तनहुँको भिमादमा खानेपानी र सिँचाइका योजना सम्पन्न « Khabarhub

तनहुँको भिमादमा खानेपानी र सिँचाइका योजना सम्पन्न


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ ।

नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी विस्तार, सिँचाइ संरचना निर्माण तथा सार्वजनिक सुविधाका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आधारभूत सेवाको पहुँच विस्तार गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेलका अनुसार गत एक वर्षमा एक हजार ७८८ दशमलव ५ मिटर सडक कालोपत्र तथा ढलान गरिएको छ । यससँगै नगरपालिकाभित्र हालसम्म कालोपत्र तथा ढलान गरिएको सडकको कुल लम्बाइ २१ हजार २० दशमलव ५ मिटर पुगेको छ ।

यस अवधिमा तीन हजार ४१९ मिटर सडक ग्राभेल गरिएको छ । नगरपालिकाभित्र हालसम्म ग्राभेल गरिएको सडकको लम्बाइ १९ हजार ५९९ मिटर पुगेको छ । त्यसैगरी, तीन हजार ४१९ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ । यससँगै नगरपालिकामा हालसम्म खोलिएको नयाँ सडकको ट्र्याकको लम्बाइ ८३ हजार २७१ मिटर पुगेको छ ।

स्थानीय बस्तीलाई सडक सञ्जालमा जोड्ने, आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले सडक निर्माण तथा स्तरोन्नतिका काम गरिएको पोख्रेलले बताए ।

नगरपालिकाले खानेपानीको पहुँच विस्तारलाई पनि प्राथमिकता दिएको छ । गत एक वर्षमा थप १०१ परिवारमा खानेपानी सुविधा विस्तार गरिएको छ ।

त्यस्तै, कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले यस अवधिमा ७०० मिटर सिँचाइ पूर्वाधार निर्माण गरिएको छ । यससँगै नगरपालिकामा हालसम्म निर्माण गरिएको सिँचाइ संरचनाको कुल लम्बाइ चार हजार ९४० मिटर पुगेको छ । सिँचाइ सुविधा विस्तारले खेतीयोग्य जमिनमा पानीको उपलब्धता बढाउनुका साथै कृषि उत्पादनमा सहयोग पुग्ने पोख्रेलले बताए ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासअन्तर्गत गत एक वर्षमा मन्दिर, गुम्बा र चर्च गरी तीनवटा संरचना निर्माण तथा विकास गरिएको छ । यससँगै नगरपालिकाभित्र यस्ता धार्मिक संरचनाको सङ्ख्या ९६ पुगेको छ ।

त्यसैगरी, स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि एउटा स्वास्थ्यचौकी थपिएको छ । सार्वजनिक यातायातका यात्रुलाई सहजताका लागि तीनवटा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ । यससँगै नगरपालिकामा यात्रु प्रतीक्षालयको सङ्ख्या १० पुगेको छ ।

सानादेखि ठूला आयोजना सम्पन्न
नगरपालिकाले विभिन्न बजेटका आयोजना कार्यान्वयनलाई पनि प्राथमिकता दिएको छ । गत एक वर्षमा ५० लाखभन्दा बढी बजेटका चारवटा आयोजना सम्पन्न भएका छन् । त्यस्तै, पाँच लाखदेखि ५० लाखसम्म बजेट विनियोजन भएका ५१ वटा र पाँच लाखसम्म बजेट भएका १५५ वटा आयोजना सम्पन्न गरिएको छ ।

सानादेखि ठूला बजेटका आयोजना कार्यान्वयनले स्थानीय आवश्यकता सम्बोधन गर्न र विभिन्न वडामा विकास निर्माणका काम अघि बढाउन सहयोग पुगेको नगरप्रमुख दधिराज सुवेदीले बताए ।

सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, धार्मिक सम्पदा तथा सार्वजनिक सुविधासम्बन्धी पूर्वाधारमा गरिएको लगानीले नगरको समग्र विकासमा योगदान पुर्याउने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ७ : १९ बजे

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज– चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा वीरगञ्ज

तनहुँको भिमादमा खानेपानी र सिँचाइका योजना सम्पन्न

तनहुँ– भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

सुनसरी- छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न

विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको