गगन थापा हराएको सूचना ! « Khabarhub

गगन थापा हराएको सूचना !



स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर सबैको गतिविधि चेक गरिरहेका थिए । लाइनमा दुई जना मानिस अगाडि थिए । एकातिर कालो चश्मा, छालाको ज्याकेट लगाएका ड्राइभर अर्कातिर धोर्ती कुर्ता पहिरिएका पण्डित थिए । धर्मराजले ड्राइभरसँग ठूलो स्वरमा सोधे– ‘भाइ, तिमी को हौ, धर्तीमा के गर्थ्यौ ?’

ड्राइभरले जुँगामा ताउ लगाउँदै भन्यो– ‘काठमाडौं–सर्लाही चल्ने नाईट गाडीको ड्राइभर हुँ ।’ ड्राइभरको परिचय पाउनासाथ यमराजले उठेर सम्मान गर्दै भने– ‘तपाईंलाई स्वागत गर्न पाउनु मेरो गौरव हो । तपाईंका लागि शुद्ध सुनको लक्जरी गोल्डेन रुम तयार छ । कृपया गएर आराम गर्नुस् ।’

यो दृश्य हेरिरहेका पण्डितको पालो आयो । पण्डितले कर्मकाण्डी ब्राम्हण भएको परिचय दिँदै आफूले मानिसलाई अध्यात्मको बाटोबाट मुक्ति दिलाएको सगौरव बताए । धर्मराजले रजिस्टर चेक गर्दै निरस भावमा फैसला सुनाए– ‘ठीक छ, तिमी यो गम्छा लिएर पल्लो कोठामा ओछ्याएको गुन्द्रीमा सुत ।’ धर्मराजको फैसलाले धर्मराएका पण्डितलाई पहाडले थिचे झैँ भयो । उनले बिलौना गर्दै विन्ती बिसाए –‘यो कस्तो न्याय हो ? जसले जिन्दगीभर भगवान पुकार्‍यो, उसलाई सुती कपडा, एउटा मामुली ड्राइभरलाई सुनको सल ?’

धर्मराजले पण्डितको काँध थप्थपाउँदै सम्झाए– ‘वत्स, यहाँ पोजिसन नभएर परफरमेन्स हेरिन्छ । जब मन्दिरमा तिम्रो लोरी सुनेर भक्त चैनको निद लिन्थे, यो ड्राइभर सयको स्पीडमा गाडी चलाउँदै आफू पछाडि बसेका यात्रुलाई आँखा बन्द गराएर सच्चा मनले भगवानको स्मरण गराउँथ्यो । यसले एकाध वर्षमा जति मानिसलाई भगवानसँग जोड्यो, त्यति तिमीले चार दशकमा पनि सकेनौँ । रिजल्ट म्याटर गर्छ, लेक्चरर हैन ।’

कांग्रेसलाई ‘लास र दास’ को पार्टी नभएको जिकिरकासाथ विशेष महाधिवेशनको हस्तिनापुरमा विजय निकालेका गगन थापा यतिबेला गुमनाम छन् । प्राइभेट कम्पनीको दलदलबाट पार्टी बाहिर निकाल्ने दुस्साहस नै उनका लागि जित्दा सभापतिको श्रीपेच, हार्दा राजनीतिक अवसानको चपरीमुनि बासजस्तै थियो । संसदीय चुनावको झट्काबाट विचलित गगन थापाका लागि यतिबेला न मुर्झाउने छूट छ, न हारबाट भाग्ने ।

चुनावका ती व्यस्त दिनमा पनि उनी कांग्रेस कार्यकर्तालाई उर्जा भर्दै भिडियो सन्देश दिन्थे । अन्तर्वार्ताबाट कार्यकर्ता पंक्तिलाई हुटहुटी जगाउँथे । सपना देख्न हौस्याउँथे । कुनै विद्यार्थी परीक्षामा असफल हुनु भनेको प्रयासमा कमी भएको हो । यसका लागि उसले पढाईमा नयाँ तरिका ल्याउने हो, पुस्तक मिल्काउने हैन । विद्यार्थी राजनीतिबाट खारिएका गगनले यो आंशिक असफलतालाई गन्तव्यमा पुग्न थोरै ढिलाई भएको मान्नुपर्छ ।

कांग्रेसका लागि प्रतिकूल अवस्था हुँदाहुँदै पनि १७ लाख मतदाताको विश्वास ठूलो उपलब्धी हो । पराजयलाई आत्मविश्लेषण र संश्लेषणको सुअवसर मानियो भने सहज हुन्छ । यतिखेरसम्म आत्मश्लाघालाई संगठनको आधार बनाएको कांग्रेसले अब आवश्यकताको जमिनमा उभिनुपर्छ । बीपीको अमूर्त समाजवादको चियागफ गरेर कांग्रेसको लोरी अब कसैले सुन्दैन । अबको मूल प्रश्न भनेको कांग्रेस, एमाले र माओवादी हुँदा उसको जीवनमा के फरक आउँछ ? घुरेनबारीमा लगाएको इसकुस बेचेर उसले के गर्जो टार्छ ? खाडी सपना पूरा गर्न बाउले घरजग्गा बन्धकी राख्नु नपर्ने तन्त्र कसले दिन्छ ?

चुच्चे नक्सामा मुठ्ठी कस्न सिकाउने राजनीतिको सट्टा खानेपानीको पाईप जोड्न सिकाउने राजनीति कहाँबाट जन्मिन्छ ?सरकारले सिफारिस गरेको बीउले नै भुस र खोया फल्ने भएपछि राज्यका प्रणालीसँगै जनता दशकौंदेखि आजित थिए ।

सत्ताको बिलो लगाउन पल्केका कांग्रेस, एमाले र माओवादी पिरहा भएकै कारण जनताले यो प्रकृतिको रिस पोखेका हुन् । त्यही आक्रोसको ढोक्सा राष्ट्रिय स्वतन्त्र पार्टीले थापेको हो । आफ्नो क्षेत्रबाट घण्टीमा को उठेका थिए, लाखौँ मतदातालाई अझै थाहा छैन । एउटा ललिपप बालेनको हातबाट नपाएका लाखौं शिशु तिनका नाममा किन उफ्रिए ? तिनैलाई फकाउन पनि तीनपुस्ताको मत रास्वपाले पायो ।

यसको बहुआयामिक उत्तर पराजित हुनेहरुले खोज्नुपर्छ । घाँटीले काम नगरेपछि नाकले पानी पिउनु मतदाताको बाध्यता बन्यो । झण्डै चार दशक कांग्रेस, एमालेले सत्तामा रजगज गरे ।अबको सत्ता भीरमौरीको मह काढ्नुजस्तै हो । ओली, देउवा र प्रचण्डका घर मात्रै जले, रास्वपाका नेताहरुले राज्य संयन्त्रमा गएर ठट्टा गरेको प्रमाणित भयो भने तिनीहरुले लगाएको लुगासहित आत्था भन्ने अवस्था पनि नआउन सक्छ ।

सडक, बत्ती, पुलपुलेसा, मलजलका एजेण्डाले कुनै दलमाथि कसैको भरोसा नबढ्ने निश्चित छ । राज्यकोषको पैसा खर्चिएर कोही कसैले बाटो, पुल बनाएको फूर्ती लगाउँछ भने त्यो यो पृथ्वी सर्वाधिक फन्टुस प्राणी हो । त्यो उसको समस्या हो, मतदाताको होइन । अब आममानिसले राख्ने पहिलो र अन्तिम सर्त हो– तपाईंसंग खुसी बनाउने एजेण्डा के छ ? बुर्जखलिफा, आइफेल टावर, साइबेरियादेखि अन्टार्कटिकाको मानवशून्य स्थानमा समेत नेपाली पुगेका छन् । उनीहरुको चेतनास्तरले तर्क हैन, एक्सन खोज्छ ।

अहिलेको पुस्ता अष्टावक्रजस्तै छ । अष्टावक्र त्यो पात्र हो, जसले आमाको गर्भमा हुँदा बाबुमाथि शासन जमाउन थालेको थियो । आठ ठाउँ शरीर भाँचिएको एउटा बालक राजा जनकको गुरु बन्नु चानचुने विषय थिएन । धौम्य ऋषिका विश्वासपात्र शिष्य कहोडको गुणवती कन्या सुजतासँग विवाह भएको थियो । तिनै सुजताको गर्भमा रहेका अष्टवक्रले वेद पाठ गरिरहेका बाबुलाई अर्ती दिँदै भनेका थिए– ‘यो रोक्नुस् पिताजी, यो सब बकबास हो । यसमा केही ज्ञान छैन । यो मूलतः शब्दको संग्रह हो । शास्त्रमा ज्ञान कहाँ छ ? यो त स्वयंमा हुने कुरा हो । शब्दमा नभएर मानिसभित्र सत्य छ ।’ नजन्मेको बच्चाले आफूमाथि शासन गरेको असह्य भएर पिताजीकै श्रापका कारण उनी अष्टवक्र भएर जन्मिएको किंवदन्ती छ ।

शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रवृत्तिको विरोध गर्दागर्दै पछिल्लो पुस्तामा पनि त्यो चरित्र सरिसकेको स्वीकृतिसहित सुधारको बाटो पक्रनु पर्छ । नेता फेर्न मिल्छ, जनता फेर्न मिल्दैन । जनता बच्चाजस्तै हुन, उनीहरुको मन जित्ने हो । मतदातासँग ढिकीजाँतो, मेलापात गर्न तम्सिने उम्मेदवारले हारेको चौबीस घण्टामै पार्टी छोडेको समाचार आउनु अझै पनि राजनीतिक आडमा गरिने पापको निरन्तरता हो ।

गगन लक्ष्यभेदी आह्वानमा देशभरका युवा एकजुट भए । घरमा जाउलो र लिटोको खर्च कटौती गरेर राजधानी आए । गगन जति खुकुरीको धारमा थिए, त्योभन्दा जोखिम कार्यकर्ताले लिएका थिए । ती युवालाई ढाडस दिनुपर्ने दायित्व गगनको हैन ? नियमित महाधिवेशन नभएसम्मका लागि त्यसै पनि उनी म्यादी सभापति हुन् । पार्टी जुनसुकै होस्, बहुमत प्राप्त सरकारको सफलतामा देशको कल्याण रहेकाले रचनात्मक सहयोग गगनपुस्ताको कर्तव्य हो ।

खेप गएको हो, जिन्दगी गएको हैन । एक वर्षपछि स्थानीय निकायको चुनाव आउँछ । त्यो पनि फुस्कियो भने कांग्रेस– कम्युनिष्ट पार्टी प्रजापरिषद् हुनबाट कसैले रोक्दैन । इतिहासले मात्र इज्जत हुँदैन । त्यसो भएको भए साङ्लो पृथ्वीको सर्वाधिक पुरानो जीव हो । उसको इज्जत बाघ, हात्तीको भन्दा माथि हुनुपर्ने थियो ।

बीपीले कांग्रेसजनलाई कुनै निर्णय लिन द्विविधा भए माटो हातमा लिएर गम्न आह्वान गरेका थिए । माटोसँगै अब बाटो पनि विचार गर्नुपर्ने दिन आए । इन्टरनेटबाट आउने भाइरल बाटोबाट जोगिन प्रतिरक्षा प्रणाली चुस्त, दुरुस्त बनाउन सकिएन भने त्यसले सर्वनासको बाटो निम्त्याउने रहेछ । अघिल्लो स्थानीय चुनावमा काठमाडौं, वीरगञ्ज, धनगढी र धरानमा स्वतन्त्रलाई ठूलो जनमत दिएर पार्टीप्रतिको वितृष्णा प्रकट गरेको प्रकरणलाई दलहरुले सामान्य लिए । यो उनीहरुको गम्भीर भूल थियो ।

