काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको अकस्मात् घोषणा गरेका छन् । ट्रम्पले दुवै पक्ष यसमा सहमत भएको दाबी गरे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफू अझै सम्झौताको विस्तृत विवरणको पर्खाइमा रहेको बताएका छन् । यस घोषणाप्रति रुसको मस्कोबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसलुमा पोस्ट गर्दै दुवै देशबिच ऊर्जा युद्धविराम भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘तत्काल लागू’ हुने गरी रुस र युक्रेनबिचको युद्धमा ऊर्जा युद्धविराम भएको छ । दुवै पक्ष सहमत भएका छन् । यसलाई उल्लङ्घन नगर्नू ।’
यद्यपि, उनले यसको थप स्पष्ट विवरण भने सार्वजनिक गरेका छैनन् । यसअघि ट्रम्पले सेप्टेम्बरको मध्यतिर पनि ऊर्जा युद्धविरामको घोषणा गरेका थिए, तर त्यतिबेला कुनै पनि पक्षले त्यस्तो सहमति भएको पुष्टि गरेका थिएनन्।
आउँदो महिना अमेरिकामा हुने मध्यकालीन निर्वाचन अघि डिजेलको मूल्यवृद्धिले रिपब्लिकन पार्टीलाई असर पारिरहेको भन्दै ट्रम्पले युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण नगर्न तीव्र दबाब दिँदै आएका छन् ।
युक्रेनलाई रुसी ऊर्जा स्थलहरूमा आक्रमण रोक्न बाध्य पार्नका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको गुप्तचर सूचना आदानप्रदान र ‘पर्ल’ प्रणालीअन्तर्गतका हतियार खरिद रोक्ने धम्की दिएको यस घटनाक्रमसँग परिचित एक व्यक्तिले जानकारी दिएका छन् । यसबिच जेलेन्स्कीले परिस्थिति साम्य पार्न युरोपेली नेताहरूसँग छलफल गरिरहेका छन् ।
शनिबार ट्रम्पले जेलेन्स्कीलाई रुसी रिफाइनरीहरूमा आक्रमण रोक्न कडा चेतावनी दिँदै युक्रेनी जनतालाई नयाँ निर्वाचनमार्फत नयाँ नेता चुन्न आग्रह गरेका थिए । जेलेन्स्कीले मस्कोसँग सम्झौता गर्ने कयौँ अवसरहरू गुमाएको ट्रम्पको दाबी थियो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी घोषणाबारे नेटो महासचिव मार्क रुटे, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबसँग छलफल गरेका छन् । जेलेन्स्कीले युक्रेन युद्धविरामको पक्षमा रहेको र रुसले पनि यसलाई समर्थन गर्नु महत्त्वपूर्ण रहेको बताउँदै अमेरिकी पक्षबाट विस्तृत विवरण आउन बाँकी रहेको उल्लेख गरेका छन् ।
ट्रम्पले युक्रेनमा नयाँ चुनाव गराउन गरेको मागको जवाफ दिँदै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६० दिनको पूर्ण युद्धविराममा सहमत भए आफू चुनाव गराउन तयार रहेको बताएका छन् ।
‘कृपया पुटिनलाई भन्नुहोस्, हामीलाई दुई महिना अर्थात् ६० दिनको पूर्ण युद्धविराम दिनुहोस्, र हामी चुनाव आयोजना गर्नेछौँ’, जेलेन्स्कीले भने ।
उनले नेता चुन्ने अधिकार युक्रेनी जनताको भएको तर त्यसका लागि पहिले युद्ध रोकिनुपर्ने स्पष्ट पारे । युक्रेनी कानुनअनुसार सैन्य शासन लागू भएको समयमा चुनाव गराउन प्रतिबन्ध छ।
ट्रम्पले युद्धविरामको घोषणा गरे तापनि रुसी सेनाले युक्रेनका ऊर्जा पूर्वाधारहरूमा हवाई आक्रमण जारी राखेको जेलेन्स्कीले बताएका छन् । युक्रेनको दोस्रो ठुलो सहर खार्किभस्थित संयुक्त ताप तथा विद्युत केन्द्रमा ट्रम्पको घोषणापछि पनि रुसले आक्रमण गरेको पुष्टि भएको छ।
यसअघि जेलेन्स्कीले पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोके मात्र आफूले रुसी रिफाइनरीमा आक्रमण रोक्ने स्पष्ट पार्दै एकतर्फी रूपमा आक्रमण रोक्न अमेरिकाले दिएको दबाबलाई अस्वीकार गरेका थिए ।
त्यस्तै, आइतबार खार्किभमा एक किराना पसल बाहिर भएको रुसी आक्रमणमा ३ जना र पश्चिमी सहर इभानो-फ्रान्किभस्कमा ३ जना गरी ६ जनाको मृत्यु भएको छ । युक्रेनको छिमेकी देश मोल्दोभाले पनि आफ्नो राजधानी चिसिनाउबाट करिब ३५ किलोमिटर (२२ माइल) टाढा रुसी ड्रोन खसेको जनाएको छ ।
ट्रम्पले हालै रुससँग ३ लाख मेट्रिक टनभन्दा बढी ९करिब २२ लाख ५० हजार ब्यारेल० डिजेल अमेरिकी तथा विश्व बजारमा आपूर्ति गर्ने सम्झौताको घोषणा गरेका थिए । जेलेन्स्कीले यस सम्झौताले मस्कोलाई थप प्रोत्साहन मिल्ने र धेरै युक्रेनीको ज्यान जाने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अमेरिकी सिनेटर थम टिलिस लगायतका जनप्रतिनिधिहरूले पनि रुससँगको डिजेल सम्झौता गैरकानुनी हुन सक्ने र अमेरिकी नागरिकको जीवन जोखिममा पार्ने भन्दै आलोचना गरेका छन्। यता किभका सर्वसाधारणले पनि ट्रम्पको अभिव्यक्तिलाई साझेदार राष्ट्रहरूको ‘विश्वासघात’ को रूपमा टिप्पणी गरेका छन् ।














प्रतिक्रिया