रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी « Khabarhub

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ऊर्जा युद्धविराम रुसले पालना नगरे युक्रेनले जबाफी कदम चाल्ने चेतावनी दिएका छन् ।

सोमबार भिडियोमार्फत वार्ता सुरक्षा मञ्चलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति नगरे युक्रेनले पनि आफ्नो प्रतिकार जारी राख्ने बताएका हुन् ।

‘यदि रुस ऊर्जा युद्धविराममा सहमत भएन भने हामी जवाफ दिनेछौँ,’ उनले भने ।

ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयमा युद्धविरामको घोषणा गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । उनको घोषणाले युक्रेनलाई आश्चर्यमा पारेको छ भने रुसले औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, युक्रेनका पश्चिमी सहयोगीहरूले उक्त पहललाई समर्थन गरेका छन् ।

जेलेन्स्कीले अमेरिकी र रुसी अधिकारीबीच भइरहेको वार्ताको विवरण पर्खिरहेको उल्लेख गर्दै अमेरिकाले युद्धविराम कार्यान्वयनका लागि कस्ता ठोस कदम चाल्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुने बताए ।

ट्रम्पको ऊर्जा युद्धविरामसम्बन्धी घोषणा रुसी डिजेलमाथि लगाइएका अमेरिकी प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने निर्णयको दुई दिनपछि आएको हो । उक्त निर्णयप्रति युरोपेली सहयोगी र युक्रेनले असन्तुष्टि जनाएका थिए । उनीहरूका अनुसार यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप बल पुर्‍याउन सक्छ ।

जेलेन्स्कीले रुसले युक्रेनका तेल प्रशोधन केन्द्र र तेल निर्यातका पूर्वाधारमा हुने लामो दूरीका आक्रमण रोक्न चाहेको अवस्थामा युक्रेनी ऊर्जा प्रणाली तथा महत्त्वपूर्ण पूर्वाधारमा पनि आक्रमण बन्द गर्नुपर्ने बताए ।

‘यदि रुस हामीले उसका तेल प्रशोधन केन्द्र र तेल निर्यातमाथि गर्ने लामो दूरीका आक्रमण रोकौँ भन्ने चाहन्छ भने उसले पनि हाम्रो ऊर्जा प्रणाली र महत्त्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्न तथा हाम्रा नागरिकको हत्या गर्न बन्द गर्नुपर्छ,’ उनले भने ।

ट्रम्पले यसअघि पनि युक्रेन वा रुसले औपचारिक पुष्टि गर्नुअघि नै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत युद्धविराम तथा सम्भावित सहमतिबारे घोषणा गर्दै आएका छन् ।

जेलेन्स्कीले तनाव कम गर्न र सुरक्षाको प्रत्याभूति गर्न ऊर्जा युद्धविरामलगायत ठोस कदम आवश्यक रहेकोमा जोड दिए । ‘तनाव कम गर्न र सुरक्षाको प्रत्याभूति गर्न ऊर्जा युद्धविराम तथा अन्य कदम वास्तवमै आवश्यक छन्, ती ‘ट्रुथ सोसल’मा मात्र सीमित हुनुहुँदैन,’ उनले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ६ : २६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक २८ गते शनिबार । सन्

आज २०८३ साल कात्तिक २८ गते शनिबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २८ गते शनिबार सन् २०२६

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन