काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेल भइरहेका बेला केसीले सामाजिक सञ्जालमार्फत अम्पायरप्रति दिएको अभिव्यक्ति खेल भावनाविपरीत रहेको ठहर गर्दै क्यानले कारबाही गरेको हो।
संघका अनुसार केसीलाई एक खेल प्रतिबन्धसँगै १०० प्रतिशत म्याच शुल्कसमेत जरिवाना गर्ने निर्णय गरिएको छ।
क्यानले सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी खेलाडीलाई अनुशासनमा कायम राख्न यस्तो कदम चालिएको जनाएको छ।
प्रवक्ता छुम्बी लामाले जारी गरेको प्रेस विज्ञप्तिमा खेल भावना र अनुशासनको पालना सबै खेलाडीका लागि अनिवार्य रहेको उल्लेख गरिएको छ।
के भनेका थिए ?
करणले शनिबार सामाजिक सञ्जाल फेसबुकमा अम्पायरहरूप्रति चेतावनीसहितको भनाइ राखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने प्रश्न उनले गरेका थिए।
सामाजिक सञ्जालमा करणको यही भनाइपछि क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर लिखित रुपमै आपत्ति जनाएको थियो ।
करणले शनिबार नै सामाजिक सञ्जालको उक्त भनाइ हटाएर क्षमायाचना गरिसकेका छन् । तर, अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्रै नपुग्ने बताएपछि करणमाथि कारबाही चलाइएको हो ।
‘यसलाई हामीले गम्भीर विषयका रुपमा लिएका छौँ, खेलाडीले क्षमायाचना गरेरमात्रै पुग्दैन । क्यानले आवश्यक कारबाही गर्नेमा हामी विश्वस्त छौँ’, उनले भनेका थिए ।।
उता क्यानका प्रवक्ता लामाले खेलाडी र अम्पायरबीचको असमझदारीबारे क्यानले अध्ययन गरिरहेको बताएका छन् ।
उनले आईसीसीको खेलाडी आचारसंहिता, क्यानसँगको सम्झौतामा खेलाडीको आचारसंहिता र प्रधानमन्त्री कपको नियमभित्र रहेर म्याच रेफ्रीको रिपोर्टका आधारमा कारबाहीको निर्णय लिइएको बताएका छन् ।













प्रतिक्रिया