झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो « Khabarhub

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आइपुगेका ओली तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर आज काठमाडौँ फर्किएका हुन् ।

नर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका टोल टोलमा मतदाताका स्याबासी, गुनासा र समस्या सुनेर काठमाडौं फर्किए ।

दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गतेपछि अध्यक्ष ओली मतदाता भेट्न जानेछन् ।

‘तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग अध्यक्षले प्रत्यक्ष संवाद गर्नुभएको छ । मतदातासँग भेटेपछि उहाँ उत्साहित भएर फर्कनु भएको छ ’ संयोजक दाहालले भने, ‘मतदाताले उहाँलाई खुलेर प्रश्न गरेका छन् । गुनासो राखेका छन् । समस्या सुनाएका छन् । र,राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन् ।’

निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्षले भेटघाट गरे । भेटघाटमा मतदाताले स्थानीय ठाउँको विकास,रोजगारी,शिक्षा तथा अस्पताल निर्माणका मागहरु राखेका छन् ।

‘अधिकांस मतदाताले स्थानीय विषयलाई नै प्रमुख मुद्धा बनाएर अध्यक्षसँग प्रष्तुत गरेका छन्’ गौतमले भने ।

पश्चिम दक्षिण झापाको गौरादह ६ का मतदाता जयराम सापकोटाका अनुसार रतुवाको कटानमा परेका यस क्षेत्रका मतदाताले रतुवा खोलामा स्थायी तटबन्धन, यही खोलामा पक्की र झोलुंगे पुल र अस्पताल निर्माणको माग गरेका छन् ।

‘अध्यक्षज्यूलाई हामीले स्कुलचौन दामुना जाने सडकलाई पिच गर्न, रतुवामा तटबन्धन गरेर बाढी र डुबानबाट बचाउन र यसै क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना गरिदिन माग गरेका छौं’ सापकोटाले भने ।

यस्तै दामुना बजारका मतदाताले पार्टीका अन्तरविरोध मिलाइदिन, कार्यकर्तालाई जनतासँग जोडिन र सुशासनलाई व्यबहारमा उतार्न माग गरेका छन् ।

उनीहरुले स्थानीय तहका जनप्रतिनिधि, मुख्यमन्त्री लगायत यस क्षेत्रका जनप्रतिनिधिलाई जनता समस्यामा गम्भिर भइदिन सम्झाइदिन आग्रह गरेका छन् ।

वडा नं ६ कै सिंगीयाडुबाका बासिन्दाले त अध्यक्ष ओलीलाई नेपाली कागजमा ६ बुँदे माग लिखित रुपमा नै पेश गरेका छन् । मागपत्र पेश गर्दै एमाले वडा कमिटीका उपाध्यक्ष दुर्गा गनगाईले दामुनाबाट सिंगियाडाँगी हुँदै सिंजुवा जाने बाटो पिच हुनु पर्ने र रतुवा खोलामा पक्की पुल निर्माण गर्न माग गरेका छन् ।

यसैगरी दामुनाबाट हुलाकी सडक जाने कृषि सडक पनि तत्काल पिच गरेर किसानका उत्पादनलाई भारतीय बजार पुर्याउन सहज बनाइदिनुपर्ने गनगाईंले माग गरे ।

गौरीगञ्ज गाउँपालिकाको सीमावर्ती क्षेत्र देवानगञ्जका मतदाताले मोइवालको टावर राखिदिन माग गरेका छन् । टावर नभएका कारण भारतीय टावरमा निर्भर हुनु परेको गुनासो उनीहरुले चर्को रुपमा उठाएका छन् । सो क्षेत्रका मतदाताले आफ्नो गाउँ टोलमा फेरी फेरि आइदिन पनि माग गरेका छन् ।

गौरादह चैतुचोककी रमिला राजवंसीले ओलीलाई आफूलाई ठुला ठुला कुरा भन्दा रोजगारी गरेर खाने मेलो मिलाइदिन माग गरिएको बताइन् । उनले रोजगारीकै लागि विदेशिएका श्रीमान्लाई पनि गाउँमै रोजगारी गर्ने वातावरण मिलाइदिन माग गरिन् ।

दक्षिण झापाको ग्वालडुब्बा निवासी प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार एकहप्तामा अध्यक्ष ओलीले हजारौं मतदातालाई भेट्नु भएको छ ।

अध्यक्ष ओली ‘फस्र्ट हेण्ड इन्फरमेसन’ मा विश्वास गर्ने नेता भएकोले धेरै मतदाता भेट्न गाउँ गाउँ पुग्नु भएको हो । ओली यस अघिका निर्वाचनमा पनि यसैगरी गाउँ गाउँ जाने गरेको शिवाकोटी बताउँछन् ।

‘यस पटक दक्षिणका मतदाताले अध्यक्षसँग राम्ररी कुरा गर्न पाएका छन् । केहीले असन्तोष व्यक्त गरेका छन् ’ शिवाकोटी भन्छन्, ‘आफ्ना प्रतिनिधिलाई प्रश्न सोध्ने अधिकार हरेक मतदातालाई हुन्छ । प्रतिनिधिले मतदातालाई जवाफ दिने दायित्व पनि हुन्छ । अध्यक्षले हरेक प्रश्नको जवाफ दिनुभएको छ ।’

एमालेका वडाका नेताहरुका अनुसार अध्यक्ष ओलीप्रति भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा रहेका भ्रम पनि प्रत्यक्ष रुपमा हटाउन यसपालीको गाउँ टोलको भेट सहयोगी भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ९ : ५५ बजे

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो