कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन « Khabarhub

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन



काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै आएका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा यतिबेला काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ ।

बहुमत महाधिवेशन प्रतिनिधिको मागअनुसार सुरु भएको विशेष महाधिवेशनको उद्घाटनसत्रमा सभापति शेरबहादुर देउवाका हरेक राजनीतिक उतार–चढावमा साथ दिएका गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाटदेखि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनसम्म विशेष महाधिवेशन कार्यक्रमको अग्रपंक्तिमा देखिनुले पार्टीको आन्तरिक शक्ति सन्तुलनमा गहिरो फेरबदलको संकेत गरेको छ ।

संस्थापन पक्षले यस प्रक्रियालाई ‘पार्टी फुटाउने चाल’ भन्दै आलोचना गरिरहँदा, लामो समयसम्म नेतृत्वको संरक्षण र समर्थन गर्दै आएका नेताहरू किन अहिले विशेष महाधिवेशनको पक्षमा खुले ? भन्ने प्रश्नले कांग्रेसको भविष्य, नेतृत्व र आगामी निर्वाचन रणनीतिमाथि गम्भीर बहस सिर्जना गरेको छ । सोही पृष्ठभूमिमा रहेर लुम्बिनी कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-

पार्टीका छ भाइ प्रदेश सभापति संस्थापनतिर लाग्दा तपाईं एक्लो बृहस्पति भएर विशेष महाधिवेशनको पक्षमा किन लाग्नुभयो ?

नेपालको राजनीति परिवर्तनको चरणमा छ, र यस्तो अवस्थामा नेपाली कांग्रेसले समयसापेक्ष नीति, नेतृत्व र सोचसहित आफूलाई रूपान्तरण गर्न आवश्यक छ । विगतका योगदानकर्ता श्रद्धेय नेताहरूलाई सम्मान गर्दै कमजोरी सच्याएर नयाँ ऊर्जा र दृष्टिकोणका साथ आगामी फागुन २१ गतेको निर्वाचनतर्फ जानु आजको आवश्यकता हो ।

पुरानै शैलीबाट आम नागरिकको अपेक्षा पूरा गर्न नसकिने भएकाले समयानुकूल नेतृत्व र नीतिसहित मतदातामाझ जानुपर्छ भन्ने आवाज पार्टीभित्र र बाहिर व्यापक रूपमा उठिरहेको छ । यही कारण नियमित अधिवेशन समयमै गर्न नसकिएको अवस्थामा विधानअनुसार विशेष महाधिवेशनको माग गरिएको हो, र म त्यसको पक्षमा दृढतापूर्वक उभिएको छु ।

विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको माग हुँदाहुँदै केन्द्रीय कार्यसमितिले त्यसलाई स्वीकार नगर्नु दुर्भाग्यपूर्ण रह्यो । कांग्रेसको इतिहासमा विशेष महाधिवेशनपछि पार्टी सशक्त बनेको उदाहरण छ । आज पनि श्रद्धेय नेतृत्वको अभिभावकत्व, एकता र सहमतिमा यो प्रक्रिया अघि बढेको भए कांग्रेस पुनः बलियो शक्ति बन्ने आधार तयार हुन्थ्यो ।

तपाईं सुशील कोइरालाको विश्वासपात्र, त्यसपछि शेखर कोइरालाको पक्षमा सतिसाल भएर उभिनुभयो । अहिले गगन थापालाई काँध हाल्नु भएको छ । कोइरालाहरुसँग कहाँ कुरा मिलेन ?

