काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले लगातार दुई सफलता हात पारेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले इनिङ्सको १७ औँ ओभरको पहिलो र दोस्रो बलमा क्यानाडाको विकेट लिएका हुन् ।
खेलको १६ ओभर १ बलमा सन्दीपले आरोन जोनसनलाई आउट गरे । सन्दीपको बलमा आरोन जोनसन गुल्शन झाबाट क्याच आउट भए । आउट हुनुअघि उनले ४९ बलमा ४४ रन बनाए । यस क्रममा उनले ६ चौका प्रहार गरे ।
त्यस लगत्तै अर्को बलमा सन्दीपले क्यानाडाका आदित्य वर्द्धराजनको विकेट लिए । सन्दीपको बलमा आदित्य वर्द्धराजन अर्जुन कुमालबाट क्याच आउट भए ।
नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको क्यानाडाले ताजा अवस्थामा १७ ओभरमा तीन विकेट गुमाउँदै ७५ रन जोडेको छ । यसअघि करण केसीले युवराज शम्रालाई आउट गरेका थिए ।
यसअघि ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूर्वकप्तान रोहित पौडेलको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको थियो ।
नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् । रोहितले १२६ बलको सामना गर्दा ८ चाैका र एक छक्काको मद्दतमा १०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भए । यो रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।
अन्तिममा आएर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चाैका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाएका हुन् ।
नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमेद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् ।
आशिफ शेख तीन बलमा चार रन बनाएर आउट हुँदा इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै पेभिलियन फर्किएका थिए।
पछिल्लो क्रममा ब्याटिङ गर्न आएका करण केसी, नन्दन यादव र ललित राजवंशीले नेपालका लागि रन जोड्न सकेनन् । केसी चार रन बनाएर आउट हुँदा नन्दन र ललित दुई-दुई रनमा आउट भए ।
नेपालका कप्तान सन्दीप लामिछानेले दुई रन जोडे ।
नेपाललाई सस्तैमा समेट्न क्यानडाका अखिल कुमारले चार विकेट हात पार्दा सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे । लिग-२ को अन्तिम सिरिजमा खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल अंक तालिकामा स्थान सुधार गर्ने अवसर हो।
नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।
लिग–२ को अन्तिम चार खेलमा आइपुग्दा नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ । यस्तै, क्यानडाले ३३ खेलबाट २५, ओमानले २९ खेलबाट ३३ अंक बनाएका छन् ।
यसैगरी, नामिबिया ३५ खेलबाट ३१, यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन् । अमेरिकाले ३४ खेलबाट ४७ अंक बनाएर च्याम्पियन बन्दा स्कटल्याण्डको ३६ खेलबाट ४५ र नेदरल्याण्ड्सको ३२ खेलबाट ३८ अंक छ ।














प्रतिक्रिया