हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको चिसापानीगढीबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु भएका अन्य व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।














प्रतिक्रिया