वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ । उनीहरूले दुई पटक प्रयास गरेका थिए, तर मैले पहिल्यै मारिदिएँ ।”
गत फेब्रुअरीमा अमेरिकाले इरानविरुद्ध सैन्य अभियान सुरु गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘एबीसी न्युज’का संवाददाता जोनाथन कार्लसँग टेलिफोनमा व्यक्त गरेको भनाइ हो यो ।
अमेरिकी स्वीकृति र समन्वयमा इजरायलले गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी र अन्य शीर्ष नेता मारिएका थिए । उक्त आक्रमणलाई ट्रम्पले विगतका वर्षमा आफूविरुद्ध इरानले बनाएको हत्याको षड्यन्त्र र धम्कीको सीधा जवाफका रूपमा व्याख्या गरेका थिए ।
युद्ध सुरु भएको छ महिना बितिसक्दा ट्रम्पले यस्ता अभिव्यक्ति दोहोर्याएका छैनन् । तर उनका रक्षा मन्त्री पिट हेगसेथले यही धारणा दोहोर्याएका छन् । “इरानले राष्ट्रपति ट्रम्पको हत्या गर्ने प्रयास गरेको थियो, तर अन्तिम जित ट्रम्पकै भयो,” गत मार्चमा हेगसेथले भनेका थिए । उनका अनुसार ट्रम्पको हत्या प्रयास गर्ने एक इरानी टोलीका प्रमुख अमेरिकी सैन्य कारबाहीमा मारिएका छन् ।
यी अभिव्यक्तिले इरानसँगको युद्धमा ट्रम्पको व्यक्तिगत स्वार्थ र बदलाको भाव जोडिएको स्पष्ट संकेत गर्छन् । साथै, इरानबाट आफ्नो सुरक्षामा अझै पनि ठूलो जोखिम रहेको ट्रम्प र उनको सुरक्षा टोलीको आकलनलाई यसले पुष्टि गर्छ ।
सुरक्षा जोखिमकै कारण हालै एक नाटकीय घटना सार्वजनिक भएको छ । गत महिना टर्कीमा सम्पन्न नाटो शिखर सम्मेलनबाट फर्कने क्रममा ट्रम्पले गोप्य रूपमा आफ्नो विमान परिवर्तन गरेका थिए । राष्ट्रपति यात्रा गर्ने मुख्य विमान ‘एयर फोर्स वान’ लाई भने अन्य सञ्चारकर्मी र ह्वाइट हाउसका कर्मचारी मात्र राखेर ‘भ्रम’ को रूपमा उडाइएको थियो ।

अमेरिकी अधिकारीका अनुसार ‘एयर फोर्स वान’ माथि इरानले क्षेप्यास्त्र प्रहार गर्न सक्ने भरपर्दो गुप्तचर सूचनाका आधारमा यो रणनीति अपनाइएको थियो । राष्ट्रपति ट्रम्पलाई खानपिनका सामान ओसार्ने क्याटरिङ ट्रकभित्र राखेर गोप्य रूपमा अर्को विमानमा पुर्याइएको थियो ।
ह्वाइट हाउसले यस सुरक्षा खतराका विषयमा धेरै विवरण सार्वजनिक गरेको छैन । यद्यपि युद्धग्रस्त वा जोखिमयुक्त क्षेत्रको भ्रमण गर्दा अमेरिकी राष्ट्रपतिहरूको सुरक्षाका लागि यस्ता उपाय अपनाउनु असामान्य नभएको सुरक्षा विज्ञ बताउँछन् । यसअघिका अमेरिकी राष्ट्रपतिहरूले पनि अफगानिस्तान, इराक वा युक्रेनको भ्रमण गर्दा यस्तै गोपनीयता अपनाउने गरेका थिए ।
आफूलाई सधैँ शक्तिशाली देखाउन चाहने र इरानी सेना पूर्ण रूपमा परास्त भइसकेको दाबी गर्ने ट्रम्पका लागि क्याटरिङ ट्रकमा लुकेर विमान सर्नुपरेको घटना राजनीतिक रूपमा उति सुखद भने मानिएको छैन । अङ्कारामा अमेरिकी सिक्रेट सर्भिसले चलाएको यो गोप्य अपरेसन सार्वजनिक हुन एक महिनाभन्दा बढी समय लागेको थियो ।
यस घटनाले रणमैदानमा इरानलाई परास्त गरिसकेको दाबी गरिए पनि अमेरिकी हित र स्वयं राष्ट्रपतिको सुरक्षामा इरानी जोखिम अझै कायमै रहेको देखाउँछ ।












प्रतिक्रिया