एजेन्सी– चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइ ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन भएका छन् ।
चार दशकभन्दा लामो समय सन्तान वियोगको पीडा भोगेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः आफ्ना छोराहरूलाई भेट्न पाएकी हुन् ।
अमेरिकामा हुर्किएका ४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोकलाई आफूहरू अर्को परिवारले हुर्काएको जानकारी थियो । तर, जन्म दिने आमाबाट कसरी र किन छुट्याइयो भन्नेबारे उनीहरू अनभिज्ञ थिए ।
रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो जैविक परिवार चिलीमा रहेको पत्ता लगाए। त्यसपछि आफन्त र परिवारबाट छुट्टिएका व्यक्तिहरूको पुनर्मिलनमा सहयोग गर्दै आएका संस्थाको सहायतामा उनले आफ्ना भाइहरू पनि अमेरिकामै रहेको जानकारी पाए।
रोलनिकका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षको उमेरमा आमाबाट छुट्याएर अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।
तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलोपटक सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिस चिली पुगेर आमासँग भेटे । सन् २०१३ मा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण चिली जान सकेनन्।
चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे सैनिक शासनकालमा जबर्जस्ती वा आपराधिक तरिकाले बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्ने अनुमान छ ।
संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोका अनुसार गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको उनले बताए।
पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।
पादिलाले बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गरेका थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गरेकी थइन् । तर, अस्पतालमै सन्तान खोसिएपछि उनले जीवनभर वियोगको पीडा सहनुपर्यो ।
‘धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्यो,’ उनले भनिन्।
पुनर्मिलनपछि पादिलाले सधैँका लागि गुमाएको ठानेका छोराहरू पुनः पाएको बताइन् । ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्यतर्फ अघि बढ्न चाहेको बताएकी छन् ।














प्रतिक्रिया