नेपाली कांग्रेससँगको मेरो राजनीतिक जीवनको लामोसमय कोइराला परिवारसँगै अगाडि बढेको हो। विगतमा सुशील कोइरालासँग म अत्यन्त नजिक भएर उहाँको हर किसिमको निर्णय र संघर्षमा सतिसाल जस्तै उभिएर क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको हो ।

कांग्रेसलाई बचाउन, समयानुकूल चल्न कोइराला परिवारका शेखर र शशांक दुवै दाजुभाइर म एकअर्कालाई सघाउँदै आएको नै हौं । अहिलेको परिप्रेक्ष्यमा उहाँहरुबाट समयानुकूल नेतृत्व चल्ने देखाएन । उहाँहरुले गहन रुपमा विचार गरेर पार्टी परिवर्तनको पक्षमा उभिएको भए माहोलफरक र अझ सशक्त बन्ने थियो । यसका लागि धेरैसाथीबाट प्रयत्न गरिएकोमा उहाँहरुले सुन्नुभएन । आवश्यकताको माग अंगाल्न नसकेको खण्डमा पार्टी र व्यक्ति भनेका फरक कुरा हुन् । व्यक्तिलाई मात्रै अंगाल्न सकिदैन ।

डा. शेखर कोइरालाको कार्यशैली कहाँ तपाईंको असहमति रह्यो ?

उहाँ नीतिगत प्रक्रियामा नेतृत्वले गर्नुपर्ने भूमिकामा अडिग रहन नसक्ने कारणले गर्दा मलाई उहाँले नेपाली कांग्रेसको सभापति भएर सही ढंगबाट जिम्मेवारी निर्वाह गर्न सक्नुहुन्न भन्ने लागेर म फरक पथमा लागेँ । उहाँसँग मेरो कुनै व्यक्तिगत अहसमति छैन तर, राजनीतिक मुद्दामा उभिएपछि दिगो बन्न नसकेका कारण मैले पार्टीको बहुमत र हितको पक्षमा समर्थन जनाएको हुँ ।

सभापति देउवालाई परिक्रमा गर्ने मध्येकाहरु विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका छन् । उता भाग नपाएकाहरु आएका हुन कि एजेण्डासँग सहमत भएर ?

हाम्रा आदरणीय नेता गोपालमान श्रेष्ठ, जीवनको उत्तरार्द्धमा आइपुग्दा विभिन्न भागबण्डाको सोचमा पक्कै हुनुहुन्न । नेपाली कांग्रेसको लामो इतिहास कालमा काम गर्दै गर्दा भागका लागि उभिएको भन्नु गलत व्याख्या भएको छ । २०५९ सालमा सभापति ज्यूको अप्ठ्यारो अवस्थामा पनि तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी सम्हाल्न सघाउनुभएको थियो । त्यो साथ र अनुभव आजको मागमा यसै सहमत भएको पक्कै होइन ।

पार्टी विधि र विधानअनुसार चल्ने हुँदा त्यो खालको प्रेरणा दिनपनि उहाँले समर्थन जनाउनुभएको भान भएको छ । भागबण्डा नपाएर भन्ने व्याख्या गर्नु गलत हो । उहाँ मात्रै होइन्, अन्य छ भाईले पनि समर्थन जनाउन चाहिरहनु भएको छ । तर समन्वय के कति भएको छ त्यसले भूमिका खेल्नेछ ।

पुराना महामन्त्री तारानाथ रानाभाटदेखि अन्य नेताहरुले विशेष महाधिवेसनलाई समर्थन गर्नुभएको छ । बाहिरका बुद्धिजीवी, कानुनविद्, संविधानविद् सबैको समर्थन पाइरहेका छौँ । विश्वजगत र आम समर्थक पनि देश विदेशभरबाट आइरहनुभएको छ । २०/३० प्रतिशत भन्दा माथि हुँदैन भनिए पनि हिजोसम्म ६० प्रतिशत आइसक्नुभएको पाइयो । आज थप गाउँगाउँबाट साथीहरु थपिनेछन् ।

विशेष महाधिवेशनले गरेको निर्णयले वैधता पाउनेमा शंका गरिदैछ नि, भोलि त यसका निर्णय लिएर संवैधानिक निकायमा जानुपर्ने होला ?

त्यसमा दुईमत नै छैन । निर्वाचन आयोगमा त जानु नै पर्छ । नेपालको संविधान, दलसम्बन्धी व्यवस्था र पार्टीको व्यवस्था अनुसार बहुमत महाधिवेसन सदस्यले गरेको निर्णय वैध मानिदैन भन्नेमा शंका छैन् ।

तपाईंहरुले बोलाएको भेलाले भोलि नेतृत्व परिवर्तनका लागि दबाब दियो भने त्यतिबेला के गर्नुहुन्छ ? भेला बोलाउने पार्टीलाई यथास्थितिमा राख्ने एजेण्डा त आत्मघाती होला नि ?

