काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला फिल्म ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक भएको छ ।
भुवन केसीको निर्देशनमा बनेको यस फिल्मको ‘मेरो मन चोर्यौ सुटुक्कै’ बोलको गीत घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्टिक जोडी देख्न सकिन्छ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माले स्वर दिएका छन् ।
गीतको भिडियोमा अनमोल र प्रिन्सीको प्रेमिल प्रस्तुतिलाई आकर्षक ढंगले देखाइएको छ । भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।
फिल्मको टिजर सार्वजनिक भएपछि अनमोलको लुकले दर्शकको ध्यान खिचेको थियो ।
उनको नयाँ अवतारमा धेरैले पिता भुवन केसीको झल्को पाएको प्रतिक्रिया दिएका थिए ।
अब पहिलो गीत सार्वजनिक भएसँगै फिल्ममा अनमोल र प्रिन्सीको जोडी कस्तो देखिनेछ भन्ने चासो पनि बढेको छ ।
भुवन केसीले दोस्रोपटक निर्देशन गरेको यस फिल्ममा अनमोल र प्रिन्सीसँगै स्वयं भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखन गरेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।
राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन् ।
जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्मका सह–निर्माता विवेक थापा हुन् ।
पहिलो गीतमार्फत प्रेमिल माहोल प्रस्तुत गरेको ‘बाटुलो जुन’ले अनमोलको नयाँ अवतार, प्रिन्सीसँगको केमेस्ट्री र भुवन केसीको निर्देशनलाई लिएर दर्शकमाझ कस्तो प्रभाव पार्छ, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।














प्रतिक्रिया