तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार अपराह्न बलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुलेगौंडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप अपराह्न करिब ४:१५ बजे पक्की सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा चालकसहित ७ जना सवार थिए । तीमध्ये १ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोटका ३२ वर्षीय चालक शिवबहादुर गुरुङ, सोही ठाउँका ९४ वर्षीय रनबहादुर गुरुङ, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ३४ वर्षीय मिलन गुरुङ र २९ वर्षीय अमरबहादुर गुरुङ रहेका छन् ।
घाइते सबैको दुलेगौंडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया