काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर बुधबार छुटेका छन् ।
ज्यान मार्ने उद्योग दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय भुक्तान गरेर बुधबार रिहा भएका हुन् ।
उनी उक्त मुद्दामा दोषी भएसँगै गण्डकी प्रदेशको सांसद पदबाट पनि निलम्बित भएकाा थिए । कात्तिक २०८१ मा जेल गएका उनको २३ फागुनमा २० प्रतिशत सजाय छुट दिनेगरी काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।
मनाङेले २०१८ फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि निवेदन दिएका थिए । त्यही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको थियो ।
मुलुकी ऐन दण्ड सजायको ४१ (क) मा अन्तिम फैसलाको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ । त्यही व्यवस्थाअनुरुप मनाङेले २० प्रतिशत सजाय छुट पाएका थिए । त्यही छुटअनुसार उनी बुधबार छुटेका हुन् ।
जिल्ला अदालतको आदेशसँगै मनाङेको कैद सजायअवधि पनि १ वर्ष घटेको थियो । गत कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे कात्तिक २७ गते सानोभर्याङबाट पक्राउ परेर अहिले डिल्ली बजार जेलमा थिए।
गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य मनाङे प्रदेश सभाको दुई कार्यकालमा ५ वर्ष मन्त्री भएका थिए ।
२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भए । मनाङेले यसअघि नै २ वर्ष ८ महिना जेल सजाय काटिसकेका छन् । उनले पछिल्लो पटक २ वर्ष ४ महिना जेल सजाय काट्नुपर्ने थियो । उनले छुटअनुसार एक वर्ष जेल बसेर छुटेका हुन् ।













प्रतिक्रिया