साइबर आक्रमण बढेपछि इटालीले सुरक्षा प्रणाली सुदृढ बनाउने « Khabarhub

साइबर आक्रमण बढेपछि इटालीले सुरक्षा प्रणाली सुदृढ बनाउने


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपका विभिन्न देशमा साइबर आक्रमणका घटना बढ्दै गएपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणाली सुदृढ बनाउने निर्णय गरेको छ ।

सम्भावित साइबर आक्रमणबाट सरकारी सेवा, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न समन्वय, सूचनाको आदानप्रदान र सुरक्षा प्रणालीमा लगानी बढाइने भएको हो ।

इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर सुरक्षा मजबुत बनाउने विभिन्न उपायमा सहमति जनाएको छ । बैठकको अध्यक्षता गृहमन्त्री मत्तेओ पियानतेदोसीले गरेका थिए ।

बैठकमा सरकारी तथा अन्य महत्त्वपूर्ण प्रणालीको सुरक्षा क्षमता, अत्यावश्यक सेवाको निरन्तरता र युरोपका विभिन्न देशमा हालै भएका साइबर आक्रमणका प्रकृतिबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

आक्रमणसम्बन्धी अनुसन्धान जारी रहे पनि अध्ययन गरिएका घटनाको साझा उद्देश्य अस्थिरता सिर्जना गर्ने, निराधार त्रास फैलाउने र लक्षित संस्थाको प्रतिष्ठामा क्षति पुर्‍याउने रहेको समितिको निष्कर्ष छ ।

बैठकमा सरकारी प्रशासन, महत्त्वपूर्ण पूर्वाधार, व्यावसायिक प्रतिष्ठान तथा सर्वसाधारणलाई लक्षित गरी हुन सक्ने साइबर जोखिमबारे पनि छलफल भएको थियो । सम्भावित आक्रमणका कारण सार्वजनिक सेवा प्रभावित हुन नदिन थप सुरक्षा उपाय अपनाउनुपर्नेमा समितिले जोड दिएको छ ।

निर्णयअनुसार प्रहरी, गुप्तचर निकाय र साइबर सुरक्षा संस्थाबीच अनुसन्धान तथा सूचनाको आदानप्रदानमा थप समन्वय गरिनेछ । सरकारी तथा निजी क्षेत्रका संस्थाबीच साइबर जोखिमसम्बन्धी सूचना आदानप्रदानको दायरा पनि विस्तार गरिनेछ ।

त्यसैगरी, साइबर सुरक्षा प्रणालीलाई थप मजबुत बनाउनुका साथै सम्भावित आक्रमणको तत्काल सामना गर्न सक्ने क्षमता विकासका लागि लगानी बढाइने मन्त्रालयले जनाएको छ ।

इटालीको पछिल्लो निर्णयले साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य र युरोपेली मुलुकहरूबीचको समन्वयलाई थप महत्त्व दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १ : १४ बजे

मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते

साइबर आक्रमण बढेपछि इटालीले सुरक्षा प्रणाली सुदृढ बनाउने

काठमाडौँ – युरोपका विभिन्न देशमा साइबर आक्रमणका घटना बढ्दै गएपछि

हराउँदै रानाथारुका परम्परागत घर

कञ्चनपुर– रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्