काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर अघि बढ्ने बताएकी छन् ।
महामन्त्रीमा निर्वाचित भएपछि उनले छरिएको कांग्रेसलाई एक बनाएर अघि बढाउने विश्वास दिलाइन् ।
‘महिला सहभागिता बढाउनु,स्थानीय तहको निर्वाचन फेस गर्नु । तल्लो तहमा देखिएको कार्यकर्ताप्रतिको वितृष्णालाई चिर्नु र छरिएको कांग्रेसलाई एक बनाएर अगाडि जानु हाम्रो प्रमुख काम रहन्छ।’ महामन्त्री संग्रौलाले भनिन, ‘हामीमाथि निकै ठूलो जिम्मेवारी आएको छ । जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नु र स्थानीय तहको निर्वाचनमा जति सक्दो खटेर जनताको मनोभावना बुझ्नु नै हाम्रो प्रमुख दायित्व हो ।’
संग्रौला नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पहिलोपटक निर्वाचित महिला महामन्त्री बनेकी हुन् । यस अगाडि कांग्रेसको विधानमा महिला महामन्त्री बन्ने बाध्यकारी व्यवस्था थिएन । यसपटक विधान संशोधन भएर महिला महामन्त्री बनाउने बाध्यकारी व्यवस्था अटाइएको हो ।
महिला महामन्त्रीमा मुख्यतया महालक्ष्मी उपाध्याय डिना र संग्रौला बीच प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसमा यस अगाडि नै महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन् ।














प्रतिक्रिया