काठमाडौं- रुससँगको नयाँ चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पछिल्लो कूटनीतिक विकासक्रमबारे टेलिफोन वार्ता भएको छ। युक्रेन, रुस र अमेरिकाका प्रतिनिधिहरूबीच फेब्रुअरीदेखि अवरुद्ध रहेको युद्ध अन्त्यको प्रयासलाई अघि बढाउन अबुधाबीमा बैठक बस्नुअगावै नोभेम्बर ९ मा दुई नेताबीच यो संवाद भएको हो।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न भारतले कस्तो कदम चाल्न सक्छ र अन्य विश्व नेताहरूसँग कस्तो संवाद अघि बढाउन सक्छ भन्ने विषय पहिचान गर्नु महत्त्वपूर्ण रहेको बताए। वार्ताका क्रममा विशेषगरी कृष्ण सागरको मार्ग हुँदै हुने खाद्यान्न निर्यातमा रुसले लगाएको अवरोध र विश्व खाद्य सुरक्षाको विषयमा छलफल भएको थियो। जसमा भारतले खाद्यान्न करिडोर स्थापनाका लागि मध्यस्थता गर्न तत्परता देखाएको जेलेन्स्कीले उल्लेख गरेका छन्।
करिब पाँच वर्षदेखि जारी युद्धमा सुरुवाती समयदेखि तटस्थ नीति अपनाउँदै रुससँगको व्यापारिक सम्बन्ध तथा तेल खरिदलाई निरन्तरता दिएको भारतले पछिल्लो समय भने युद्ध अन्त्यका लागि सक्रिय भूमिका खेल्न थालेको छ।
यसअघि भारतीय विदेशमन्त्री एस. जयशंकरले सेप्टेम्बर ३ मा किभको भ्रमण गरी ऊर्जा पूर्वाधार र कृष्ण सागरको पानीजहाज आक्रमण रोक्ने युद्धविरामको प्रस्ताव राखेका थिए भने लगत्तै प्रधानमन्त्री मोदीले नयाँ दिल्लीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर संवाद र कूटनीति नै द्वन्द्व समाधानको एकमात्र बाटो भएको दोहोर्याएका थिए।














प्रतिक्रिया