काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले इन्धन खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै यो व्यवस्था सरकारी कार्यालयहरूमा लागू भइसकेको छ ।
तर, चौबीसै घण्टा संवेदनशील रहनुपर्ने स्वास्थ्य क्षेत्रमा भने यो निर्णयले ठूलो बहस र अन्यौल सिर्जना गरेको छ । चिकित्सकहरुको हितका लागि यो उपयुक्त भएपनि यो निर्णयले सेवग्राही भने प्रत्यक्ष मारमा पर्ने देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार पूर्ण रूपमा सेवा बन्द गर्दा सोमबारदेखि शुक्रबारसम्म बिरामीको चाप अत्यधिक बढ्ने र व्यवस्थापन चुनौतीपूर्ण हुने निष्कर्ष निकालेको छ ।
मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीका अनुसार, अस्पतालबाट मिश्रित प्रतिक्रिया आएकाले वैकल्पिक उपाय खोजिँदैछ । मन्त्रालयले शुक्रबार एक निकाल्दै आइतबार पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र जनशक्ति हेरेर आइतबार ओपीडी सेवा दिनुपर्नेछ । त्यस्तै, आइतबार काम गर्ने कर्मचारीलाई साताको अन्य कुनै दिन सट्टा बिदा दिने व्यवस्था मिलाउनुपर्ने र प्रादेशिक अस्पतालहरूमा पनि सोही अनुसारको समन्वय गर्न आग्रह गरिएको छ ।
केही अस्पतालले लिए स्वनिर्णय
मन्त्रालयले स्पष्ट कार्यविधि बनाउँदै गर्दा केही ठूला अस्पतालहरूले भने आफ्नै ढंगले निर्णय गरेका छन् । स्वास्थ्य मन्त्रालयको निर्णय वीर अस्पताल, हेटौंडा अस्पताल लगायत केही अस्पतालहरुले कार्यान्यन गर्ने जानकारी दिएका छन् । वीरले चैत २७ मा सूचना प्रकाशन गरी आइतबारदेखि शुक्रबारसम्म ९ देखि ५ बजेसम्म सबै सेवा दिने जनाएको छ ।
त्यस्तै हेटौंडा अस्पतालले पनि आइतबार पाँच घण्टा मात्रै भए पनि सेवा दिने निर्णय गरेको छ । अस्पतालले आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म ओपीडी सेवा खुलाउने र प्रशासन भने बन्द गर्ने निर्णय गरेको हो । आइतबार काम गर्ने चिकित्सकलाई सट्टा बिदा दिने अस्पतालले जनाएको छ ।
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालमा भने आइतबार सेवा सुचारु हुने भएको छ । चिकित्सकदेखि सम्पूर्ण कर्मचारीलाई सातामा दुई दिन बिदा दिँदै आएको पाटन अस्पतालले आइतबार सेवा सुचारु राख्ने बताएको हो ।
तर त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालले शनिबार र आइतबार दुई दिन नै बिदा दिने निर्णय गरेको छ । अन्य दिनमा भने कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म तोकिएको छ, जसमा ओपीडी र शल्यक्रिया सेवा सञ्चालन हुनेछन् ।
त्यस्तै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य मन्त्रालयको निर्णय नमान्ने भएको छ । प्रतिष्ठानले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । चैत २७ मा सूचना प्रकाशन गरी जनशक्ति अभावका कारण आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसक्ने जनाएको हो ।
नेपाल चिकित्सक संघले सरकारले आइतबार सार्वजनिक बिदा कायम गरे पनि अस्पतालहरूमा सोही दिन ओपीडी सेवा सञ्चालन गर्न दिएको निर्देशन अस्वीकार गरेको छ ।
संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पार्दै सरकारलाई निर्णय फिर्ता लिन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सुचारु राख्न निर्देशन दिएपछि संघले शुक्रबार प्रेस विज्ञप्ति निकाली उक्त निर्णयको विरोध गरेको हो ।
संघका महासचिव डा. सञ्जीव तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा थप जनशक्ति व्यवस्थापन नगरी तत्काल आइतबार ओपीडी सेवा सञ्चालन गर्न सम्भव नभएको उल्लेख छ । सरकारले इन्धन बचतका लागि दुई दिन सार्वजनिक बिदा दिएको भए पनि ओपीडी समय थप्दा उल्टै इन्धन खपत बढ्ने संघको तर्क छ ।
संघले चिकित्सकहरू हाल ९–५ को नियमित ड्युटीबाहेक अनुकूल, राउण्ड र आकस्मिक सेवा चौबीसै घण्टा दिइरहेको अवस्थामा थप कार्यबोझ थोपर्नु अन्यायपूर्ण हुने जनाएको छ । साथै, सट्टा बिदा व्यवस्थापन विगतमा प्रभावकारी रूपमा लागू नभएकाले फरक–फरक दिन बिदा दिँदा बिरामीमा अन्योल सिर्जना भई सेवा प्रवाह प्रभावित हुने चेतावनी दिएको छ ।
संघले स्वास्थ्य संस्थामा उपलब्ध जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ ।
यस्तै, न्यून सेवा सुविधा हुँदाहुँदै चिकित्सकहरूलाई जबरर्जस्ती अतिरिक्त सेवामा खटाउन खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ । जबरर्जस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए त्यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्ने संघको भनाइ छ ।
विज्ञको चिन्ता र सुझाव
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती यो नीति कार्यान्वयनका लागि केही शर्तहरू महत्वपूर्ण रहेको बताउँछिन् । उनका अनुसार पहिले १० देखि २ बजेसम्म मात्र ड्युटी हुने गरेकोमा अहिले ९ देखि ५ बजेसम्म बनाइएको छ ।
यदि चिकित्सकहरू बिहान ९ बजे आएर साँझ ५ बजेसम्म बस्छन् भने मात्र यो नियमको सान्दर्भिकता रहन्छ । तर नियमको पालना कडा रुपमा भएन भने सेवाग्राही मारमा पर्ने उनको बुझाइ छ ।
त्यस्तै काठमाडौँ जस्ता सहरमा निजी अस्पतालका कारण खासै असर नपरे पनि दुरदराजका ग्रामीण भेगमा जहाँ एउटा मात्र सरकारी अस्पताल वा स्वास्थ्य चौकी छ, त्यहाँ दुई दिने बिदाले बिरामीलाई ठूलो समस्यामा पार्न सक्ने उनले बताइन् ।
ओपीडी, नियमित जाँच र गर्भवती सेवा प्रभावित हुन नदिन पालो प्रणाली लागू गर्नुपर्ने डा. उप्रेतीको सुझाव छ । सामान्य रुघाखोकी वा साना घाउका लागि पनि वीर अस्पताल धाउने प्रवृत्तिका कारण वास्तविक बिरामीले पालो नपाएको उनको तर्क छ ।
‘सामान्य उपचार स्वास्थ्य चौकीमै हुने वातावरण बनाउनुपर्छ, जसले गर्दा ठूला अस्पतालमा आइतबारको बिदाले खासै असर नगरोस्’ उनले भनिन् । सरकारको यो नीति आफैँमा नराम्रो नभए पनि स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यसलाई हुबहु लागू गर्न चुनौतीपूर्ण देखिने डा. उप्रेती बताउँछिन् ।
ओपीडी, नियमित जाँच, र गर्भवती सेवा जस्ता आधारभूत आवश्यकतालाई पालो प्रणालीबाट सम्बोधन नगर्ने हो भने सेवाग्राहीहरू प्रत्यक्ष मारमा पर्ने निश्चित छ । त्यसैले, स्वास्थ्य क्षेत्रका लागि छुट्टै र स्पष्ट कार्यतालिका ल्याउनु अहिलेको आवश्यकता भएको उनले औंल्याएकी छन् ।













प्रतिक्रिया