काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । माधवकुमार नेपालले नेतृत्व गरेको कार्यकालमा भन्दा पनि कमजोर बनेसँगै अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब बढेको छ।
फागुन २१ को निर्वाचनको परिणामले एमालेलाई भदौ २३ र २४ को जेन-जी आन्दोलनको भन्दा ठूलो धक्का लागेको छ । भदौ २४ गते एमाले अध्यक्ष ओलीसहितका २ सय बढी घरमा आगो लगाइएको थियो । पार्टी कार्यालय पनि त्यसबेला जले । तर यो निर्वाचनले एकसाथ एमालेको तीन पुस्तालाई धक्का दिएको छ ।
तर अहिलेको निर्वाचन परिणामले एमालेको सांगठनिक संरचना नै थला पारिदिएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले देशलाई निर्वाचनमा लैजाँदा आएको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटमा पुग्दा एमाले करिब थला परेको छ।
तर अध्यक्ष केपी शर्मा ओली अहिले पनि यो खालको लज्जास्पद परिणाम आउँदा पनि नेतृत्व छाड्न तयार छैनन् । उनी ११ औँ महाधिवेशनमा पार्टी संगठन कब्जा गर्दै तेस्रो कार्यकालका लागि अध्यक्ष भए । कतिसम्म भने भदौमा भएको विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याएर उनले एक किसिमले एमालले कब्जा नै गरे।

तर एमालेमा तेस्रो पटक बलजफ्ती अडिएका ओलीलाई फागुन २१ को निर्वाचनले देशकै लोकप्रिय मत पाएको दलबाट २०७९ को राप्रपा र जसपाको हैसियतमा झारिदिएको छ। अर्थात्, एमाले, कांग्रेस र नेकपा एकसाथ अब साना दलमा परिणत भएका छन् ।
यति ठूलो पहिरो गइसक्दा पनि ओलीले बिहीबार प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताएका छन्। २०७९ सालको निर्वाचनमा समानुपातिक र प्रत्यक्ष दुवैमा ७८ सिट जितेको एमाले यस पटक २५ सिटभन्दा तल समेटिएको छ। तर पनि ओलीले अपेक्षाअनुसार परिणाम नआएको बताइरहेका छन् ।
उनले यसलाई आफूहरूको लज्जास्पद हार भन्न सकेका छैनन् । उसो त निर्वाचनका क्रममा उनी झापा ५ मै केन्द्रित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहविरुद्धको चुनावमा उनी ४९ हजार ६१४ मतको भारीअन्तरले पराजित भए ।
आफूसहित सबै पदाधिकारी पराजित हुँदा पनि ओलीले नैतिक जिम्मेवारी लिएर नेतृत्व हस्तान्तरणको कुरा गर्न सकेका छैनन् । बरू निर्वाचनको ८ दिनपछि बल्लतल्ल निर्वाचन परिणाम स्वीकारेका छन् ।
देशभरको निर्वाचनमा कहीँ कतै बुथ कब्जासमेत नसुनिएको अवस्थामा उनले सातापछि मतपरिणाम र जनआदेश स्वीकार्ने बताए । तर उनले बिहीबार सार्वजनिक गरेको भनाइमा कहीँ कतै नैतिक जिम्मेवारीका आधारमा नेतृत्व छाड्ने कुरा गरिएको छैन।
महासचिव जस्तो कार्यकारी पदभन्दा ओलीका सहयोगी जस्ता देखिने भनेर टिप्पणी हुने गरेका शंकर पोखरेलले पनि नैतिक जिम्मेवारी लिने साहस गर्न सकेका छैनन् । ओली र पोखरेल दुवैलाई नेतृत्व छाड्न दबाब बढे पनि उनीहरू टस न मस भएर बसेका छन्।
रुपन्देही २ मा पराजित एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेशकुमार भट्टराईसहितले नेतृत्व परिवर्तनको बहस अघि बढाए पनि ओली यसलाई सुन्न तयार छैनन्।
पार्टी नेतृत्वमा जबरजस्ती टिकिरहेका ७३ वर्षीय ओलीलाई जनमतले अब अस्वीकृत गरेर विश्राम गर्न भनिसकेको छ । तर उनी अझै पनि एमाले छाड्ने मुडमा छैनन्। बरू सरकारले आफूलाई पक्राउ गर्ने भन्दै गुन्डुमा भेट्न पुग्नेसँग ‘इमोशनल ब्ल्याकमेलिङ’ गरेर बसिरहेका छन्।
उनले केही दिनअघि गुन्डू पुगेका एमालेका नेताहरूसँग बालेन्द्र साहले आफूसँग प्रतिशोध साँध्न सक्ने डर देखाए । त्यो डर उनले आफूलाई पार्टी नेतृत्वबाट हटाउने भयबीच नेताहरूलाई देखाएका थिए । भेटमा सहभाागी एक नेता आफूलाई पक्राउ गर्ने डर देखाएर ओली अझै पनि नेतृत्व छाड्ने पक्षमा नरहेको बताउँछन् ।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने र त्यसलाई आफ्नो पार्टीले शीरोधार्य गर्ने बताए ।
ओलीले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको स्वीकार्दै जनताको मतलाई पूर्ण सम्मानसहित स्वीकार्ने बताए । ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,’ उनले भनेका छन्।
निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताएका ओलीले राजीनामाबारे केही पनि बोलेनन् । ‘हामी जनताकै बीचमा रहनेछौँ र जनताकै लागि काम गरिरहनेछौँ,’ उनले भनेका छन्, ‘विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै हामी अघि बढ्नेछौँ।’

अटेरी
ओली जेन-जी आन्दोलनपछि पनि यसैगरी गत असोजमा एमालेका तत्कालीन सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टीबाट बाहिरिन दबाब दिएका थिए ।
भक्तपुरको गुन्डूमा बसेको सचिवालय बैठकमा दुवै नेताले जेन-जी पुस्ताको आन्दोलनपछि विकसित परिस्थितिमा ओलीले अध्यक्षबाट राजीनामा गर्नुपर्ने अडान राखे । तर ओली त्यसबेला पनि ती नेतालाई पेलेर जान तयार भए ।
योगेशले ओलीको राजीनामाबाट पार्टी र उनको पनि हित हुने बताएका थिए । ओलीले इतिहासमा केही मानक निर्माण गरेको र त्यसलाई स्थापित गराउन पनि सम्मानजनक निकासको मार्ग प्रशस्त गर्नुपर्ने भट्टराईले बताएका थिए ।
‘तपाईंले केही मानक निर्माण निर्माण गर्नुभएको छ । राष्ट्रियताको अडानमा, मेघा पूर्वाधारहरूमा, अन्तर्राष्ट्रिय मञ्चहरूको प्रतिनिधित्वहरूमा तपाईंले मानक निर्माण गर्नुभयो,’ भट्टराईले भनेका थिए, ‘अब तपाईं आफ्नो भूमिका बदल्ने टर्निङ प्याइन्टमा हुनुहुन्छ ।’
तर ओलीले सचिवालयमा बहुमत जुटाएर पेलेरै अघि बढ्दै एघारौँ महाधिवेशनबा आफूलाई नवीकरण गरे । यसरी प्रश्न उठाउने योगेशलाई उनले फागुन २१ को निर्वाचनमा टिकट नै दिएनन्। उनले आफूविरुद्ध लागेको भन्दै योगेशलाई कारबाहीकै तयारीसमेत गरे । योगेशसहित आफूविरुद्ध लागेको भन्दै १२१ जनाको सूची गुन्डुले संकलन गरिसकेको छ।
ठ्याक्कै असोजको त्यही दृश्य फागुन २१ को चुनावपछि दोहोरिएको छ। एमालेका वर्तमान उपमहासचिव भट्टराईले अब नीति र नेतृत्वको समीक्षा हुने बताएका छन् । उनले फेरि ओलीको राजीनामा माग्नेसम्मको तयारी भएको एक टेलिभिजनको अन्तर्वार्तामै बताएका छन् ।
ओलीलाई बिदाइका लागि योगेशसँगै उपाध्यक्ष विष्णु पौडेलहरू पनि मोर्चा कसिरहेका छन् । योगेशले अब नेतृत्वबाट मार्गप्रशस्त नगरे ओलीविरुद्ध निर्मम कदम चाल्ने चेतावनी दिएका छन् ।
दबाब
ओलीको पेलानमा परेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे अब नयाँ विकल्प सोच्नै पर्ने बताउँछन् । ‘ओलीले नसोच्ने भए अब कार्यकर्ताले सोच्न थाल्छन् । यो बेला सबैभन्दा माथिका नेताले बिदा हुने विकल्पमा जानुपर्छ’, उनी भन्छन्, ‘यदि नेतृत्वले नसोच्ने हो भने अब एमालेमा व्यापक पलायन हुन सक्छ । यसले आन्दोलन नै दुर्घटनामा पर्छ । हाम्रो आन्दोलन बचाउन नेतृत्वले नसोचे कार्यकर्तालले ठोस कदम चाल्ने बेला आएको छ।’
फागुन २१ को चुनावमा ओलीले पेलेर टिकट नदिएकामध्ये एकजना नेता हुन् गोकुल बास्कोटा । काभ्रे २ बाट लगातार जितिरहेका उनलाई टिकट नदिएपछि अब त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले कब्जा जमाएको छ। टिकट नदिए पनि योगेश ताप्लेजुङमा निरन्तर खटिएर क्षितिज थेबेलाई जिताए ।
ओलीको पेलानमा परेका गोकुलले पाँच वर्षअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिल्दाको दृश्य सम्झिँदै यदि नसँच्चिने भए अर्को पल्ट पार्टी सकिने चेतावनी दिएका छन् ।
‘पाँचवर्ष अघि मैले भनेको थिएँ -यो नेकपाको क्लाइमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए, जनतामा अभुतपुर्व उत्साह थियो’, उनी सम्झिन्छन्, ‘र विचार, सगंठन र व्यवहार दुई मितको अधीनस्थ थिए, एकताको आधार कमजोर । सोभियत सघंबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो। सक्किएको त छैन, नसँच्याए अर्को पल्ट सकिन्छ।’
लाई नेतृत्व पुनरगठन, लिनुपर्ने नीति, विधि, प्रक्रिया र पद्धतीको वारेमा निर्णय लिन ढिला गर्नु हुदैन । यस वारेमा निर्णय लिन सम्बन्धित निकाय/पदाधिकारीको यथाशक्य ध्यान जानु जरुरी छ ।

अर्कातिर ओलीबाट ६ महिने निलम्बन भोगिसकेकी नेतृ उषाकिरण तिमल्सेनाले जनमतलाई स्वीकारे जस्तै अब नेतृत्वबाट बिदा हुनुको विकल्प नरहेको बताउँछिन् ।
‘जसरी जनता जनार्दन हुन् त्यसैगरी कार्यकर्ता पनि पार्टीका आधार हुन् । नेकपा एमाले जस्तो संगठनको १२ वर्षभन्दा धेरै अध्यक्ष भइसक्नु भयो । तपाईंको नेतृत्वमा जे-जे भयो, राम्रो-नराम्रो सबै प्रष्टै छ। बाँकी, इतिहासले हेर्नेछ। हाम्रा अवसर सदुपयोग भए या दुरुपयोग भए ? तपाईंको जिम्मेवारी के थियो ? यो मूल्याङ्कन पनि समाजलाई छोडिदिऊँ’, उनी भन्छिन्, ‘तपाईंले राजनीति छोड्ने उपयुक्त समय गत मंसिरको महाधिवेशन नै थियो, तर छोड्नु भएन । हामी जुन असफलतामा पुगेका छौँ, यसको नैतिक र राजनीतिक जिम्मा लिनुस् र अब रिटायर्ड हुनुस् ।’
ओलीको पेलानमा परे पनि पार्टीमा टिकिरहेकी उनी इतर प्यानलबाट उठ्दा ११ औँ महाधिवेशनमा पराजित भइन् । उनले ओलीलाई जिन्दगी सत्ता र शक्ति बाहिर पनि रहेको बताउँदै २५ वर्षदेखि सक्रिय एउटा पार्टी कार्यकर्ताको माग वा आह्वानको रुपमा लिएर बिदा हुन सुझाएकी छन् ।
उता एमालेका अर्का नेता शम्भु साह पनि अब पार्टीलाई युवाहरूले हाँक्ने बताउँदै ओलीले बिदा हुनुपर्ने तर्क गर्छन् । ‘तपाईंले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। इतिहासले तपाईंलाई अहिले भन्दा फरक तरिकाले सम्झिनेछ’, उनी भन्छन्, ‘सम्मानका साथ तपाईंले देश र जनताका लागि धेरै गर्नु भयो, पार्टी हाँक्न एमालेमा लाखौं क्षमतावान युवा छन्, अब तपाईंले अवकाश लिएर आराम गर्नुपर्छ।’
अर्का एकजना कार्यकर्ताले ओलीलाई अनावश्यक धेरै अरूलाई गाली गर्दा पार्टी नै संकटमा परेको बताएकाा छन् । ‘एमालेका नेताहरूको थुतुनोबाट निस्केका गुइँठा, गोबर, छाउरा, तेली, लुसिफर, हु-हाको सरकार, देशी-विदेशी हस्तक्षेप आदि-इत्यादि जस्ता शब्दहरूले चुनावमा के कति कति योगदान गर्यो निर्मम समीक्षा गर्नुहोला’, उनले ओलीलाई सुझाउँदै भनेका छन् ।
ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाटै मात्र होइन, बाहिरबाट पनि उत्तिकै दबाब छ । जेन-जी युवा माजिद अन्सारीले राजीनामा गरेर एमालेलाई राहत दिन सुझाएका छन् । ‘राजीनामा गरेर एमालेलाई मुक्त गर्नुहोस् । अब आराम गर्नुहोस्’, उनी भन्छन्, ‘एमालेमा लाखौँ क्षमतावान युवाहरू छन् । एमाले हाँक्न सक्ने युवाहरु छन् । अब तपाईं आराम गर्नुहोस् ।’
ओलीकै गृहजिल्ला झापाका एमाले युवा नेता पर्वत भण्डारीले पार्टीलाई व्यापक रिफर्म गर्न अब उनको बिदाइ जरूरी भएको बताएका छन् । उनले युवामा नेतृत्व हस्तान्तरण गर्दै परिवर्तनकारी कदम चाल्न ओलीलाई सुझाएका छन्
‘तपाईंहरूले मुलुक र कम्युनिस्ट आन्दोलनलाई अथाह योगदान गर्नुभयो, त्यो इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ । अब देशले खोजेको परिवर्तनको चाहलाई महसुस गरेर पार्टीलाई व्यापक रिफर्म गरि नया पुस्ता (५० वर्षमूनि) मा नेतृत्व हस्तान्तरण गर्दै यो परिवर्तनकारी कदमको जश पनि लिनुहोस्’, उनले सुझाएका छन्, ‘अग्रज पुस्ताको सम्मान राख्ने जिम्मा युवाहरूको भयो । खाली नयाँ पुस्तालाई विश्वास गर्नुहोस, कम्युनिस्ट आन्दोलन सुम्पिने साहस गरिदिनुहोस ।’
एमालेकै अर्की नेतृ मेनुका पछाईले ओलीलाई अहिलेसम्मको राम्रा कामका लागि सम्मान व्यक्त गर्दै बिदा भइदिन अपिल गरेकी छन् । ‘एउटा सानो घेराभित्र सीमित भएर तमाम इमान्दार कार्यकर्तालाई पाखा लगाउनु भयो। समाज र जनताको मनोविज्ञानको हेक्का नराखी स्वार्थी समूहको रिपोर्टिङमा दंग परेर उट्पट्याङ अभिव्यक्ति दिइरहनु भयो, दम्भ देखाइराख्नु भयो, सुझाव दिनेलाई शत्रु सम्झिनु भयो’, उनी भन्छिन्, ‘त्यसको परिणाम आज हामी सबैले भोगनुपर्यो । अब आफ्नो सम्मानलाई कायम राख्न मार्गप्रशस्त गर्नुस्, यसैमा तपाईंको भलो छ बा !’

अहिले माथिल्लो नेतृत्वमा मात्रै होइन, तलैसम्मका कार्यकर्ताले पनि ओली बिदा हुनुपर्ने आवाज उठाइरहेका छन्। एमाले कैलालीका नेता डेजी पाण्डेले अब ओलीको बिदाइको विकल्प नभएको बताएका छन् ।
उनी ओलीले फेसबुक पेजमा आएका कमेन्ट पढेमात्रै कार्यकर्ताले आफ्नो बिदाइ चाहेको कुरा बुझ्ने तर्क गर्छन् । पाण्डे जनमतलाई कदर गरेर ओलीले एमालेबाट विश्राम लिनुपर्ने बताउँछन् ।
एमालेका एकजना कार्यकर्ता हेश ढुंगाना सरकार सञ्चालनसँगै पार्टी सञ्चालनमा पनि मनग्गे गल्ती भएका बताउँछन् । ‘केहीले तपाईंको बुढो र बिरामी शरीरलाई दुरुपयोग गरेर तपाईंको महिमामण्डली गरे । झ्याल बाहिर पनि हेर्न दिएनन् । तपाईं पनि ढोका बाहिर निस्किनु भएन । राति २ बजेसम्म चाकडीबाजबाटै घेरिएर रमाउनु भयो’, उनी भन्छन्, ‘यसो हुँदा आज देश यो अवस्थामा पुग्यो । तपाईंका दोष नहोलान् तर सरकार र पार्टीको मुखिया तपाईं नै भएकाले नैतिक जिम्मेबारी तपाईंकै हो ।’
उनले आन्दोलन र पार्टी जोगाउने भए तुरुन्त केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशन घोषणा गर्न पनि माग गरेका छन् । ‘पार्टी विधान संशोधन गरेकोमा माफी माग्नुस् । अब जो अध्यक्ष बने पनि २ कार्यकाल भन्दा बढी बन्नै नपाउने पुरानै विधान ब्यूँताउनुस् । अब आइन्दा कुनै राजकीय पदमा आँखा नलगाउने र पार्टीको अभिभावक बन्ने उद्घोष गर्नुस्’, उनी भन्छन्, ‘यसो गर्नुभयो भने तपाईंमाथि गरिने हरेक षडयन्त्रका विरुद्ध पार्टी कार्यकर्ता उत्रिनेछन् । नत्र मरेको शरीरलाई जुम्राले छोडे जस्तै छोड्दै जानेछन् ।’













प्रतिक्रिया