काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनअन्तर्गत आज प्रि–कन्फरेन्स सेसन सञ्चालन भइरहेको छ भने भोलि विभिन्न तालिम तथा प्यानल छलफल कार्यक्रम तय गरिएको छ।
दक्षिण एसियाली ओबेसिटी फोरमद्वारा आयोजित उक्त सम्मेलनले दक्षिण एसिया तथा विश्वभर बढ्दो मोटोपनाको समस्यालाई केन्द्रमा राख्दै विशेषज्ञ, चिकित्सक र अनुसन्धानकर्तालाई एउटै मञ्चमा ल्याएको हो।
सम्मेलनमा १५० अन्तर्राष्ट्रिय प्रतिनिधि, करिब ३०० राष्ट्रिय सहभागी तथा ४० अन्तर्राष्ट्रिय संकाय सदस्यको सहभागिता रहेको आयोजकले जनाएको छ। फोरमकी अध्यक्ष डा। दिना श्रेष्ठका अनुसार विभिन्न देशका विज्ञहरूले मोटोपनासँग सम्बन्धित मधुमेह, हृदय रोग, फ्याटी लिभर तथा हार्मोनल विकारजस्ता जटिल विषयमा छलफल गर्नेछन्।
कार्यक्रमले मोटोपनालाई जटिल र दीर्घकालीन रोगका रूपमा स्थापित गर्दै यसको रोकथाम, जनचेतना अभिवृद्धि र समग्र उपचार रणनीतिमा जोड दिने लक्ष्य राखेको छ। साथै, मोटोपना व्यवस्थापनका नयाँ उपाय, औषधि, जीवनशैली सुधार, स्वास्थ्य अनुसन्धान तथा दक्षिण एसियाली जनसंख्याका विशेष चुनौतीबारे पनि विस्तृत बहस हुने जनाइएको छ।
दक्षिण एसियाली ओबेसिटी फोरम आठ देशका विज्ञहरूको साझा सञ्जाल हो, जसले ‘मोटोपन विरुद्ध संयुक्त’ अवधारणासहित अनुसन्धान, शिक्षा र जनचेतना अभिवृद्धिमा काम गर्दै आएको छ। सम्मेलनमार्फत क्षेत्रीय सहकार्य, वैज्ञानिक आदानप्रदान र नीतिगत संवादलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया