सञ्जालमा कमाइ खाने भाँडो बन्दै अशक्त, बिरामी र वृद्धवृद्धा « Khabarhub

सञ्जालमा कमाइ खाने भाँडो बन्दै अशक्त, बिरामी र वृद्धवृद्धा

मानवीय संवेदनालाई दाउमा राखेर सामाजिक सञ्जालमा बढ्दै छ भाइरल बन्ने होड



सामाजिक सञ्जालमा भाइरल हुन के गर्नुपर्छ ? रमाइलो भिडियो बनाउने, अनौठो गतिविधि देखाउने, अरूभन्दा फरक सामग्री प्रस्तुत गर्ने वा कुनै चर्चित विषय समात्ने। तर पछिल्लो समय सामाजिक सञ्जालमा देखिने केही भिडियो हेर्दा भने भाइरल हुन अब यतिले मात्र पुग्दैन भन्ने भान हुन्छ। किनकि भ्युज, लाइक र फलोअर्सको दौडमा कतिपयले अरूको दुःख, पीडा र असहाय अवस्थालाई नै सामग्री बनाउन थालेका छन्।

विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा बिरामी, अशक्त, मानसिक तथा शारीरिक रूपमा अस्वस्थ र वृद्धवृद्धालाई केन्द्रमा राखेर बनाइएका भिडियोहरू बाक्लै देखिन थालेका छन्।

कसैको असामान्य व्यवहारलाई मनोरञ्जनको विषय बनाइएको छ भने कसैको शारीरिक अवस्था, विवशता र दयनीय परिस्थितिलाई भिडियोमा उतारेर सार्वजनिक गर्ने गरिएको छ। कतिपयले सहयोग जुटाउने उद्देश्य देखाउँदै यस्ता सामग्री बनाउँछन् त कतिपयका लागि यस्ता व्यक्ति नै भ्युज कमाउने माध्यम बनिरहेका छन्।

भिडियोको सुरुवातमा भावुक बनाउने दृश्य राखिन्छ। त्यसपछि सम्बन्धित व्यक्तिको अवस्था, उसको पीडा र जीवनका कठिनाइलाई देखाइन्छ। कतिपय भिडियोमा भावुक सङ्गीत थपेर दर्शकको सहानुभूति बटुल्ने प्रयास गरिन्छ।

भिडियोसँगै सहयोगको अपिल पनि जोडिन्छ। यस्ता सामग्री हेरेपछि कतिपय दर्शक भावुक हुन्छन्, कमेन्टमा दुःख व्यक्त गर्छन् र सहयोग गर्न आग्रह गर्छन्। केही भिडियोले साँच्चिकै सहयोग जुटाउन पनि सक्छन्।

तर प्रश्न यहाँनेर उठ्छ, कसैलाई सहयोग गर्ने नाममा उसको दुःखलाई सार्वजनिक प्रदर्शन गर्नु कति उचित हो ?

सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै सामग्री निर्माताहरूबीच धेरैभन्दा धेरै दर्शकसम्म पुग्ने प्रतिस्पर्धा छ। टिकटकमा कुनै भिडियोले धेरै भ्युज पाएपछि त्यसले अन्य प्रयोगकर्तालाई पनि त्यस्तै सामग्री बनाउन प्रेरित गर्न सक्छ। फलस्वरूप, केहीले फरक र आकर्षक सामग्री खोज्ने क्रममा मानवीय संवेदनासँग जोडिएका विषयलाई समेत भ्युज बटुल्ने उपाय बनाउन थालेका छन्।

अझ संवेदनशील कुरा त के छ भने, भिडियोमा देखाइएका सबै व्यक्तिले आफ्नो अवस्था सामाजिक सञ्जालमा सार्वजनिक गर्दा के असर पर्छ भन्ने बुझ्न वा त्यसबारे निर्णय गर्न सक्ने अवस्था नहुन सक्छ। विशेषगरी गम्भीर रूपमा बिरामी, मानसिक रूपमा अस्वस्थ, अशक्त वा अरूको हेरचाहमा निर्भर वृद्धवृद्धाको हकमा उनीहरूको सहमति र गोपनीयता झनै महत्त्वपूर्ण हुन्छ। कसैको अनुमति नलिई उसको असहज अवस्था, व्यक्तिगत पीडा वा स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्नुले उसको आत्मसम्मानमा चोट पुर्‍याउन सक्छ।

कसैको अनुमति नलिई उसको असहज अवस्था, व्यक्तिगत पीडा वा स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्नुले उसको आत्मसम्मानमा चोट पुर्‍याउन सक्छ।

कतिपय अवस्थामा भिडियो बनाउने व्यक्तिको उद्देश्य सहयोग गर्नु नै हुन सक्छ। सडकमा अलपत्र परेका, उपचारको अभावमा छटपटाइरहेका वा परिवारको सहारा नपाएका व्यक्तिको अवस्था सार्वजनिक गर्दा उनीहरूले सहयोग पाउन सक्छन्। यस्ता कामले समाजमा सहयोग र मानवीयताको भावना पनि जगाउन सक्छ। तर सहयोगको उद्देश्य देखाउँदैमा सबै प्रकारका दृश्य सार्वजनिक गर्न उचित हुन्छ भन्ने होइन।

कसैको उपचारका लागि आर्थिक सहयोग जुटाउन सकिन्छ, तर त्यसका लागि उसको पीडालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नैपर्छ भन्ने छैन। सहयोगको अपिल गर्दा आवश्यक जानकारी दिन सकिन्छ, तर व्यक्तिको गरिमा र गोपनीयता कायम राख्न पनि उत्तिकै आवश्यक छ। सहयोग पाउने व्यक्तिलाई कस्तो महसुस हुन्छ भन्ने पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ।

यसमा भिडियो बनाउनेहरूको मात्र होइन, हेर्ने दर्शकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। सामाजिक सञ्जालमा कुन सामग्रीलाई धेरै भ्युज, लाइक र सेयर मिल्छ भन्ने कुरा दर्शकको प्रतिक्रियाले पनि निर्धारण गर्छ।

कसैको पीडा देखाइएको भिडियोमा मनोरञ्जनका लागि हाँसोका प्रतिक्रिया दिने, असहज अवस्थालाई मजाक बनाउने वा त्यस्ता सामग्रीलाई थप फैलाउने प्रवृत्तिले समस्या झन् बढाउन सक्छ। त्यसैले दर्शकले पनि कुनै भिडियो सेयर गर्नुअघि त्यसले सम्बन्धित व्यक्तिको सम्मानमा चोट पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने सोच्नु आवश्यक छ।

दर्शकले पनि कुनै भिडियो सेयर गर्नुअघि त्यसले सम्बन्धित व्यक्तिको सम्मानमा चोट पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने सोच्नु आवश्यक छ।

अर्कोतर्फ, टिकटकजस्ता प्लेटफर्ममा सामग्री सार्वजनिक गर्ने व्यक्तिले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ। सबै कुरा भिडियो बनाउन मिल्ने विषय हुँदैनन्। हरेक दृश्यलाई कन्टेन्ट बनाउनुपर्छ भन्ने पनि छैन। विशेषगरी अरूको स्वास्थ्य, असहाय अवस्था र व्यक्तिगत जीवनसँग जोडिएका विषयमा थप संवेदनशील हुन आवश्यक छ।

सामाजिक सञ्जाल सूचना, मनोरञ्जन र सहयोग आदानप्रदान गर्ने प्रभावकारी माध्यम हो। यसले आवाजविहीनहरूको आवाज बन्न सक्छ, समस्यामा परेकालाई सहयोग जुटाउन सक्छ र समाजका बेवास्ता गरिएका विषयलाई सार्वजनिक बहसमा ल्याउन सक्छ। तर यही माध्यम कसैको विवशता र पीडालाई चर्चाको विषय बनाउने साधन बन्न थाल्यो भने त्यसको सकारात्मक उद्देश्य नै कमजोर हुन सक्छ।

भाइरल हुनु सफलता हुन सक्छ, तर त्यसका लागि अरूको आत्मसम्मान दाउमा लगाउनु कस्तो सफलता हो ? भ्युज र लाइक केही समयका लागि मात्र रहन्छन्, तर सार्वजनिक भएको व्यक्तिगत पीडा सम्बन्धित व्यक्तिका लागि लामो समयसम्म अपमान र पीडाको कारण बन्न सक्छ।

किनकि कसैको दुःख हाम्रो कन्टेन्ट हुन सक्छ, तर त्यो व्यक्तिका लागि जीवनको सबैभन्दा कठिन यथार्थ हो। भ्युजको दौडमा यही मानवीय पक्ष बिर्सनु हुँदैन।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ५ : ५० बजे

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

अन्ताल्या– जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै

सञ्जालमा कमाइ खाने भाँडो बन्दै अशक्त, बिरामी र वृद्धवृद्धा

सामाजिक सञ्जालमा भाइरल हुन के गर्नुपर्छ ? रमाइलो भिडियो बनाउने,

आज २०८३ साल कात्तिक २६ गते बिहीबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २६ गते बिहीबार सन् २०२६

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

तनहुँ – पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

सुनसरी – इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा