काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको विषय विवादित बन्न पुगेको थियो ।
पार्टीको नेतृत्वले लेखनाथ दाहाललाई टिकट दिएपछि नेता हरिबोल गजुरेल आफैँ प्रस्तावक बनेर महेश्वर दाहाललाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । यसपछि गजुरेल र दाहाल दुवैलाई सो पार्टीले कारबाही गर्दै निष्काशन नै गर्यो ।
तर, सो पार्टीमा देखिएको समस्याको कारण भने गजुरेलको पारिवारिक कारण हुनसक्ने देखिएको छ । गजुरलेका भाइका छोरा इन्जिनियर आशिष गजुरेल अहिले सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् ।
पारिवारिक राजनीतिक सम्बन्धका कारण राज्यको विभिन्न निकायमा भूमिका पाएका उनी रास्वपाबाट उम्मेदवार बनेर अघि बढ्ने निर्णय गरेपछि नेकपाका नेता हरिबोल गजुरेलले आफ्नो पार्टीको दबदबा रहेको सो निर्वाचन क्षेत्रमा भतिज गजुरेललाई सहयोग पुग्नेगरी बागी उम्मेदवार उठाएको धेरैले आशंका गरेका गरेका छन् ।
सोही अनुमानसँग मिल्दो केही जवाफ आशिष गजुरेलले एक टेलिभिजनसँगको अन्तर्वार्तामा खुलाएका छन् । नेपाल लिड डट कमको एक कार्यक्रममा प्रस्तोता राजेन्द्र बानियाँसँगको अन्तरर्वार्तामा उनले उम्मेदनवार बन्नुअघि हरिबोल गजुरेलसँग सल्लाह भएको बताएका हुन् ।
तर, कूटनीतिक भाषाको प्रयोग गर्दै उनले प्राविधिक व्यक्ति भएको र सल्लाहमा अन्य पार्टीबाट अघि बढ्दा आफूले सहयोग नगर्ने जवाफ पाएको पनि बताएका छन् ।
गजुरेल र बानियाँबीच भएको छलफलको अंश-
प्रस्तोता बानियाँ : तपाईंकै कुरा गर्यो भने तपाईंले अहिलेसम्म जति राज्यका विभिन्न अंगहरूमा भाग पाउनुभो, जहाँ–जहाँ तपाईंले नियुक्ति पाउनुभो, हैन, माओवादी भएर पाउनुभो । किनभने तपाईंको पारिवारिक पृष्ठभूमि नै माओवादी हो । आज माओवादीको बत्ति बल्न सकियो रापताप सकियो, अनि तपाईं चाहिँ उपियाँ फड्केको जस्तो फड्किनुभो ।
आशिष गजुरेल : त्यस्तो होइन हेर्नुस्, अब तपाईंले माओवादी–माओवादी भन्नुहुन्छ, न म कहिल्यै माओवादी भाको छु, न म कैहिले माओवादी नजिक भाको छु, माओवादीमा चिन्ने भनेको मैले कोही नेता चिन्दिन । एउटा आफ्नै काका हो चिनेको ।
प्रस्तोता बानियाँ : हो, माओवादीको यति ठूलो नेता छ, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार थियो, त्यो आवरणमा त बारम्बार नियुक्ति खानुभो नि तपाईंले ?
आशिष गजुरेल : उहाँबाट नियुक्ति भा होइन, म जतिखेर नियुक्ति खाएँ प्रधानमन्त्री केपी ओली हो, एमालेको हो । हैन ? त्यही भएर यो कोसिस गर्यो भने हुँदोरहेछ भन्ने म आफैँलाई पनि एउटा विश्वास चाहिँ लागेको छ । त्यही भएर त्यो प्रश्न चाहिँ जायज प्रश्न होइन । र जति पनि तपाईंहरूले चिन्नुहुन्छ, मैले भन्ने गरेको छु, हरिबोल गजुरेल भनेको यस्तो व्यक्ति हो, जो चाहिँ आफ्नो भाइ, भतिजा, दायाँ बायाँलाई बनाउन आफू लागेर हिँड्ने मान्छे हैनन् ।
प्रस्तोता बानियाँ : तपाईंलाई त्यस्तो लाग्यो, तर हरिबोल गजुरेल एउटा यस्तो नेता हो, आफ्नो पुत्र मोहका लागि राजनीतिक आफ्नो यत्रो इतिहास पनि तिलाञ्जली दिने नेता हो ।
आशिष गजुरेल : त्यो उहाँको आफ्नो सिद्धान्तले गर्नुभा हो हेर्नुस् ।
प्रस्तोता बानियाँ : यो तपाईंले भन्ने कुरा हो, घरभित्र भाको कुरा गरौँ न । कोठाभित्र गरेको सल्लाहको कुरा गरौँ न । कोठाभित्र भएको सल्लाह आशिष गजुरेलले आफ्नो भतिजोले रास्वपाबाट टिकट लिएर गइसकेपछि उहाँले राजन दाहालका विरुद्धमा अर्को उम्मेदवार उठाउनुभो र पार्टीले उहाँलाई कारबाही गर्यो, सत्य चाहिँ यो हो ।
आशिष गजुरेल : त्यो पूर्ण रूपमा गलत हो हेर्नुस् । मैले तपाईंलाई म भन्छु, मलाई यो ढाँट्न पनि आउँदैन, प्राविधिक मान्छे हो ।
प्रस्तोता बानियाँ : अस्तिसम्म प्राविधिक मान्छे हो, अब त ढाँटको खेतीतिर लागेको मान्छे हो ।
आशिष गजुरेल : प्राविधिक त प्राविधिकै मान्छे हो नि त । पढाइको हिसाबले र सोच पनि । मैले चुनाव अगाडि चाहिँ हरिबोल गजुरेल जो मेरो काका हुनुहुन्छ, उहाँलाई मैले के भने भने फोन गरेर मैले चाहिँ चुनावमा उठ्ने मनस्थिति बनाएको छु, तपाईंको के छ कुरा भनेर उहाँलाई भने, उहाँले मलाई के भन्नुभयो भन्दाखेरि हामी पनि हिजोको दिनमा आफ्नै बुवासँग विद्रोह गरेर चुनाव उठेको हो । राजनीतिमा लागेको हो । बुवाले पनि राजनीतिमा लागोस भन्ने उहाँको थिएन ।
प्रस्तोता बानियाँ : कम्युनिष्टमा लागोस भन्ने थिएन, तपाईंहरू त जमिन्दार हो नि त्यहाँ ।
आशिष गजुरेल : जागिर खाओस भन्ने नै थियो, हामी विद्रोह गरेर राजनीतिमा गएपछि तँ पनि यत्रो उमेर भइसकिस्, तँ आफ्नो डिसिजन गर, तर तँ मेरो पार्टीमा हो भने त्यो समर्थन सहयोग हुन्छ, अन्य कुनै पार्टीमा हो भनेदेखि मैले चाहिँ कुनै सहयोग हुँदैन, मसँग त्यो विषयमा तैँले कुरा पनि नगर भन्नुभयो ।
प्रस्तोता बानियाँ : भनेको तपाईंले नेपाल कम्युनिष्ट पार्टीबाट पनि टिकटका लागि कोसिस गर्नुभाथ्यो ?
आशिष गजुरेल : भएन, भएन । कहाँको कोसिस गर्छु ? त्यो उहाँले भन्नुभयो अनि मैले उहाँलाई एउटा सोधेको थिएँ, सिन्धुली क्षेत्र नम्बर २ बाट म उठेँ भने के हुन्छ भन्दा यो विषयमा तँ मसँग फरदर कुरै नगर । तिमीहरू उमेर पुगेको मान्छे तिमीहरू जे डिजिसन गर्छौ त्यसलाई गलत भन्दिन, तर अब तँ मसँग राजनीतिको विषयमा कुरै नगर भन्नुभो ।
प्रस्तोता बानियाँ : (केही उदाहरण दिँदै) तपाईंलाई उहाँले त्यसो भन्नुभो तर, राजनीति गर्ने मान्छेले षडयन्त्र जानेको हुन्छ, उहाँले जित्न सक्ने उम्मेदवारको विरुद्धमा विद्रोही उम्मेदवार उठाइदिएर आफ्नो राजनीतिक भविष्य दाउमा राखेर अहिले तपाईंलाई सहयोग गर्नुभाछ ।
आशिष गजुरेल : हैन उहाँले सहयोग गर्नुहुन्छ, तपाईंले सहयोग गर्नुहुन्छ, इन्टरभ्यू लिएर तपाईंले सहयोग गरिरहनुभएको होला, हैन कसैले सहयोग गर्छ भने त मैले त्यससलाई स्वागतै गर्ने हो ।
प्रस्तोता बानियाँ : यो तपाईंहरूको गजुरेल परिवारको षडयन्त्र हो ?
आशिष गजुरेल : मैले तपाईंलाई भन्छु, यो विषयमा हाम्रो परिवारमा कहिँ कतै केही छलफल भाको पनि छैन ।
प्रस्तोता बानियाँ : तपाईंकै कारण तपाईंको काकाको यत्रो वर्षको राजनीति, नेपाली कम्युनिष्ट पार्टीको सदस्यताबाट निष्कासन गर्दियो । हेर्न पर्दैन भन्या यस्तो कुरा ?
आशिष गजुरेल : उहाँ राजनीतिक मान्छे हो, कच्चा राजनीतिज्ञ होइन । म जस्तो भर्खर राजनीतिमा आको मान्छे पनि होइन । उहाँ प्रचण्ड एउटै चाहिँ एउटै लेवलको हुनुहुन्थ्यो होला कुनै दिन । उहाँहरू सँगसँगै राजनीति गरेको मान्छे पनि हुनुहुन्न । उहाँ लाटो पनि हुनुहुन्न । एउटा चाहिँ आफ्नो भतिजोलाई जिताउन, त्यै पनि उहाँले भनेर घण्टीमा भोट दिने पनि कति हुन्छन् ? त्यो थाहा छैन हैन । त्यसको लागि आफ्नो राजनीति दाउमा लाउनुहुन्छ जस्तो लाग्दैन ।
प्रस्तोता बानियाँ : त्यो किन भयो त ?
आशिष गजुरेल : त्यो उहाँलाई सोध्नुपर्छ ।
प्रस्तोता बानियाँ : तर, परिदृष्यले के देखाउँछ भने अन्य जिल्लामा, अन्य क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको विद्रोही उम्मेदवार छैन, यो त बनमा बाघ कराउनु, खोरमा सिँगारी हराउनु, सँगसँगै भाछ नि ? हरिबोल गजुरेलको छोरा नै गएर सिन्धुली-२ मा घण्टी चुनाव चिन्हबाट चुनाव लड्नु र त्यही क्षेत्रमा हरिबोल गजुरेल आफैँले महेश्वर दाहाललाई नेपाली कम्युनिष्ट पार्टीको विद्रोही उम्मेदवार लिएर जानु, यसको अर्थ त तपाईंलाई सहयोग गर्या हो भन्ने कुरा, तपाईंले भनेकै सही होला, यो त तपाईंले जित्दा पनि आरोप पनि के लाग्ने भो भने काकाको राजनीति तथास्तु गरेर यो सांसद भको हो, हार्दा त उहाँको पनि राजनीति सकियो तपाईंको पनि भविष्य सकियो ।
आशिष गजुरेल : त्यो हुँदैन, जस्तो कसैले मलाई सहयोग गर्छ भने त्यो स्वागत, मेरो एजेन्डा भनेको अहिले चाहिँ देश विकास जुन नीतिगत अस्ष्टता छ, त्यसलाई सुधार गर्नको लागि म संसदमा जाने भनेको हो । यसमा क–कसले सहयोग गर्छ तिनलाई धन्यवाद । मैले अहिले पनि भन्छु, हाम्रो पारिवारिक रूपमा हरिबोल गजुरेलसँग मेरो यो विषयमा र हाम्रो परिवारमा कतै पनि छलफल भएको छैन ।
प्रस्तोता बानियाँ : मनोनयन गर्न जाने दिनमा काकाको आर्शिवाद लिने काम गर्नुभयो कि गर्नुभएन ?
आशिष गजुरेल : गरिन्, गरिन् । हाम्रो संस्कार कस्तो छ भने हामीलाई मन लागेको कुरा गर्छौं, हामीले सोचेको कुरामा हामी अगाडि बढ्छौँ । हिजोको दिनमा नियुक्ति पाउँदा यसले ग¥यो, उसले ग¥यो भन्नुहुन्छ तपाईंहरू, सबै जनाले त्यो भन्छन्…।
प्रस्तोता बानियाँ : किन नभन्ने ? तपाईंजस्तो विज्ञ, तपाईंभन्दा बढी छन् । तपाईंसँग कम क्षमता छ भन्या होइन, तपाईंको नियतमा प्रश्न गर्या पनि हैन, एकदम राम्रोसँग चिन्छु । तपाईंले सार्वजनिक पदमा बसेर कहिल्यै पदको दुरुपयोग गर्नुभएन, आफूले गर्नसक्ने काम गर्नुभा हो । सार्वजनिक रूपमा विभिन्न विषयमा पैरवी गर्नुभयो । यसलाई सकारात्मक रूपमा लिएको छ के, तर, तपाईं भन्दा क्षमता भएका मान्छेहरू पनि सडकमा मिल्केका छन् । तपाईंले बारम्बार मुखभरी मुख खाली नहुनेगरी नियुक्ति पाइरहनु भयो ।
आशिष गजुरेल : यस्तो हो के, मान्छेले प्रयास गर्नुपर्यो नि त ।
आशिष गजुरेल : मेरो काका त प्रधानमन्त्रीको सल्लाहकार या सांसद या मन्त्री थिएनन् नि त ।
प्रस्तोता बानियाँ : मैले तपाईंलाई कति भन्नु बारम्बार कति यही कुरा भन्नु ? न काकाले मेरो लागि गएर कसैलाई भन्नुहुन्छ है ?













प्रतिक्रिया