लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : प्रदीप ज्ञवाली « Khabarhub

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : प्रदीप ज्ञवाली

हस्तक्षेप र प्रभुत्व होइन, सार्वभौम समानता र सहअस्तित्व जरुरी


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने बताएका छन्।

क्युबाको कम्युनिस्ट पार्टीको आयोजनामा हवानामा भएको २४औँ अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शक्ति राष्ट्रको हस्तक्षेप, दबाब र सैन्य प्रभुत्वले विश्व शान्ति तथा अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको धारणा राखे।

बैठकमा ५० देशका कम्युनिस्ट तथा श्रमिक पार्टीका प्रतिनिधि सहभागी थिए। ज्ञवालीले क्युबामाथि लामो समयदेखि जारी नाकाबन्दी र दबाबका बाबजुद क्युबाली जनता, सरकार र कम्युनिस्ट पार्टीले देखाएको दृढताको प्रशंसा गर्दै एमालेको ऐक्यबद्धता व्यक्त गरे।

उनले पछिल्ला दशकमा पश्चिमी प्रभुत्व क्रमशः कमजोर हुँदै गएको र चीन, भारतलगायत उदीयमान शक्तिहरूले विश्व अर्थतन्त्र तथा शक्ति सन्तुलनमा नयाँ भूमिका खेलिरहेको बताए।

ब्रिक्सको बढ्दो आर्थिक प्रभाव, स्थानीय मुद्रामा व्यापार र डलर निर्भरताबारे भइरहेको बहसले नयाँ आर्थिक विश्व व्यवस्थाको संकेत गरेको उनको भनाइ थियो।

प्रविधि र कृत्रिम बुद्धिमत्ताले श्रम, उत्पादन र शक्ति संरचनामा तीव्र परिवर्तन ल्याइरहेको उल्लेख गर्दै ज्ञवालीले पुँजीवाद डिजिटल, वित्तीय र एल्गोरिदममा आधारित हुँदै गए पनि शोषणका स्वरूप भने समाप्त नभएको बताए।

असमानता र गरिबी अन्त्यका लागि समाजवाद अझै सान्दर्भिक रहेको उनको दाबी थियो।

ज्ञवालीले मार्क्सवादलाई स्थिर सिद्धान्त नभई समाज बुझ्ने र परिवर्तन गर्ने जीवित पद्धति का रूपमा व्याख्या गर्दै प्रत्येक देशले आफ्नो इतिहास, संस्कृति र परिस्थितिअनुसार समाजवादको आफ्नै बाटो खोज्नुपर्ने बताए।

नेपालको राजनीतिक अवस्थाबारे आलोचना

ज्ञवालीले नेपालमा हालै भएको राजनीतिक अस्थिरताको प्रसंग पनि बैठकमा उठाए। उनले सुरुमा जेन-जी आन्दोलनका रूपमा अघि बढेको आन्दोलन हिंसा र विध्वंसमा परिणत भएको दाबी गर्दै सार्वजनिक संस्था तथा ऐतिहासिक सम्पदामाथि आक्रमण, लोकतान्त्रिक संरचनामा क्षति, निर्वाचित सरकारको पतन र संसद् विघटन भएको बताए।

उनले शान्तिपूर्ण विरोध र असहमतिलाई लोकतन्त्रले संरक्षण गर्ने भए पनि लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न नसकिने धारणा राखे।

यसका साथै, बाह्य शक्तिहरूले आन्तरिक असन्तुष्टिलाई राजनीतिक अस्थिरताका लागि प्रयोग गर्न खोजेको आफूहरूको गम्भीर चिन्ता रहेको बताए।

एमालेले लोकतन्त्र नछाडेको उल्लेख गर्दै ज्ञवालीले निर्वाचनमा प्रतिस्पर्धा गर्ने र जनताको निर्णय स्वीकार गर्ने बाटो रोजेको बताए।

‘जबज नेपाली सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग’

ज्ञवालीले एमाले मार्क्सवाद र जनताको बहुदलीय जनवादबाट निर्देशित रहेको बताए। जनताको बहुदलीय जनवादले लोकतन्त्र र सामाजिक न्यायबीच विरोधाभास नरहेको स्थापित गरेको उनको दाबी थियो।

उनले एमालेको राजनीतिक लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको उल्लेख गर्दै विकास जनताको हितमा केन्द्रित, राज्य कमजोर वर्गको संरक्षणकर्ता र सबै नागरिकका लागि समान अवसर तथा सम्मान सुनिश्चित गर्ने प्रणाली निर्माणमा पार्टी प्रतिबद्ध रहेको बताए।

विदेश नीतिमा नेपालले सार्वभौम समानता, भौगोलिक अखण्डता, अहस्तक्षेप, पारस्परिक सम्मान र पारस्परिक लाभका सिद्धान्तलाई प्राथमिकता दिने ज्ञवालीले बताए।

उनले विश्वलाई भय, प्रभुत्व र असमानतामा आधारित बनाउने कि शान्ति, न्याय र मानव मर्यादामा आधारित बनाउने भन्ने प्रश्न रहेको भन्दै कम्युनिस्ट तथा श्रमिक पार्टीबीचको एकता अझै बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : १९ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर