काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड अभिनेता सलमान खान अब बालबालिकालाई लक्षित सामग्री लिएर युट्युबमा आएका छन् ।
उनले ‘बिइङ द सलमान खान’ नामबाट आफ्नै युट्युब च्यानल सुरु गरेका हुन्। ‘बिग बोस–२०’ सञ्चालनमा व्यस्त रहेका सलमानले नयाँ च्यानलमार्फत शिक्षा र मनोरञ्जनलाई जोड्ने प्रयास गरेका छन्।
सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो च्यानलका सामग्री सबै दर्शकका लागि नहुन सक्ने स्पष्ट पारेका छन् ।
उनका अनुसार यो विशेषगरी बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको हो । उनले शिक्षा, रमाइलो, माया र परिवार बालबालिकाका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
च्यानलको पहिलो भिडियोमा सलमानको रोचक प्रस्तुति देख्न सकिन्छ । भिडियोमा सलमानका दुई रूप प्रस्तुत गरिएका छन्—एक प्रशिक्षक र अर्को विद्यार्थी ।
उनीहरूले सलमानकै चर्चित अभिनय शैली, शारीरिक हाउभाउ र संवाद बोल्ने तरिका सिक्ने प्रयास गर्छन्। यसरी आफ्नो पर्दाको व्यक्तित्वलाई बालबालिकाका लागि मनोरञ्जनात्मक सिकाइमा बदल्ने अवधारणा उनले अघि सारेका छन्।
च्यानलमा सुरुवाती चरणमै १० वटा छोटा भिडियो सार्वजनिक भइसकेका छन् भने ७३ हजारभन्दा बढी सब्सक्राइबर जोडिएको विवरण छ ।
युट्युबमा कलाकारहरूको उपस्थिति बढिरहेका बेला सलमानको यो नयाँ प्रयासले पनि ध्यान खिचेको छ। यसअघि अल्लु अर्जुन र मोहनलालजस्ता अभिनेताले आफ्नै आधिकारिक च्यानल सञ्चालन गरिसकेका छन् ।
त्यस्तै, दीपिका कक्कड, शोएब इब्राहिम, जन्नत जुबैर र अनुष्का सेनजस्ता टेलिभिजन कलाकारका जीवनशैली, भ्लग तथा दैनिक गतिविधिसम्बन्धी भिडियो पनि दर्शकमाझ लोकप्रिय छन् ।














प्रतिक्रिया