मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी « Khabarhub

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न सम्भाव्यता अध्ययनका आधारमा धवलागिरि गाउँपालिका–४ मुदीदेखि वडा नम्बर १ गुर्जा हुँदै वडा नम्बर २ स्थित जलजलासम्मको पदमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘यो एकदमै नयाँ अर्थात् ‘भर्जिन रुट’ हुनेछ’, मन्त्री पुनले भने, ‘यस पदमार्गमा पर्यटक लैजान आवश्यक तयारी गर्न पर्यटन व्यवसायी र स्थानीयवासीलाई अनुरोध गर्दछु ।’ उनका अनुसार पदमार्गका अप्ठ्यारा स्थानमा बाटो निर्माण, रेलिङ जडान, विश्रामस्थल तथा झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्नेछ ।

यही असारको पहिलो, दोस्रो र तेस्रो सातामा मन्त्री पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी–गुर्जा–जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि रघुगङ्गा गाउँपालिका–७ सोवाङधुरी हुँदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।

टोलीले तयार पारेको प्रतिवेदनमा जलविद्युत् आयोजना र सडक विस्तारका कारण धौलागिरि चक्रीय पदमार्गको इटाली आधार शिविरसम्मको मार्ग जोखिममा पर्नसक्ने उल्लेख गरिएको छ । त्यसको विकल्पका रूपमा मुदी–गुर्जा–रुघाचौर–जलजला तथा दोवा–सोवाङ–चिमखोला पदमार्ग सडक विस्तारबाट प्रभावित नहुने भएकाले दीर्घकालीन सम्भावना रहेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदन गत साता मन्त्री पुन र पर्यटन मन्त्रालयलाई बुझाइएको थियो ।

धौलागिरि चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३–८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड बजेट विनियोजन गरेको छ । साथै मुदी–गुर्जा–जलजलालगायत पदमार्गको सम्भाव्यता अध्ययनका लागि २१ लाख बजेट छुट्याइएको मन्त्रालयको वार्षिक पुस्तिकामा उल्लेख छ ।

मुदीका स्थानीय विजय घर्तीले नयाँ पदमार्गले सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी–गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनका अनुसार पदमार्ग सञ्चालनले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ ।

सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुन थालेपछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धन गर्न स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समयदेखि माग गर्दै आएका थिए । धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ ।

संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ भने ‘लुकेको गाउँ’का रूपमा परिचित गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । गुर्जादेखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर तथा ढोरपाटन सिकार आरक्षभित्रको जलजलाबाट धौलागिरिलगायत हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले सडक निर्माणको सम्भावना न्यून र बस्तीबाट टाढा रहेकाले धौलागिरि–ढोरपाटन पदमार्ग दीर्घकालीन रूपमा पर्यटकीय आकर्षण बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस पदमार्गले धवलागिरि क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ९ : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको