काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी रु ८४ लाख ७६ हजार ७०० बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गर्ने तथा चोरी गरिएका सुनका गरगहना खरिदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा निजहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको धुनिबेँसी नगरपालिका-१ छात्रेदेउरालीका २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, दोलखाको भीमेश्वर नगरपालिका-७ मकैबारीकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका १६ एकम्बाका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौँ महानगरपालिका-१३ ताहाचलका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका-१२ चारघरेका ४५ वर्षीय जितबहादुर विश्वकर्मा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घरमा कोही नभएको मौका छोपी उनीहरू घरभित्र प्रवेश गरी सुनका गरगहना, ल्यापटप र नगद चोरी गरेर फरार भएका थिए । उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोज तलास गर्ने क्रममा पाँच जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको छ ।
त्यसैगरी, चाँदीका औँठी दुई थान, डेल कम्पनीको ल्यापटप एक थान, विभिन्न कम्पनीका मोबाइल तीन थान, फलामको औजार एक थान र नेपाली नगद रु दुई लाख ७० हजारसमेत बरामद गरिएको कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बरामद सुनका गरगहनाको कूल तौल छ तोला ८९ लाल रहेको छ । चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी गर्ने क्रममा उनीहरूबाट चोरीका सामानसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।














प्रतिक्रिया