काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले फागुन २१ को निर्वाचनबाट पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके फेरि ‘भदौ २३’ जस्तो परिस्थिति आउन सक्ने संकेत गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले मंगलबार काठमाडौंस्थित पर्यटन बोर्डको हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्व र राजनीतिक सहभागितामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन आफूहरूले परिणाम देखाउनुपर्ने बताए।
पूर्वगृहमन्त्रीसमेत रहेका उनले गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई स्मरण गर्दै राजनीतिक परिस्थिति रातारात बदलिन सक्ने चेतावनी पनि दिएका छन् । भदौ २३ र २४ को आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार नराम्रोसँग पल्टिएको थियो। त्यसबेला नेताहरू हेलिकप्टरमा भाग्नुपरेको थियो भने राष्ट्रियस्तरमा इतिहासकै ठूलो विध्वंश मच्चाइएको थियो ।
त्यसकै बलामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ नजिकको शक्तिसहित सरकारमा छ । अहिले रविकै जोडबलमा गत पुस १३ गते रास्वपामा प्रवेश गरेका वालेन्द्र शाह प्रधानमन्त्री छन् । तर वालेन्द्र नेतृत्वको सरकारले परिणाम दिन नसकेको आरोप लागिरहेका बेला रविले अर्को भदौ २३ आउन सक्ने चेतावनी दिएका हुन् ।
‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार पनि दुईतिहाइको थियो। शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र उनीहरूलाई ? २३ आइपुग्यो नि ओभरनाइट,’ उनले भने, ‘हामीले गलत भाष्यलाई हाम्रो कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै त्यस्तै डिलमा जान्छ, फेरि भदौ २३ आउन सक्छ।’
रास्वपाले अहिले पाएको राजनीतिक जिम्मेवारी पूरा गर्न नसके केही वर्षमै ‘युवाबाट राजनीति सम्भव हुँदैन’ भन्ने भाष्य निर्माण हुन सक्ने चेतावनी पनि लामिछानेले दिएका छन्।
‘यदि कुनै पनि कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने तुरुन्तै सम्भवत केही वर्षभित्रै एउटा भाष्य बन्ने छ कि युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेहरूबाट राजनीति सम्भव नहुने रहेछ,’ उनले थपे।
त्यस्तो भाष्य बने त्यसको सबैभन्दा ठूलो सिकार अहिले परिवर्तनका लागि अघि आएका युवाहरू नै हुने उनले बताएका छन्। त्यहीकारण वालेन्द्र नेतृत्वको सरकारले परिणाममुखी काम गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए।
लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई व्यक्तिगत प्रतिष्ठा, प्रशंसा वा जयजयकारका रूपमा मात्रै बुझ्न नहुने बताए। युवा सांसद तथा मन्त्रीहरूले पदमा रमाउनेभन्दा आफ्नो जिम्मेवारीको गम्भीरता बुझेर काम गर्नुपर्ने उनले बताए। ‘यो रमाउने बेला होइन, जिम्मेवार भएर सोच्ने बेला हो,’ उनले भने।
युवाको नेतृत्व राजनीतिमा आएकोमा सफलताको गीत गाएर मात्र नहुने भन्दै उनले त्यसलाई परिणाममा बदल्नुपर्ने बताए। अहिलेको पुस्ता असफल भए भविष्यका युवाले आफूहरूले जस्तो राजनीतिक अवसर र जनताको विश्वास नपाउने उनको भनाइ छ।
‘यसपटक छुटियो भने, बिग्रियो भने, गलत भयो भने वा हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताका युवाले हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन्,’ लामिछानेले अगाडि भने।
उनले अनुभव र उमेरलाई मात्रै राजनीतिक नेतृत्वको आधार मान्ने भाष्य स्थापित भए त्यो भविष्यका लागि घातक हुने बताए। युवाले पाएको अवसरलाई सही ढंगले प्रयोग गरेर राजनीतिको नयाँ सम्भावना प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।
रास्वपाका नेता तथा कार्यकर्तालाई समेत अहिले प्राप्त प्रतिष्ठा र प्रशंसामै रमाउने अवस्था नरहेको लामिछानेले बताए। ‘हामी एकदमै तगडा भयौँ भन्ने अहिले हामीले सोच्ने बेला भएको छैन। हामी फ्रेस मात्र हौँ। तगडा हुन हामी बाँकी छ,’ उनले भने।
इतिहासको यो जिम्मेवारीबाट भाग्न नचाहने हो भने इमानदार र सुझबुझपूर्ण ढंगले काम गर्नुपर्ने उनले बताए। अहिलेको परिवर्तन सम्भव बनाउने युवाहरू नै आफ्नो जिम्मेवारीमा चुक्दा त्यसको सबैभन्दा ठूलो असर उनीहरूमाथि नै पर्ने उनको भनाइ थियो।












प्रतिक्रिया