काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ ।
बिहीबार सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो ।
कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर १६ ओभर ४ बलमा पूरा गर्यो ।
लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए भने दिलिप नाथले २८ रन जोडे ।
बलिङतर्फ कर्णालीका मार्क वाटले ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलातले समान १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो ।
कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।
६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।














प्रतिक्रिया