झापा – मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ ।
हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकको विरुवा हुर्किएको झाडी छ । नेपालतर्फ सतिघट्टा, मेचीबस्ती, गैरीगाउँलगायतको बाक्लो मानव बस्ती छ ।
आज बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहितको हात्तीको बथान देखिएको प्रत्यक्षदर्शी जीआर धितालले बताए । उनले भने, “ती हात्ती दिनभर त्यहीँ बसेका छन् । यता गाउँ कुनै पनि बेला पस्लान् भन्ने डर भइसक्यो ।”
नेपालतर्फको बस्तीमा हात्ती प्रवेश नगरुन् भनेर सशस्त्र प्रहरी बल २ नं गणअन्तर्गतको विभिन्न बीओपी र डिभिजन वन कार्यालय झापाबाट खटिएका सुरक्षाकर्मीले सीमामा सुरक्षा तैनाथी बढाएको डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले बताए ।
भारततिरबाट आएका हात्तीलाई सीमामा रोकिए पनि राति उक्त बथान गाउँ पस्ला भनेर स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको झाडी पूर्वको भारतीय बस्तीमा रहेका १८ परिवारका सदस्यले बिहानैदेखि घर छाडेका छन् । ज्यान जोगाउन घर छाडेका भारतीय बस्तीका बासिन्दामध्ये कोही नेपालतिरका घरमा आश्रय लिएर बसिरहेका छन् भने कोही नेपालको घुमाउरो बाटो भएर भारततिरै गएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले मेचीनगर–४ को प्रसाद गौडाबाट नेपालतर्फ प्रवेश गर्न लागेको हात्तीको बथानलाई रोक्न बुधबारदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको थियो ।
मेचीनगर–४ को बाहुनडाँगी सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नपाएको हात्तीको बथान त्यहाँबाट बाटो बदलेर लगभग पाँच किलोमिटर दक्षिण मेची पुलमुनिबाट मेचीनगर–७ मा स्थानान्तरण भएको छ ।
भारतीय भूभागबाट हात्ती नेपाल प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन सुरक्षा सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
हात्तीको प्रवेशलाई पूर्णरूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघसंस्था र स्थानीय किसानहरू सक्रिय भएका छन् ।
–––














प्रतिक्रिया