विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ? « Khabarhub

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?



काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका ५४ प्रतिशत नेताले बोलाएको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ। विशेष महाधिवेशनका लागि देशभरबाट आइतबार बेलुकासम्म्ममा ५६.१३ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन्।

ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिको उपस्थित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई नेताले जोडबल गरेर बन्द सत्रमा उपस्थित हुन आग्रह गरिरहेका छन्। देउवा निकट नेताका अनुसार महाधिवेशन प्रतिनिधिको उपस्थितिको सम्मान गर्नका लागि सभापति पनि सकारात्मक भएको दाबी गरिन्छ। ‘आजको भीड देखेर सभापतिज्यू एकदमै चिन्तित हुनुभएको छ। नसोचेको नेता कार्यकर्ता उपस्थित भएपछि उहाँले काङ्ग्रेसलाई सही दिशा दिनका लागि विकल्प खोजिरहनुभएको छ’, काङ्ग्रेस संस्थापन पक्षका एक नेताले भने, ‘महाधिवेशन प्रतिनिधिको उपस्थितिको सम्मान गर्नका लागि सभापति सकारात्मक हुनुभएको छ। सेफ ल्यान्डिङ बारे कुरो मिलाएर उहाँ बन्द सत्रमा उपस्थित हुन सक्नुहुन्छ । नभए कार्यवाहक सभापतिलाई समेत पठाउन सक्नुहुन्छ।’

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिको भव्य जमघट भएपछि उनीहरूको उपस्थिति र जनभावना समेट्नुपर्ने भन्दै संस्थापन पक्षका रमेश लेखक, प्रकाश शरण महत, सहमहामन्त्री भीष्मराज आङ्देम्बे लगायतका नेताहरूले देउवालाई बन्द सत्रमा उपस्थित भएर कांग्रेसलाई सेफ ल्यान्ड गर्न अनुरोध गरे। सभापति देउवालाई मात्र नभएर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि भेटेर देशभरबाट काठमाडौंमा उपस्थित भएका नेता कार्यकर्ताको भावना समेट्नुपर्ने बताउँदै मध्यमार्गी विकल्प अपनाएर जानुपर्ने सुझाव दिएका छन्।

सुझावपछि देउवाले बिहान कांग्रेसका जिम्मेवार नेताहरूसँगै पूर्व पदाधिकारी र दुई महामन्त्रीसँग छलफल गर्ने तयारी गरिरहेका छन् ।

अहिले बद्री पाण्डेसहितका नेता, डा. शेखर कोइरालाको घरमा पुगेर मध्यमार्गी बाटोको विषयमा छलफल गरिरहेका छन्। उता देउवाले पनि दुई महामन्त्रीलाई आमन्त्रण गरेर छलफल गर्ने तयारी गरेका छन्।

‘कार्यवाहक सभापति खड्का, सभापति शेरबहादुर देउवा लगायतका जिम्मेवार नेताले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छ्न्’, गगन निकट नेता भन्छन, ‘हिजो बोलाएको अवस्थामा तार्किक बहससहितको कुरा राख्न दुई महामन्त्रीलाई उपस्थिति हुनु भनेर हामीले सुझाव दिएका छौं। सायद अहिले बिहान उहाँहरु पुग्नुहुन्छ।’

दुवै पक्षको स्रोतले दिएको जानकारी अनुसार अहिले पनि नेताहरू अनौपचारिक रुपमा उपस्थित भएका महाधिवेशन प्रतिनिधि घर फर्कँदा ऊर्जावान बनाएर फर्काउने वातावरण बनाउनका लागि छलफल भइरहेको दाबी गर्छन्।

‘बिहान महामन्त्री राखेर कुन ढङ्गले जाने भन्ने विषयमा छलफल हुन्छ। अनौपचारिक रूपमा अहिले पनि नेता छलफल गरिरहनुभएको छ’, कांग्रेसका एक नेताले भने, ‘सहज वातावरणमा सेफ ल्यान्ड गर्ने हिसाबले हामी काम गरिरहेका छौं । एकदमै सुरक्षित अवतरणका लागि हामीले प्रयास गरिरहेका छौं । विशेष महाधिवेशनमा कार्यवाहक सभापतिको मात्र उपस्थित गराएर मध्यमार्गी बाटो जान सक्यो भने पनि कांग्रेसलाई ठूलो फाइदा हुन्छ।’

कांग्रेस सस्थापन नेताहरूको धारणा बुझ्दा कांग्रेस सभापतिलाई बन्द सत्रमा उपस्थित गराएर विधि र नीतिमा केही परिवर्तन गरी निर्वाचन केन्द्रित गतिविधि गर्ने र त्यसपछाडि तत्काल महाधिवेशन गर्नेगरीको जोडबलमा छन्।

‘हामी पार्टीभित्रका विभिन्न व्यक्तित्वसँग छलफल गरिरहेका छौं । उहाँहरुले पनि एकपटक संस्थापन पक्षका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेतालाई भेट्नुहोस् भन्नुभएको छ’, आयोजक मध्यका एक नेताले भने, ‘हामीले पनि बिहान महामन्त्रीलाई सभापतिले यदि बैठक बोलाएको खण्डमा उपस्थित हुनु भनेका छौं।’

यता सभापतिलाई कांग्रेस सेफ ल्यान्ड गराउनुपर्ने माग गरिरहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि बिहान जिम्मेवार तहका नेताहरू बसेर उचित निकास खोज्ने दाबी गर्छन्। ।

‘मध्यमार्गी बाटो अपनाएर जाने विषयमा छलफल चलिरहेको साँचो हो। बन्द सत्रमा आएका साथीहरूको पनि भावनाको कदर गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ। निर्वाचन केन्द्रित तयारी पनि गर्नुपर्छ र महाधिवेशनका लागि आएका साथीको पनि भावना समेट्नु छ’, सहमहामन्त्री आङ्देम्बे भन्छन्, ‘दुवै पक्षको जितको अवस्थामा पुर्‍याउन सकिन्छ कि भनेर हामी लागिरहेका छौं। महामन्त्री र शीर्ष नेताहरू बसेर बन्द सत्र हुनुभन्दा अगाडि नै केही कुरा टुङ्गोमा पुर्‍याएर सेफ ल्यान्ड गराउने दिशातर्फ अगाडि बढिरहेका छौँ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग छलफलको सम्भावनालाई मध्यनजर गर्दै महाधिवेशन पक्षले ८ बजे बोलाएको बन्दसत्र १० बजेका लागि सारेको छ। नेताको दौडधुप र छलफलका कारण पुन बन्दसत्रको समय थपिन सक्ने आयोजकले बताएका छन्।

रामचन्द्रले खेल्न सक्छन् भूमिका

कांग्रेसलाई सफल रूपमा अवतरण गर्न नसक्ने र पार्टी विभाजन हुने अवस्था आए कांग्रेस नेता रामचन्द्र पौडेललाई समेत परिचालन गर्ने नेताले तयारी गरेका छन्।

‘सभापति देउवा र कार्यवाहक सभापति खड्का नै उपस्थित नभई नीतिविधि फेरिँदै नेतृत्वसम्म फेरिने अवस्था आए दुई महामन्त्रीलाई सम्झाउनका लागि रामचन्द्र पौडेल नै परिचालन गर्ने तयारी भइरहेको छ’, कांग्रेसका अर्का नेताले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति मात्र होइनन् । हिजोको रामचन्द्र दाइ हो। पार्टीको व्यक्ति हो। औपचारिक अनौपचारिक ढंगले उहाँले महामन्त्रीसँग कुरा पनि गर्न सक्नुहुन्छ’, ती नेता भन्छन्, ‘महाधिवेशन प्रतिनिधिको भावना समेट्न र उहाँहरूको चित्त नदुखाउनका लागि विभिन्न विकल्पमा कुरा गर्ने तयारीमा छौं ।’

केही दिन अगाडि पनि कांग्रेस महामन्त्री गगन थापा र रमेश लेखक रामचन्द्र पौडेल कहाँ पुगेर कांग्रेसको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेका थिए।

देउवा भृकुटीमण्डप नजाने

सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष महाधिवेशनका लागि भृकुटीमण्डप जाने भनेर भ्रम फैलाएको भन्दै देउवाको सचिवालयले आपत्ति जनाएको छ । सहयोगी भानु देउवाले सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम नरहेको प्रष्ट पारेका हुन्।

‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, सचिवालयले भनेको छ, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।’

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ३५ बजे

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र