काठमाडौं- अमेरिकाको क्यालिफोर्नियास्थित चिनो काउन्टीमा उइग्युर समुदायका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । गत जुलाई २९ तारिखको राति १०:१५ बजेतिर आफ्नै निवासबाहिर ६० वर्षीय शुकुर ऐकबैरको झेङफेङ बो र जियानक्वान बो नामक दुई व्यक्तिले अपहरण गरी हत्या गरेको विवरण बाहिर आएको छ। यस घटनाले विश्वभरका उइग्युर समुदायमा ठूलो त्रास र हलचल पैदा गरेको छ।
घटनास्थलमा प्रहरीको कारबाहीका क्रममा अपहरणमा संलग्न झेङफेङ बो मारिएका छन् भने अर्का शंकास्पद व्यक्ति जियानक्वान बोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानकर्ताहरूले घटनाको यकिन उद्देश्य हालसम्म खुलाएका छैनन्। यद्यपि, यो घटनाले यसअघि उज्बेकिस्तानमा भएको यस्तै प्रकृतिको अर्को घटनाको झल्को दिएको छ । सन् २०२४ को जुलाईमा तास्केन्टस्थित अपार्टमेन्टमा उइग्युर इतिहासकार आब्लेहेत काहारको पनि हत्या गरिएको थियो, जसबारेको अनुसन्धानलाई ओझेलमा पारिएको थियो र उनको निवासमा रहेका उइग्युर ऐतिहासिक संग्रहहरू पनि गायब पारिएका थिए।
यी दुवै घटनाले सिन्जियाङ (पूर्वी तुर्केस्तान) बाट भौगोलिक रूपमा टाढा रहे पनि उइग्युर समुदायका नागरिकहरूको सुरक्षा सुनिश्चित नभएको यथार्थलाई उजागर गरेका छन्। विगत एक दशकयता चीनले आफ्ना सीमा बाहिर रहेका उइग्युरहरूको आवाज दबाउन निगरानी, धम्की, परिवारलाई प्रताडित गर्ने र देश निकाला गर्ने प्रयासहरू तीब्र पारिरहेको छ। यस्ता गतिविधिहरूलाई सरकारहरूले आफ्नो भौगोलिक क्षेत्राधिकार बाहिर रहेका व्यक्तिहरूमाथि निगरानी र दबाब सिर्जना गर्ने अन्तरदेशीय दमनका रूपमा लिने गरिएको छ।
विश्लेषकहरूका अनुसार बेइजिङको प्रत्यक्ष कारबाही मात्र नभई चीनको बढ्दो राजनीतिक र आर्थिक प्रभावका कारण साझेदार सरकारहरूको माध्यमबाट समेत यस्तो दमन शैली फैलिरहेको छ, जसलाई प्रोक्सीमार्फत हुने अन्तरदेशीय दमन भन्न सकिन्छ। मध्य एसियाली देशहरूमा पनि यसको गहिरो प्रभाव पर्न थालेको छ, जसले गर्दा विदेशमा रहेका उइग्युरहरूको संस्कृति, भाषा र पहिचान संकटमा पर्दै गएको छ।












प्रतिक्रिया