गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनाहरू बगाएर व्यापक भौतिक क्षति पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका-३ स्थित न्याकचेटबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका-५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।
त्यसैगरी आरूघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित पक्की पुल तथा माछाखोलाको पुल पूर्ण रूपमा बगेको छ। आरूघाटबाट धादिङ जोड्ने नयाँपुल (आरूघाट-९) मा रहेको पक्की पुलको गोरखातर्फको भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र त्यस वरपरका ७ देखि ८ वटा घरहरू बाढीले बगाएको छ । साथै, सिर्दिबासमा राम बहादुर गुरुङको १ वटा कच्ची घर बगाएको छ भने १ वटा घरमा बाढी छिरेको छ । अन्य जलविद्युत् आयोजनाहरूमा पनि बाढीले क्षति पुर्याएको छ ।
धार्चे गाउँपालिका-५ माछीखोलास्थित तल्लो माछीखोलामा ५ देखि ७ वटा घर तथा ५ देखि ७ वटा टहरामा बाढी पसेको छ । यस्तै, धार्चे गाउँपालिका-३ सल्लेरीका २० देखि २२ वटा घरहरू बाढी र कटानको उच्च जोखिममा परेका छन् ।
नदी किनारका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
आरूघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीहरू तथा अस्पतालका कर्मचारीहरूलाई गाउँपालिकाको गाडी, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवा क्लबहरूको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पनि नदी किनारका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्न खटिएका छन् ।
मन्त्रालयका अनुसार स्वास्थ्य संकट व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन तथा सूचना सञ्चार केन्द्र लाई अलर्ट अवस्थामा राखेको छ । साथै गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली र आपत्कालीन चिकित्सकीय टोलीलाई आवश्यक स्वास्थ्य सामग्रीसहित उच्च सतर्कता र तयारी अवस्थामा राखिएको छ ।














प्रतिक्रिया