काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो स्थानमा ‘बेलीब्रिज’ जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सैनिक इन्जिनियरिङ टोली उक्त कामका लागि खटिइएको हो ।
बाढीबाट प्रभावितको उद्धारका लागि आइतबार दिनभर सेनाका एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालित भएका थिए । हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म जम्मा ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको निर्देशनालयले जनाएको छ ।
सैनिक टोलीले गोरखाको जगतबाट १७, यारुबाट दुई, ठूलोढुंगाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरेको हो ।
उद्धार गरिएकामध्येबाट नौ विदेशीसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको छ । प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।














प्रतिक्रिया