एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न आग्रह गरेको छ ।
अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) ले आफ्नो आधिकारिक यात्रा परामर्श सेवा ‘स्मार्टट्राभलर’ मार्फत सूचना जारी गर्दै साउदी अरबको सुरक्षा अवस्था र क्षेत्रीय परिस्थितिलाई ध्यानमा राखेर यात्रा योजनाबारे पुनर्विचार गर्न नागरिकलाई आग्रह गरेको हो ।
विभागका अनुसार हालैका सुरक्षा घटनाले विमानस्थलको सञ्चालन प्रभावित हुन सक्ने तथा क्षेत्रीय सैन्य द्वन्द्वका कारण हवाई क्षेत्र बन्द हुने, उडान रद्द हुने र आवागमनमा प्रतिबन्ध लाग्ने जोखिम छ । यस्तो अवस्थाले यात्रुहरूको आवागमन र सुरक्षामा चुनौती थप्न सक्ने विभागले जनाएको छ ।
विमानस्थल हुँदै यात्रा गर्ने निर्णय गरेका नागरिकलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित विमान कम्पनी वा यात्रा व्यवस्थापकसँग पुष्टि गर्न र विमानस्थलमा अनावश्यक रूपमा लामो समय नबस्न पनि सुझाव दिइएको छ ।
डीएफएटीले नागरिकलाई सुरक्षा घटनाक्रमबारे नियमित जानकारी लिन, स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न र आफ्नो सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ । सम्भावित आक्रमणको जोखिमलाई ध्यानमा राख्दै सैन्य अखडा तथा ऊर्जा पूर्वाधारबाट टाढा रहन र आक्रमण भएमा सुरक्षित बन्द स्थानमा आश्रय लिनसमेत विभागले सुझाव दिएको छ ।
यसैबीच, अस्ट्रेलियाले साउदी अरबका दक्षिणी प्रान्त असिर, जिजान र नजरानमा यात्रा नगर्न दिएको चेतावनीलाई निरन्तरता दिएको छ । यमनसँगको सीमाबाट ३० किलोमिटरभित्र पर्ने क्षेत्रमा पनि यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरिएको छ ।
क्षेत्रीय सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय हवाई सेवा र यात्रुहरूको सुरक्षामा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्ट्रेलियाले आफ्नो यात्रा परामर्श अद्यावधिक गरेको हो ।














प्रतिक्रिया