काठमाडौं- पाकिस्तानको लाहोरमा दुई विदेशी महिलाको अपहरण तथा सामूहिक बलात्कार भएको भनिएको घटनामा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारका आफन्त मुहम्मद रजा डारलाई यौन दुर्व्यवहारको आरोपबाट सफाइ दिएको छ । यद्यपि, उनीविरुद्ध गैरकानुनी रूपमा थुनामा राखेको र फिरौती असुली गरेको जस्ता अन्य गम्भीर अभियोगहरू भने कायमै छन्।
अदालतमा पेस गरिएको अपूर्ण अनुसन्धान प्रतिवेदनमा बलात्कारको आरोपमा रजा डारको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको उल्लेख छ । यौन दुर्व्यवहारको आरोपबाट सफाइ पाउने पाँच जना अभियुक्तमध्ये रजा डार पनि एक हुन् भने अन्य तीन जना अभियुक्तविरुद्ध बलात्कारको अभियोग लगाइएको छ । लाहोरका डीआईजी अपरेसन्स फैसल कामरानले गत जुलाईमा रजा डारको उपप्रधानमन्त्री इसहाक डारसँग पारिवारिक सम्बन्ध रहेको पुष्टि गरेका थिए ।
नेदरल्याण्ड्स र भेनेजुएलाका ती दुई महिला रजा डारसँग क्रिप्टोकरेन्सी व्यवसायमा संलग्न रहेको बताइएको छ । सन् २०२५ मा सिंगापुरबाट सुरु भएको लगानी विवादका कारण सन् २०२६ को जुन महिनामा अर्को लगानीकर्तासँग भेट गराउने बहानामा उनीहरूलाई पाकिस्तान बोलाइएको थियो। पछि पैसाको लेनदेनको विवादले उग्र रूप लिएपछि जुन २९ मा लाहोरको डिफेन्स हाउजिङ अथोरिटीस्थित एक घरमा बन्धक बनाएर हतियारको धम्की दिँदै करिब १९ हजार ५ सय अमेरिकी डलर बराबरको रकम असुलिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
जुलाई १ मा विमानस्थल लैजाने क्रममा भट्टा चोक नजिकै सवारी दुर्घटना भएपछि ती महिलाहरूले गुहार मागेका थिए, जसका कारण रजा डार घटनास्थलबाट फरार भएका थिए । प्रहरीले महिलाहरूलाई उद्धार गरी सुरक्षा प्रदान गरेपछि उनीहरू जुलाई ३ मा पाकिस्तानबाट फर्किएका थिए। अनुसन्धानका क्रममा प्रहरीले फिरौती स्वरूप असुलिएको ४३ लाख पाकिस्तानी रुपैयाँ, सवारी साधन र पेस्तोल तथा राइफल जस्ता अवैध हतियारहरू बरामद गरेको छ।
पञ्जाब फरेन्सिक साइन्स एजेन्सीको रिपोर्ट आउन बाँकी नै रहेकाले मुद्दाको प्रक्रियामा ढिलाइ नहोस् भनी प्रहरीले अदालतमा अपूर्ण अभियोगपत्र पेस गरेको हो। अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश रफाकत अली गोन्डलले अभियुक्तहरूलाई प्रतिवेदनको प्रतिलिपि वितरण गर्दै आगामी सुनुवाइ नोभेम्बर ११ का लागि तोकेका छन्। यता, यौन दुर्व्यवहारको आरोप लागेका दुई अभियुक्तका वकिल सलमान शाहिदले भने प्रहरीले मुख्य अभियुक्तहरूलाई जोगाएर कम तलबमा काम गर्ने सामान्य कर्मचारीलाई फसाउन खोजेको आरोप लगाएका छन्।














प्रतिक्रिया