अनि एकल लिडमा आँट गरेकी आँचल… « Khabarhub

अनि एकल लिडमा आँट गरेकी आँचल…


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक दयाहाङ राई र अहिलेका सबैभन्दा महँगा नायकका रुपमा चिनिएका अनमोल केसीसँग स्क्रिन सेयर गर्ने थोरै कलाकारको सूचीमा समावेश छिन् ।

अनमोल र दयाहाङ दुवैले चयन गर्ने स्क्रिप्टको धार फरक छ । अनमोल लभर ब्वाइको भूमिकामा देखिने चकलेटी नायक हुन् । दयाहाङ बढी यथार्थवादी फिल्ममा अभिनय गर्छन् ।

यी दुई नायकको फिल्ममा धार ठीक विपरीत छ जस्तो देखिन्छ । अनमोल सहरिया ‘रिच किड’को पात्र भएको फिल्म बढी गर्छन् । दयाहाङ ग्रामिण पात्रको भूमिकामा देखिन्छन् ।

यी दुईसँग स्क्रिन सेयर गर्न सहर र गाउँको खाडल पुर्न सक्ने नायिकाको आवश्यकता हुन्छ । अर्थात्, अभिनय, पात्र निर्माणसँगै सुन्दरता । यी कुरा फिट भएकी नायिका हुन् आँचल ।

२०७२ सालमा आँचलले फिल्म ‘नाइँ नभन्नु ल ४’बाट ठूलो पर्दामा डेब्यू गरिन् । त्यसयता उनले वर्षमा एउटा फिल्ममात्रै गर्दै आएको पाइन्छ ।

तर, ०८१ सालमा आँचलले एकै वर्षमा तीन फिल्म दिइन् । उनले १० वर्षे करिअरमा सबैभन्दा बढी फिल्म दिएको वर्ष यही हो ।

गत वर्ष उनले ‘जेरी अन टप’ मात्रै गरिन् । अर्थात्, ०८१ को व्यस्तलाई उनले ०८२ मा निरन्तर दिइनन् ।

०८२ मा फिल्मको कम फिल्म गर्नुको कारणबारे आँचल भन्छिन्, ‘अहिले चाहिँ मलाई समग्रमा फिल्म राम्रो हुनुपर्छ भन्ने लाग्छ । पहिला चिनिन फिल्म गरिन्थ्यो ।
अब मलाई दर्शकले चिनिसक्नुभयो जस्तो लाग्छ । अब मलाई राम्रो कामका कारण दर्शकले चिन्नुपर्छ जस्तो लाग्दैछ । त्यसैले कम फिल्म गरेँ ।’

१० वर्षे अनुभवले परिवर्तन

हिट म्युजिक भिडियो र फिल्मको व्यवसायिक सफलताबाट आँचलले ठूलो पर्दामा छोटो समयमै स्थापित गरिन् । अर्थात्, उनी मास अडियन्समा नायिका बनेर चिनिइन् ।

‘एक मुठ्ठी बादल’ प्रदर्शनको संघारमा रहँदा उनीसँग आफू शीर्ष नायिका भएको एक दर्जन फिल्म प्रदर्शनमा आएको अनुभव छ ।

यस अनुभवले आफूलाई फरक कोणबाट सोच्न बाध्य बनाएको उनले सेयर गरिन् ।

सुरुमै भनिन्, ‘म पहिला स्क्रिप्टबारे गहन भएर सोच्दिन थिएँ । आफूले निर्वाह गर्ने चरित्र राम्रो भए फिल्म राम्रो हुन्छ भन्ने बुझाइराख्थेँ । मलाई आफ्नो पात्र राम्रो भए हुन्थ्यो । अब भने फिल्म राम्रो हुनुपर्छ भनेर चेतनासहित स्क्रिप्ट चयन गर्ने भएकी छु ।’

पहिला स्क्रिप्ट चयन गर्दा फिल्ममा अभिनय गरेर दर्शकसँग चिनिने सोचाइ राख्ने आफू अब राम्रो काम गरेर दर्शकसँग पुग्ने सोचाइमा रहेको आँचल बताउँछिन् ।

नायिका बनेर हिरोको ग्रर्लफ्रेन्ड र श्रीमती जस्ता भूमिकामा मात्रै सीमित हुनुहँदैन भन्ने सोच उनमा आएको छ । आफ्नो प्रभाव रहने भूमिकामात्रै गर्ने सोचमा उनी पुगेकी छन् ।

यो कन्फिडेन्ड उनलाई विगतको कामले विकसित प्रोफाइलले दिएको हो । उनको कन्फिडेन्ट छ, ‘पहिला म डिमान्ड गर्ने पोजिसनमा थिइनँ । चयन गर्ने दायरा साँघुरो थियो । मलाई नायिकाका रुपमा हिरोको फिमेल पाटनर मात्रै बिन्दिनँ भने अडान राख्ने विकल्प थिएन । अबचाहिँ मैले डिमान्ड गर्न सक्ने मिहिनेत गरेँजस्तो महसुस भएको छ ।’

‘लिड क्यारेक्टरको लोभ पलाएको हो ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यो प्रश्न केही सत्य छ । अबचाहिँ मैले भनेको कुरा मेकरहरूले गम्भीर भएर सुन्नुहुन्छ जस्तो लाग्छ । अनि यो अवस्थामा मैले आफूलाई प्रभावकारीरुपमा फिल्ममा प्रस्तुत गर्नैपर्छ भन्ने मेरो बुझाइ हो ।’

फिमेल लिड क्यारेक्टर रहेको फिल्म ‘एक मुठ्ठी बदाल’मा अनुबन्ध हुनुको कारणमा पनि यस बुझाइको प्रभाव रहेको उनको भनाइ छ । थप्छिन्, ‘यो एक मात्रै र निर्णायक कारण भने होइन ।’

‘एक मुठ्ठी बादल’

जेठ १ बाट प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’ आफू अनुबन्ध हुनुको प्रमुख कारणबारे आँचल भन्छिन्, ‘आममानिसलाई समस्या नलाग्ने समस्याको कथामा यो फिल्म बनेको छ । यही कुराले मलाई स्क्रिप्टले आकर्षित गर्‍यो ।’

यो फिल्मले ‘समस्या नलाग्ने’ मध्यम वर्गीय परिवारका समस्याको यथर्था उजागर गर्ने उनको दाबी छ ।

‘गरिबी र दुःखको रुवाबासीको कथा होइन । मध्यम वर्गको कथा हो,’ फिल्मबारे उनी भन्छिन्, ‘मध्यम वर्गका यस्ता समस्या यो फिल्म बनेको छ, जस्तो–मध्यम वर्गको मान्छेले आफूले चाहेको जस्तो लुगा लगाउन पाएको हुँदैन, त्यो उसको समस्या हो । तर, आमरुपमा यो समस्या होइन । भोग्नेलाई समस्या हो ।’

मध्यम वर्गीय परिवारमा हुर्किएकाले आफूले महसुस गरेकै कतिपय घटना फिल्ममा समावेश भएकाले अनुबन्ध भएको उनी बताउँछिन् ।

भन्छिन्, ‘यो फिल्म एउटा फरक सोचाइमा र गहन विषयमा बनेको छ । मध्यम वर्गीय परिवारको मानसिक द्वन्द्व प्रभावकारीरुपमा देखाइएको छ ।’ उनका अनुसार यो फिल्म एक दिनको घटना र उतारचढावमा बनेको हो ।

महिला टिमसँगको अनुभव

‘एक मुठ्ठी बादल’को शीर्ष कलाकारदेखि, निर्देशक, लेखक, मुख्य सहायक निर्देशक र सिनेमोटोग्राफर लगायत महत्त्वपूर्ण जिम्मेवारीमा महिला नै छन् । यसरी महिला हाबी भएका टिममा नेपालका लागि शून्यः प्राय नै हो ।

आँचलको अनुभव छ, ‘सेटमा पुरुषहरूसँग काम गर्नु सामान्य भइसकेछ । पुरुषहरूको टिममा काम गर्ने बानी नै भएको रहेछ । यतिसम्म कि यो टिममा किन महिला छैनन् ? भनेर सोचिएको पनि रहेनछ । हामीमा यो मानसिकता विकास भइसकेको रहेछ ।’

महिला टोली भएकाले स्वतन्त्र भएर काममा केन्द्रित हुन पाउनु नै आँचलको फरक अनुभव हो ।

‘अन्य फिल्ममा पुरुष कलाकारहरू निर्देशकसँग कुरा गरिरहेको, रमाइलो गरिरहेको देखिन्थ्यो । एउटा हिरो निर्देशकको कोठामा गएर मज्जाले कुरा गर्न सक्थ्यो,’ उनी भन्छिन्, ‘हामी महिला भएकाले त्यो सुविधाबाट टाढा रहनुपर्‍थ्यो । यही कुरा गर्न नायिकालाई नैतिक संकट पथ्र्यो । मैले निर्देशकसँग बुझ्नुपर्ने कुरा यस फिल्ममा स्वतन्त्र बुझ्न पाएँ । उहाँ बसेकै ठाउँमा गएर सोध्न पाएँ । त्यसको कारण उहाँ महिला हुनुहुन्थ्यो ।’

महिलाको भावना र मनोदशा महिला निर्देशकले नै उचित रुपमा उतार्न सक्छन् भन्ने महसुस उनलाई यो फिल्मको अनुभवले गराएको छ ।

भन्छिन्, ‘मलाई यो फिल्ममा देखाइएको महिलाको भावना र मनोदशा अन्तरआत्माबाट लेखिएको जस्तो लागेको छ । कारण बुझ्दा महिला लेखक र निर्देशक भएरै हो । महिलाको पीडा वा भावना महिलाले नै बुझ्छन् । किनभने महिलाले महसुस गर्न सक्छन्, पुरुषले अध्ययन मात्रै गर्ने हो । पुरुषले महिलाको भावना वा पीडा पर्दामा उतार्नै सक्दैनन् भन्ने चाहिँ होइन । बुझाइमा केही फरक हुछ, त्यसले प्रभाव ठूलो पर्नसक्छ भनेको मात्रै हो ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ५८ बजे

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक