काँक्रेविहार– सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो ।
सोही खण्डमा बाँकी रहेका १४ पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । सडक हस्तान्तरण गरेको सात वर्षपछि यो सडक खण्डको ५६ किमी कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । बाँकी ठाउँमा काम गर्न ठेक्का लागे पनि काम अझै सुरु भएको छैन।
जाजरकोटको नलगाड–१२ बाट डोल्पाको दुनैसम्मको ६२ किलोमिटर निर्माण बाँकी रहेका १४ वटा पुल निर्माण गर्न योजना आयोगले सहमति दिएको छ । यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ वटा पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेको थियो ।
स्रोत सुनिश्चित भएसँगै अब अन्य कामहरू सुरु हुने योजना प्रमुख नरेश केसरीले जानकारी दिए । तीस मिटरभन्दा कमको पुलको डिजाइन स्वीकृत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले गर्दछ । त्योभन्दा माथिको लागि माथिल्लो निकायमा पढाउने गरिन्छ ।
भेरी कोरिडोरभित्रका फूलबारीखोला पुल, चिसापानीखोला पुल, खहरेखोला, घट्टेखोला, मनकाखोला, रिजिगार, उसुमखोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्ली गाड, खोरखोलामा पुल निर्माण गर्न सहमति दिइएको हो तर यही सडकखण्डमा छ वर्षदेखि पाँचवटा पक्की पुल अलपत्र पर्दै आएका छन् ।
हाल यो सडकखण्डको नामकरण भेरी कोरिडोर सडक योजना राखिएको छ । यो कोरिडोरको कुल लम्बाइ ३१० किमी रहेको छ । जाजरकोट खलङ्गाको पासागाडदेखि नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको काम यति बिल्ड्रसमार्फत भइरहेको छ ।
सुर्खेतबाट डोल्पाको अन्तिम विन्दुअर्थात् नेपालको चीनको सिमाना मरिमसम्म ३१० किमी रहेको भेरी कोरिडोर सडक योजना हाल जाजरकोटको अन्तिम विन्दु तल्लुसम्म काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम विन्दु मरिमअर्थात् चीनको सिमानासम्म पुगेर यो सडक पूरा हुन्छ । भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको योजना प्रमुख केसरीले बताए।
कहाँकहाँ अलपत्र छन् त पुल ?
भेरी कोरिडोरमा (जाजरकोट–डोल्पा) छ वर्षदेखि अलपत्र परेका पुल कहिले निर्माण हुने हो कुनै अत्तोपत्तो छैन । छ वर्ष अगाडि लागेको पक्की पुलको ठेक्काको काम नहुँदा यस क्षेत्रका नेताले आलोचित हुनुपरेको छ ।
भेरी कोरिडोर जाजरकोट–डोल्पाको दुनै सडकखण्डको ११८ किमी सडकखण्डको ५६ किमीभित्र सडक कालोपत्रेको काम अन्तिम चरणमा पुर्याएपछि सँगसँगै लागेको पुलको ठेक्का भने कुनै काम भएको छैन । योजना प्रमुख केशरीका अनुसार पाँचमध्ये तीन वटा अर्कोलाई निर्माण गर्न दिइने र बाँकी दुई क्याराभानले नै निर्माण अन्तिम सहमति हुन लागेको बताए।
उक्त क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । यो १८ करोड ४३ लाख ४३ हजारमा ठेक्का लिइएको थियो । त्यस्तै उक्त जेभीले सोही मितिमा भेरी कोरिडोरकै जाजरकोटको नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा–८ को मैदेखोला, वडा–११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यो दोस्रो ठेक्का रु १३ करोड ५४ लाखमा यो ठेक्का सम्झौता भएको थियो।
यी पुलहरू भेरी कोरिडोरका लाइफलाइनका रूपमा रहेका छन् । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ । खदाङको पुल विवादका कारण अझै सुरु हुन सकेको छैन । एयपी एमआरपी पुलचोक जेभीले ठेक्का लिएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपलचौरस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम करिब पूरा भएको छ ।
हाल नेपालगञ्ज, सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकाममा यातायातका साधन पुग्ने गरेका छन् । जाजरकोटको तल्लुसम्म कालोपत्रे गरेको सडकमा र बाँकी रुकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सडकमा गुड्दै डोल्पाको सदरमुकाम दुनैसम्म सवारीसाधन पुग्ने गर्छन् । पछिल्लो समय डोल्पामा रहेका पर्यटकीयस्थलको भ्रमणमा जाने पर्यटकको चाप ठूलो मात्रामा रहेको पाइन्छ ।
जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिरुपाकोटसम्मको सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको दुई ठेक्कामा एउटाको काम सुरु भए पनि अर्को अझै सुरु हुन सकेको छैन । योजना प्रमुख केशरीले दिएको जानकारीअनुसार ७४ करोडमा उक्त ठेक्का लागेको छ ।
क्याब निर्माण, जावलाखेलले ठेक्का पाएको छ । बयालीस किमी सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेको हो । बाँकी छलगाडबाट मरिमसम्म १२० किमी सडक रहेको छ । बयालीस किमी कालोपत्र गर्नका लागि गत असोज २ गते सम्झौता भएको छ भने २०८५ असोज १ गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
दुनै–लासिक्याप सडकखण्ड निर्माणमा ढिलाइ
भेरी कोरिडोरकै डोल्पाको सदरमुकाम दुनै–लासिक्याप खण्डमा ठेक्काको काम भइरहेको छ । दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुगेको भन्दै आलोचना चर्को भएपछि कामले गति लिएको हो । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको १०० किमीमध्ये २५ किमी कच्ची सडक कटान गर्नुपर्ने छ ।
दुनै–लासिक्याप खण्डको काम छिटो भएमा सोभन्दा माथिल्लो भागमा नेपाली सेनाले जिम्मेवारी लिएको छ । अहिले २५ किमी सडकखण्डभित्र कटानको कामलाई तीव्रता दिइएको छ । माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किमीमध्ये नेपाली सेनाले ४० किमी कटानको काम गरिसकेको आयोजनाले जनाएको छ ।
दुनै–लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य–श्रेया–शान्ति देवी जेभीको म्याद २०८२ पुस १६ गतेसम्म म्याद थियो । २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम छिटो सक्नुपर्ने बाध्यता रहेको छ ।
सेनाले निर्माण गर्ने खण्डभन्दा दुनैबाट लासिक्यामअन्तर्गतको सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने पूर्वमन्त्री धनबहादुर बुढाले बताए। भेरी कोरिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको उनको भनाइ छ ।
नेपाली सेनाले भेरी कोरिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण २०६५ सालमा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले ११८ किमी सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । दुनैबाट चीनको सिमामा रहेको मरिम नाकासम्मको एक सय किमीमध्ये नेपालतर्फ ४० किमी निर्माण भइसकेको छ भने दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ ।
देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्ता दिनसम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । दुनैबाट धोसम्मको ५० किमी खण्डमा पर्ने चट्टान विस्फोट गराउनुपर्ने आयोजनाको भनाइ छ ।
डोल्पा जडीबुटीको भण्डार भएकाले त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेशसहित मुलुकको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको छ ।














प्रतिक्रिया