रवि लामिछानेलाई दूधले नुहाएको भनेर ५० लाख नेपाली जनताले कपडामा हस्ताक्षर गरेको समाचार सत्तामोहमा डुबेकाहरुलाई जोक लाग्यो । त्यो कपडाभित्रको मसीमा गुत्थी लुकेको कसैले पत्तो पाएन । कांग्रेस, एमाले, माओवादीको झण्डा बोकेर प्रचारमा उत्रिएको एउटा कार्यकर्ताभित्र ‘घण्टीभूत’ कसरी सवार हुन्छ भन्ने प्रश्नको उत्तर पत्ता लागेका दिन त्यसको एन्टीबायोटिक पछारिएका सबै दलले आफ्नै नाभीमा भेट्छन् ।

अबका दिनमा कांग्रेसीजनले बीपीबाट लिनुपर्ने र बिर्सनुपर्ने प्रेरणा खुट्याउनुपर्छ । आधा दर्जन राजकाज मुद्दासहित क्यान्सर लागेका बीपी अदालतमा नैतिक बलकासाथ उभिएर भन्छन्– ‘म नेपाली कांग्रेसको अध्यक्ष भएकोले नेपाली कांग्रेसले गरेको सबै कामको लागि मेरो नैतिक जवाफदेही छ, चाहे ती कार्यहरु मेरो ज्ञानमा भएका हुन् या नहुन् । मैले मेरो निजी स्थितिलाई ध्यानमा राखी न त कुनै राजनीतिक निर्णय गरेको छु, न त त्यस प्रकारका क्रियाकलापमा नै संलग्न भएको छु । देशको सर्वोच्च हितमा, जनताको सर्वोपरि कल्याणको लागि र प्रजातन्त्रको लागि मैले इमान्दारीसाथ जे गरेको छु, त्यसका प्रति मेरो अन्तष्करण सफा छ । मेरो निर्दोषिता प्रमाणित गर्न मलाई कुनै कानून, न्यायका कुनै अवधारणाभन्दा इतिहासका तथ्यहरु सक्षम छन् ।’

लोकतन्त्र बाँचेको यो सुन्दर क्षणमा यिनै शब्द सापटी लिएर सन्देश प्रवाह गर्न गगनलाई के ले रोक्यो ? हैन भने तिनै लास र दास भनिएकाहरु ब्युँतिएर आफैँलाई चिथोर्न थाले पनि त्यो ऐय्याको सुनुवाई यो धर्तीमा नहुने निश्चित छ । शक्तिशाली भएर क्षमा दिने र गरिब नै सही तर दान दिनेभन्दा ठूलो यो धरामा कोही छैन ।

फलाम तातेको बेला हम्मर हानिएन भने के हुन्छ भन्ने प्रश्नको उत्तर थाहा पाउन रामायणको एउटा सन्दर्भबाट ज्ञान लिनु उचित हुन्छ । रामले मृत्युशैयामा रहेका रावणबाट ज्ञान लिन लक्ष्मणलाई पठाए । उनले दिएका तीन सन्देश थिए– पहिलो शुभकार्य शीघ्रातीशीघ्र सम्पन्न गर्नू, दोस्रो विरोधीलाई कम नआँक्नू , तेस्रो जीवनको कुनै रहस्य छ भने त्यो कसैलाई नबताउनू ।’

चार वेद, ६ शास्त्रका ज्ञाता, उच्च राजनीतिक चेत, रसायनशास्त्री, शिव ताण्डवको रचयिता, शिवभक्त रावण पराजित हुनुको मुख्य कारणमध्ये एक बाँदरको शक्तिलाई कम आँक्नु हो । अहिले पनि बाँदरको आतंक हुँदा नेपालका धेरै गाउँ खण्डहर बनेका छन् ।

रास्वपा असफल हुने कुसाइत कुरेर अबको रणनीति बनाउने होइन कि जताततै सिर्जनाका वृक्ष रोपेर हराभरा बनाऔं । त्यो दिन कार्यकर्ता मञ्च, नेता दर्शकदीर्घामा बसून । त्यसो भएको अवस्थामा यिनै मतदाताले आफूलाई सच्याउने छन् । नबिर्सौं– साइरनवाला गाडी सिंहमाथिको सवार हो । न सधैँ चढ्न सम्भव छ, न उत्रिँदा सुरक्षित हुने ग्यारेन्टी नै ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : २३ बजे

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड