क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु « Khabarhub

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोटपटक लागेको छ ।

क्यानाडाली सञ्चारमाध्यमहरूले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ ।

प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीहरूले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

यसैबीच प्रहरीले टम्बलर रिजस्थित एक निवासबाट थप दुई जनाको शव फेला पारेको जनाएको छ । उक्त घर घटनासँग जोडिएको विश्वास गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्यालय परिसरभित्र गोली चलाउने व्यक्तिको रूपमा आशङ्का गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।

टम्बलर रिज नगरपालिकाले जारी गरेको वक्तव्यमा समुदायले भोगिरहेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरिएको छ ।

घटनाका बेला विद्यालयमा रहेका विद्यार्थी डेरियन क्विस्टले सार्वजनिक प्रसारक सिबिसीलाई आफू मेकानिक्स कक्षामा रहेका बेला विद्यालय सुरक्षात्मक बन्द अवस्थाको घोषणा भएको बताए । सुरुमा आफूले सामान्य सावधानी ठाने पनि केही समयपछि विद्यालयभित्रको घटनाका तस्बिरहरू प्राप्त हुन थालेपछि स्थिति गम्भीर रहेको महसुस भएको उनले उल्लेख गरे । त्यसपछि वास्तविकता स्पष्ट भएको उनले बताए  ।

उनले करिब दुई घण्टाभन्दा बढी समय सुरक्षात्मक बन्द अवस्थामा बस्नुपरेको र त्यसपछि प्रहरी विद्यालयभित्र प्रवेश गरी सबैलाई हात माथि उठाएर बाहिर निस्कन निर्देशन दिएको जानकारी दिए ।

डेरियनकी आमा शेली क्विस्टले पनि सिबिसीसँग कुरा गर्दै स्थल सुरक्षित घोषणा भएपछि छोरोसँग भेट हुँदा अँगालो हालेर समातेको बताएकी छन्। अब केही समय उनलाई आफ्नो नजरबाट टाढा जान नदिने उनले उल्लेख गरिन् ।

प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले हिंसाका यस्ता भयानक कार्यमा आफ्ना प्रियजन गुमाउने परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले पनि घटनालाई अकल्पनीय हिंसा भन्दै निन्दा गरेका छन् । सङ्घीय विपक्षी नेता पियरे पोइलिभ्रेले यसलाई हिंसाको मूर्खतापूर्ण कार्यको संज्ञा दिएका छन् ।

क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड विरलै हुने गर्दछन् । तर गत अप्रिलमा भ्यानकुभरमा फिलिपिन्सको सांस्कृतिक उत्सवलाई लक्षित गरी गरिएको गाडी आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

आरसिएमपीका उत्तरी जिल्ला कमान्डर केन फ्लोइडले घटनालाई द्रुत रूपमा विकसित र अत्यन्त जटिल अवस्था भएको बताए । उनले यो दिन समुदायका लागि अत्यन्त गाह्रो र भावनात्मक रहेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउन देखाएको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रहरीले घटनासँग सम्बन्धित थप स्थानहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समुदायका अन्य घर तथा सम्पत्तिको पनि खोजी गरिरहेको जनाएको छ ।

करिब दुई हजार ४०० जनसङ्ख्या रहेको शान्त सहर टम्बलर रिज, ब्रिटिस कोलम्बियाको सबैभन्दा ठुलो सहर भ्यानकुभरबाट एक हजार १०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । 

नगरपालिकाले ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस त्रासदीले परिवार, विद्यार्थी, कर्मचारी र सम्पूर्ण समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरेको छ । समुदाय अहिले शोक र स्तब्धताको अवस्थामा रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १ : ०२ बजे

चलचित्र विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित

काठमाडौं– राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।   बुधबार

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने संकेत

एजेन्सी– चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड

रणवीर सिंहलाई बिश्नोई गिरोहको धम्की, मुम्बई प्रहरीद्वारा छानबिन तीव्र

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहलाई व्हाट्सएपमार्फत करोडौँ रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण

स्टक ब्रोकरमार्फत १० प्रतिशत मार्जिन कारोबार गर्न पाइने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको