तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला « Khabarhub

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ । 

घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारीसमेत रहेका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताए ।
 
‘क्षमा पूजा गरेर विधिवत् रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेका छौँ । अब भक्तजनले उल्लासपूर्वक पूरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्नुहुन्छ’, पहारीले भने । 

उनका अनुसार विसं २०८० कात्तिकदेखि मन्दिर पुनर्निर्माण सुरु भएपछि मन्दिरमा नियमित पूजाआजा बन्द भएको थियो ।
 
पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाआजा बन्द रहेकाले नजिकैको हवनकुण्ड रहेको स्थानमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजाआजा हुँदै आएको थियो । 

मन्दिर खुला भएसँगै पूजाका लागि भक्तजनले पहिलो दिनमा भीड लागेको थियो । नवदुर्गा सुरु भएकालेसमेत अबका दिनमा भक्तजनको उल्लासपूर्वक सहभागिता हुने विश्वास गरिएको छ । 

विसं २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किनुका साथै केही भाग दबिएपछि यसको संरचनामा जोखिम देखिएको थियो । 

पुरातत्व विभागको निर्देशन तथा समन्वयमा तीन वर्ष समय लगाएर मन्दिर पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि रु एक करोड ६५ लाख खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ । 

मन्दिरलाई यसको मौलिक स्वरूप र परम्परागत वास्तुकला कायम हुनेगरी पुनर्निर्माण गरिएको हो । 

प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो । 

प्यागोडा शैलीका मन्दिरमा तहगत छाना, काठका कलात्मक संरचना, परम्परागत झ्लालढोका तथा धार्मिक प्रतीकात्मक आकृतिको प्रयोग भएको छ । 

फेवातालको बीचमा मन्दिर रहेकाले यहाँको धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकसाथ अनुभव गर्न सकिन्छ । डुङ्गाबाट मन्दिरतर्फ जाँदा तालको पानी, वरिपरिको हरियाली र हिमाली दृश्यले तालबाराहीलाई धार्मिक गन्तव्यसँगै महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गरेको छ ।

तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ । मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको स्थानीय धार्मिक मान्यता छ ।

प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ । 

सामान्य झुप्रोको स्वरूपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा निर्माण गराएका थिए । त्यसपछि तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित भएको हो ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले भोटेकोशी बाढीपछि पर्यटक आगमन न्यून हुँदा डुङ्गा चढ्नेसमेत घटेकामा अबदेखि मन्दिर खुला भएपछि भक्तजन तथा यात्रुको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको बताए ।  रासस
 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : ४६ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २