोषिलो भोजन, शौचालय तथा उचित फोहोर व्यवस्थापनका लागि जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यकर्मी परिचालन गरी नियमित अनुगमन गर्न पनि निर्देशन दिइएको समिति सभापति ओजस्वी शेरचनले जानकारी दिइन् ।
बैठकले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको द्रुत चेतावनी प्रणालीमार्फत नियमित निगरानी, शीघ्र रिपोर्टिङ र र्यापिड रेस्पोन्स टिम परिचालन गरी प्रकोपको तत्काल पहिचान र नियन्त्रण गर्न समेत निर्देशन दिएको छ भने बाढीबाट क्षतिग्रस्त बनेका स्वास्थ्य संस्थाहरूको सेवा वैकल्पिक रूपमा सञ्चालन गर्दै प्राथमिकताका आधारमा समयबद्ध पुनर्निर्माण अघि बढाउन समेत निर्देशन दिइएको सभापति शेरचनले बताइन् ।
साथै बैठकले मृतकहरूको सम्मानजनक व्यवस्थापन, पहिचान नभएका शवहरूको वैज्ञानिक अभिलेखीकरण, डीएनए परीक्षण र परिवारलाई समयमै शव हस्तान्तरण गर्न प्रहरी, विधि विज्ञान प्रयोगशाला र स्वास्थ्य मन्त्रालयबीच समन्वय गर्न समेत निर्देशन दिएको उनले जानकारी दिइन् ।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले महामारी तथा सम्भावित रोगहरूको प्रकोप नियन्त्रणका लागि कुल ७ वटा टोली फिल्डमा परिचालन गरिएको जानकारी दिए । झाडापखाला/हैजाविरुद्ध नुवाकोटमा ८०,५२३ डोज र रसुवामा २१,६०० डोज गरी कुल १ लाखभन्दा बढी डोज पठाइसकिएको उनले बताए ।
उनले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले विभिन्न देश, ग्लोबल पार्टनर, निजी फार्मेसी, एनजिओ तथा सरकारी अस्पतालहरूबाट प्राप्त सहयोग परिचालन गरिरहेको उल्लेख गरे ।












प्रतिक्रिया