उद्घाटन समारोहपछि विभिन्न खालको कार्यविधिको तयारीमा लाग्छौँ । विशेष महाधिवेसनको बन्द सत्रमा कार्यविधि पेश गछौँ । त्यसमा के कस्ता परिमार्जन गर्ने भन्ने बन्दसत्रले नै तय गर्छ ।

कांग्रेसको विगत हेर्दा फुट्दैन भनेर नेताहरुले आश्वासन दिँदादिँदै फुटेको देखिन्छ । तपाईंहरुको भनाइ अम्लेट नि चाहिने अण्डा नि फुटाउन नपाइने जस्तो भएन र ?

२०१४ सालमा भएको विशेष महाधिवेसनले एकताको अधिवेसन गर्‍यो । २०५१ मा गिरिजाप्रसाद कोइराला महामन्त्री हुँदै गर्दा कृष्णप्रसाद भट्टराईको विरोधमा यस्तै विशेष भेला आह्वान गर्दा अन्त्यमा उहाँ त्यहाँ पुगेर सम्बोधन गरेर एकतामा गएको अवस्था छ ।

२०५८ सालमा विशेष भेला आह्वान गरेर त्यसलाई नै विशेष अधिवेशन बनाइएको थियो । जुन विधानसम्मत् थिएन । जसकारण निर्वाचन आयोगले अर्को पार्टी खोल्न सुझाव दियो । त्यसपछि भने कांग्रेसमा त्यो दुरावस्था दोहोरिएको छैन ।

५ पटक प्रधानमन्त्री, दुई पटक सभापति, इतिहासमा पार्टीलाई ठूलो योगदान गरेको, फुटको पीडा र एकताको मिठास पनि महसूस गरेको, समग्र राजनीति बुझेको आदरणीय सभापतिजी हुनुहुन्छ । उहाँले यस परिस्थितिमा विवेक प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ ।

संसदीय निर्वाचनको मुखमा विशेष महाधिवेशन आव्हान भएको छ । उम्मेदवार चयनमा यसले पार्ने प्रभाव के हो ? कि यसलाई आफ्ना समूहका नेता कार्यकर्ताको व्यवस्थापनका लागि शक्तिप्रदर्शन भनेर बुझ्ने ?

यो शक्ति प्रदर्शन होइन । कुन क्षेत्रमा कसको बलियो जनाधार छ ? कसलाई टिकट दिँदा राम्रो हुन्छ भन्ने नेतृत्वलाई जानकारी नभएको होइन । तर, एउटै व्यक्तिले पटक–पटक अवसर पाइरहने, पार्टीमा जीवनभर खटेका व्यक्तिलाई किनारा लगाइने अवस्था भने छ । त्यो अवस्थालाई सुधारगर्न त अत्यावश्यक छँदैछ । हामी शक्ति प्रदर्शनबाट यो खालको दबाब दिन भने अहिले यहाँ आएका होइनौँ । यहाँ नीति बनाउँदानै कसलाई कतिपटक अवसर दिने भन्ने यकिन गर्न जरुरी छ । त्यसमा अभ्यास हुनेछ ।

कांग्रेसको हार्डवेयर र सफ्टवेयरमा तपाईंहरुले चाहेको परिवर्तन के हो ? १, २, ३ गरेर बुँदामा भनिदिनुस् त ?

हामीले चाहेका प्रमुख विषय भनेको अहिलेसम्म देखिएका विधान र पार्टी नीतिको कमजोरीलाई सुधार गर्दै नेतृत्व र नीतिगत सुधार, आम निर्वाचनमा सहभागी हुँदा अन्य पार्टीसँग गठबन्धन नगरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले रुख चिन्हमै भोट हाल्न पाउने अवस्थालाई सुनिश्चित गर्ने गरी नयाँ नीति र नेतृत्व लिएर अगाडी बढ्नेछौँ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ०६ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा