‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’ « Khabarhub

अन्तर्वार्ता

‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’

रास्वपाका सांसदहरू बोल्न नसक्नु उदेक लाग्दो



बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी एक्ली महिला सांसद थापालाई पहिलो पटकमै पार्टीले ठूलो जिम्मेवारी दिएको छ। उनले गत फागुन २१ गतेको निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ बाट जित निकालेकी हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा ‘नेपालले पनि भारतको भूभाग मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि सबैभन्दा पहिले बासनाले नै नियमापत्ति गरेकी थिइन्। प्रधानमन्त्रीले माफी मागेर त्यो वाक्य सदनको रेकर्डबाट हटाउनुपर्ने माग उनैले राखिन्। तर अहिले पनि त्यो प्रधानमन्त्रीको त्यो विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग राखिरहेका छन् । यतिमात्रै होइन, परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार सदनमा उभिएर जवाफ पनि दिए। तर त्यो जवाफ आफूहरूका लागि स्वीकार्य नभएको भन्दै निरन्तर प्रतिनिधिसभा विरोध भइरहेको छ।

प्रमुख सचेतक थापा नेपाली जनतासँग प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडानमा कायमै छिन्। लोकप्रिय मत ल्याएर विजयी प्रधानमन्त्रीले जनतालाई निराश बनाउन नहुने उनको तर्क छ। अर्कातिर बहुमत ल्याएको पार्टीले पनि जनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई गम्भीर रूपमा लिनुपर्ने थापाको भनाइ छ।

‘प्रधानमन्त्रीको भनाइलाई १८१ जना सांसदले नै समर्थन गर्नु दुःखदायी र गम्भीर संकेत हो’, टिप्पणीसहित उनी भन्छिन्, ‘प्रधानमन्त्रीले त आफ्नो मति बिगार्नु नै भयो, त्यहाँभित्रका १८१ जना सांसद पनि देश र जनताप्रति किन उत्तरदायी हुनुभएन ? यो कुराले हामीलाई पिरोलेको छ। उहाँको भनाइ रेकर्डबाट हटाइयोस् भनेका थियौँ, तर उहाँहरूमा अटेरीपन र महिमत्ताका व्यवहार हुँदा यो सबै हुन गयो।’

थापा सदनमा प्रधानमन्त्रीको भनाइले सिमानाका जनतालाई हरेक दिन पिरोलेर मुटु दुखाइरहेको बताउँछिन्। राष्ट्रियता जोगाउनु कांग्रेसको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उनी प्रधानमन्त्री र सरकारको जवाफ आफूहरूले मागिरहने स्पष्ट पार्छिन्। प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिए थप कुरालाई अगाडि बढाउने तयारीसमेत अन्य प्रतिपक्षी र कांग्रेसले गरेको थापाको भनाइ छ। उनी मतदाताले बहुमत दिएर पठाएको पार्टी र लोकप्रिय मत दिएर जिताएको प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिँदा तिनको अपमान हुने बताउँदै सच्चिन गम्भीरतापूर्वक आग्रह गर्छिन्।

‘भोलि कस्तो प्रधानमन्त्रीलाई जिताएर पठाएछौँ भन्ने आत्मग्लानी जनताले गर्नु नपरोस्। अझै केही बिग्रिएको छैन, प्रधानमन्त्रीले माफी माग्नुस्, आफ्नो अभिव्यक्ति हटाउन लगाउनुहोस्’, थापा भन्छिन्, ‘यसमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि गम्भीर हुन जरुरी छ । नेपाली जनताले सबै कुरा टुलुटुलु हेरेर बसिरहेका छन्। उहाँहरू देशलाई कसैले कमजोर बनाएको अभिव्यक्ति सहन सक्दैनन्।’

हामीले उनै कांग्रेस प्रमुख सचेतक थापासँग प्रधानमन्त्री शाहको भनाइपछिको तरङ्ग, सरकारको व्यवहार र प्रतिपक्षीको तयारीलगायतमा केन्द्रित रहेर कुराकानी गरेका छौँ।

लामो समय संसद् अवरुद्ध गरे पनि प्रधानमन्त्रीलाई जवाफदेही बनाउन सक्नुभएन। परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमै चित्त बुझाउनुभएको हो ?

हामीले उहाँको भनाइमा कुनै हिसाबले चित्त बुझाएका छैनौँ। निरन्तर प्रधानमन्त्रीको जवाफ माग्दै सरकारलाई जवाफदेही बनाउन खोजेका छौँ। प्रधानमन्त्री हामीलाई चाहिएको होइन, सरकारको जवाफ चाहिएको हो। आज पनि सीमाको विषयमा प्रधानमन्त्रीले बोलेकोा नेपालप्रति धेरै नजर तेर्सिएका छन्। हामीलाई नदिए पनि नेपाली जनतालाई प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीलाई जवाफ चित्त बुझेको छैन, निरन्तर खोजीमा छौँ। प्रधानमन्त्रीज्यूले अटेरी गरे मान्नेवाला छैनौँ।

तपाईंहरूले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गर्नुभयो ? उहाँले के भन्नुभयो ?

प्रधानमन्त्रीज्यूले किन अटेरी गर्नुभयो, त्यो त उहाँलाई नै सोध्नुपर्छ। तर रास्वपा सभापति लामिछानेज्यूको पनि कुरा स्पष्ट रूपमा आएको छैन। उहाँले ‘प्रधानमन्त्रीज्यूले त्यसो भन्न खोजेको होइन’ भन्नुहुन्छ। त्यसो भन्न खोजेको हो कि होइन भन्ने कुरा त छर्लङ्गै संसद्को रेकर्डमा छ। वार्ता गर्दा परराष्ट्रमन्त्रीज्यूले यसको जवाफ दिनुहुन्छ भन्नुभएको थियो। हामीलाई के लाग्यो भने परराष्ट्रमन्त्री पनि सरकारकै मान्छे हो। सभापति लामिछानेले भन्नुभएको थियो, ‘हामी उहाँको स्टेटमेन्ट ल्याएर कुरा गर्छौँ, चित्तबुझ्दो जवाफ दिनुभयो भने ठिकै छ। होइन भने त यो बजेटमा पनि छलफल गर्नुपर्ने थियो। सदनको कामकारबाही लामो समय रोक्नु पनि हुने थिएन।’

त्यसैले परराष्ट्रमन्त्रीज्यूको जवाफ भएन भने प्रधानमन्त्रीले नै दिनुपर्छ भन्ने हिसाबले लागेका थियौँ। हामीले हरेक दिन प्रधानमन्त्रीको स्पष्टीकरण मागिरहेका छौँ। हरेक दिन आपत्ति गरेरै, ढ्यापढ्याप गरेरै बोलिरहेको यहाँहरूले देख्नुभएकै होला। प्रधानमन्त्रीज्यूले देख्नुभएको छ कि छैन, त्यो हामीलाई थाहा भएन। उहाँ एकदमै धेरै सामाजिक सञ्जालको प्रयोगकर्ता हो।

समग्रमा भन्नुपर्दा, हामीचाहिँ सदन अवरुद्ध गरौँ, सदनमा जनताको कुरा नसुनौँ भन्ने पक्षमा छैनौँ। कति आकस्मिक समय छ, जनताका कुरा त्यहाँ राख्नुपर्नेछ। त्यसकारण सधैँ अवरुद्ध गरेर बस्नुभन्दा उहाँको उत्तर मागिरहन्छौँ। कहिलेसम्म जनताप्रति जिम्मेवार हुनुहुन्न, त्यो उहाँको कुरा हो। जिम्मेवार भएर सदन नै अवरोध गर्नु हुँदैन भनेर अगाडि बढेका हौँ। तर हामी उहाँको जवाफको खोजीमा लागिरहन्छौँ। देशको लोकप्रिय प्रधानमन्त्रीले कहिलेसम्म जवाफ दिनुहुन्छ, हेरौँला।

प्रधानमन्त्रीज्यूले विपक्षीलाई नटेरेको कि जनतालाई नै नटेरेको तपाईंलाई महसुस भयो ?

प्रधानमन्त्रीज्यूले प्रतिपक्षीलाई टेर्नुपर्ने कुनै आवश्यकता छैन। उहाँले जनतासामु बोलेका कुरा पुष्टि गरेर देखाइदिनुस्, पुष्टि गर्न सक्नुहुन्न । अब नै माफी मागिदिनुस्। प्रधानमन्त्रीज्यू किन टेर्नुहुन्न भन्ने विषय हामीलाई थाहा छैन। उहाँले किन टेर्नुभएन भन्ने कुरा सत्तापक्षसँग सोध्नुपर्छ। सत्ता पक्ष उहाँहरूले किन प्रधानमन्त्रीज्यूलाई सदनमा उपस्थित गराउन सक्नुभएको छैन के कारणले हो ? हामीले प्रधानमन्त्री अब सदनमा खोज्दैनौँ उहाँहरूको स्पष्टीकरण खोज्छौँ । सरकारमार्फत् स्पष्टीकरण खोज्छौँ। यो हामीले त दिनहुँजसो प्रधानमन्त्री खोइ, चाहियो भनेर अगाडि बढेको अवस्था छ । यो पटक्कै राम्रो भएन। प्रधानमन्त्रीले त आफ्नो मति बिगार्नु नै भयो, त्यहाँभित्रका १८१ जना सांसद पनि देश र जनताप्रति किन उत्तरदायी हुनुभएन ? यो कुराले हामी सबैलाई पिरोलेको छ ।

अस्ति हाम्रो संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले पनि भन्नुभयो, उहाँहरूले किन मुखमा कालो टेप लगाएर राष्ट्रियताको विषयमा चुप बस्नुभयो ? तपाईं आफैँ विचार गर्नुहोस्, राष्ट्रियता अखण्डता र सर्वसत्ताको विषयमा १८१ जना सांसदहरूले प्रधानमन्त्रीले नेपालको भारत नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने कुरालाई समर्थन जनाउनु कहाँसम्मको जायज हो ? जनताले उहाँलाई दुईतिहाइ मत दिएर विजयी बनाउनुभएको छ। उहाँहरूलाई हामी सम्मान गर्छौँ, जनताको अभिमतको कदर गरेरै हिँडेका हौँ। तर १८१ जना सांसदले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिमा समर्थन जनाएको देख्दा मलाई एकदमै मन दुखेको छ। सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने व्यक्तिहरूलाई हाम्रो भन्नु केही छैन।

नेपाली जनताले उहाँहरूको भूमिका स्पष्ट हेरिरहनुभएको छ। प्रधानमन्त्रीको राष्ट्रघाती भनाइप्रति १८१ जना सांसदले समर्थन जनाउनु विडम्बना र दु:खद हो। उहाँहरू हामी देश बनाउन आएको राष्ट्रियता जोगाउन आएको भन्नुहुन्छ तर नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने प्रधानमन्त्रीको भनाइलाई समर्थन जनाउनु कहाँसम्मको राष्ट्रघाती कुरा हो तपाईंहरू आफैँ विचार गर्दिनू ।

अहिले सीमा विवादका कारण झडपको अवस्था पनि आइरहेको छ । यसबारे जानकारी छ ? कसरी अगाडि बढ्ने तयारीमा हुनुहुन्छ ?

उहाँहरू सत्तापक्षमा हुनुहुन्छ उहाँहरुलाई जनताले बहुमत दिएर पठाउनुभएको छ। म फेरि पनि भन्छु उहाँहरुले जनताको आवाज सुनिदिनुहोस्। काठमाडौँमा बोलेको कुराले सिमानाका जनतालाई कति पिरोलेको छ, त्यो १८१ जना सांसदले महसुस गरिदिनुस्। बोल्नेलाई त सजिलो होला तर सिमानाका नेपाली दाजुभाइ दिदीबहिनीको मुटु कति दुखेको र काँपेको होला ? त्यो कुरा हेरिदिनुस् । हामी सदनमा कमजोर हौँला तर राष्ट्रियताको मुद्दा प्रतिपक्षीको मात्रै होइन, यो समग्र देशको हो। हामीले बोलिरहेका छौँ, सचेत गराएका छौँ। उहाँले कहाँसम्मको अटेरी गरिरहनु भएको छ । मलाई दया लागेर आउँछ। जुन वक्तव्य प्रधानमन्त्रीले दिनुभयो, जसले गर्दा आज यो स्थिति आएको छ । यो हाम्रो पार्टीले त बारम्बार स्पष्टीकरण मागिरहेको छ।

उहाँहरूलाई पनि सजिलो हुन्छ, भोलिको पिढीले यो वक्तव्य नसुनुन् । मेरो देशको प्रधानमन्त्रीले यस्तो भनेको थियो नभनुन् । त्यतिबेलै उहाँले बोल्दा बोल्दै मै नियामतत्ति गरेको त्यही कारण हो । प्रश्न उठाएको हो, यो हटाइयोस् भनेर, तर उहाँहरूको एकदमै अटेरी र महिमत्ता व्यवहार देखाउनु भयो । प्रधानमन्त्रीज्यू लोकप्रिय मत ल्याएर निर्वाचित हुनुभएको व्यक्ति हो। जनताले उहाँलाई अत्यधिक माया गरेका छन्, यो माया नगुमाउनुस् भन्ने मेरो प्रार्थना हो। त्यसकारण मैले यो कुरा राखेको थिएँ, तर उहाँले अटेरी गर्नु भयो । अर्काको कुरा नसुन्ने मानसिकताले उहाँ फस्नुभयो। उहाँले जरुरी ठान्नुभएको छैन, तर हरेक सीमामा उहाँका कारण समस्या उत्पन्न भएको छ । उहाँहरूले यसलाई सजिलो रूपले लिनुभए फेरि पनि भन्छु, उहाँलाई नेपाली जनताले माफी गर्दैनन् ।

तपाईंहरूको विश्लेषण सरकार कुन बाटोमा जाँदैछ ?

सरकारले जनताको आवाज सुन्नुपर्ने हो तर सुनेको छैन। सदन चलाउन नजानेको हो कि बोल्न नजानेको हो कि आफूले बोलेको कुरा गलत भए पनि गलत भयो भन्न नजानेको हो, यो विश्लेषण उहाँहरूले नै गर्दिनुहोला। सरकारलाई अगाडि बढाउन उहाँहरूसँग अनुभव नभएको जस्तो लाग्यो । अनुभव पहिलो चरणमा हुँदैन, तर मित्रहरूको सहयोग लिनुपर्छ ।

सरकार दुई महिना पूरा भएको छ । उहाँले गलत बाटो अपनाउनु भएको छ, सँच्चिनुहोस् अझै पनि मौका छ। हामीले सच्याउन बल गरि नै रहेका छौँ। भोलि जनतालाई पनि हामीले दुईतिहाइ मत दिएर पठाएको दलले देशमै र राष्ट्रियतामै धावा बोल्यो, कमजोर बनायो भन्ने आत्माग्लानी हुने अवस्था नहोस्। नीति, नियम र संविधानमाथि कोही हुँदैन। कानुन सबैलाई बराबर छ ।

होला, हिजो पुराना दलले कानुन पालना गर्ने क्रममा त्रुटि गरे होलान्, तर उहाँले त्यो गम्भीर त्रुटि सुधारेर देशलाई अगाडि बढाउनुभएन । प्रधानमन्त्री यही चालमा अगाडि बढ्नुभए देशलाई नै गाह्रो हुने स्थिति देखिरहेको छु। फेरि पनि म सम्मानपूर्वक र अत्यन्तै प्रिय मानेर भन्छु, उहाँले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।

नेपाली जनतासँग माफी माग्नुस्। भोलि कस्तो प्रधानमन्त्रीलाई जिताएर पठाएछौँ भन्ने आत्मग्लानी जनताले गर्नु नपरोस्। अझै केही बिग्रेको छैन। प्रधानमन्त्रीले माफी माग्नुस्, आफ्नो अभिव्यक्ति हटाउन लगाउनुहोस् ।

अन्तिममा प्रधानमन्त्री सदन नआएपछि तपाईँहरू कम्प्रमाइज गरेर अगाडि बढेको हो ?

हामी सदनमाई ‘कम्प्रमाइज’ गर्ने हिसाबले अगाडि बढेको पटक्कै होइन । जनताको आवाज सदनमा राख्नुपर्छ भनेरै सञ्चालन गरेका हौँ। प्रधानमन्त्रीज्यूलाई सदनमा बोकेर ल्याउने अवस्थामा हामी छैनौँ। यदि बोकेर ल्याउने अवस्थामा उहाँकै १८१ जना सांसद हुनुहुन्छ। तर उहाँहरूले पनि प्रधानमन्त्रीज्यू आइदिनुस्, यो त देशको निम्ति अत्यन्तै नालायक कुरा भयो भन्न सक्नुभएन।

मैले यो शब्द प्रयोग गर्न आवश्यक ठानेको थिइनँ तर प्रधानमन्त्रीज्यूको भनाइको पछि लागेर १८१ सांसद दास हुनु भनेको कहाँसम्मको निकम्मापन हो ? हामीलाई सदनमा प्रधानमन्त्री चाहिएको होइन, उहाँको जवाफ चाहिएको हो भनेको भन्यै छौँ, यो भन्दा कति भनौँ ? परराष्ट्रमन्त्रीले दिएको जवाफ हामीलाई चित्त बुझेन, आउनुस्, आउनुस्, आउनुस् भनिरहेका छौँ, के गरौँ यसरी त हुँदै भएन । हामीले ‘कम्प्रमाइज’ जनतासँग गरेको हो, सरकारसँग होइन।

प्रधानमन्त्री सदनमा आएर आत्मालोचना गरेको अवस्था छैन। अब कसरी अगाडि बढ्नुहुन्छ ?

थप कार्यक्रम पनि अगाडि बढाउन सक्नुपर्ने हुन्छ । किनभने, प्रधानमन्त्रीको भनाइले सिमानामा नेपाली जनताको मन-मुटु दुखेको छ। नेपाली जनतालाई त्यो भनाइले पिरोलिरहेको छ। काङ्ग्रेस राष्ट्रिय अखण्डता र देशको रक्षाप्रति गम्भीर छ। अरू प्रतिपक्षीसँग पनि सल्लाह गरेर अगाडि बढ्छौं। प्रधानमन्त्रीले माफी मागेर संसद्को रेकर्डबाट त्यो शब्द नहटाई सुखै छैन।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : ४७ बजे

मेटामा प्राविधिक गडबडी : फेसबुक र इन्स्टाग्राम चल्नै छाडे

काठमाडौं- मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

नयाँ दिल्ली- भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा