अमेरिकाद्वारा अलिबाबा, बीवाइडी र बाइडुलाई चिनियाँ सैन्य कम्पनीका रुपमा सूचीकृत « Khabarhub

अमेरिकाद्वारा अलिबाबा, बीवाइडी र बाइडुलाई चिनियाँ सैन्य कम्पनीका रुपमा सूचीकृत


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले चीनका ठूला व्यावसायिक कम्पनीहरू अलिबाबा, बीवाइडी र बाइडुलाई चिनियाँ सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार आफ्नो कालोसूची परिमार्जन गर्दै चीनका यी चर्चित ब्रान्डहरूलाई समेटेको हो ।

लामो समयको तनावपछि वासिङ्टन र बेइजिङबीच सम्बन्ध सुधारका प्रयास भइरहेका बेला अमेरिकाको यो कदमले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ। पेन्टागनका अनुसार यी कम्पनीहरूले चीनको सरकारी स्वामित्वमा रहेको सम्पत्ति सुपरीवेक्षण तथा प्रशासन आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको आबद्धतामार्फत चिनियाँ सेनाको विकासमा सहयोग पुर्‍याइरहेका छन्।

सन् २०२१ मा स्थापना भएको यो सूचीमा परेका कम्पनी र तिनका भगिनी संस्थाहरूले यसै महिनाको अन्त्यदेखि लागू हुने नयाँ नियमअनुसार अमेरिकी रक्षा मन्त्रालयका ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन्। अमेरिकामा पनि आफ्नो व्यवसाय सञ्चालन गरिरहेका र चिनियाँ सेनाको नियन्त्रणमा रहेका वा चीनको ‘नागरिक-सैन्य समायोजन’ रणनीतिमा सहयोग गर्ने संस्थाहरूलाई पेन्टागनले चिनियाँ सैन्य कम्पनीका रूपमा परिभाषित गर्ने गर्दछ।

यसैबीच, वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकाको यस कदमको कडा निन्दा गर्दै यसलाई ‘विभेदपूर्ण’ र राष्ट्रिय सुरक्षाको अवधारणालाई गलत रूपमा दुरुपयोग गरेको उदाहरण भनेको छ। दूतावासका प्रवक्ताले विदेशमा काम गर्ने चिनियाँ कम्पनीहरूले सम्बन्धित देशको कानुन पूर्ण रूपमा पालना गरिरहेको दाबी गर्दै अमेरिकालाई यो गलत अभ्यास रोक्न र चिनियाँ कम्पनीहरूका लागि निष्पक्ष वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

कालोसूचीमा परेपछि ई-कमर्स क्षेत्रको विशाल कम्पनी अलिबाबाले आफूलाई सूचीमा राख्नुको कुनै आधार नभएको बताएको छ। कम्पनीका प्रवक्ताले अलिबाबा चिनियाँ सैन्य कम्पनी वा सैन्य-नागरिक समायोजन रणनीतिको हिस्सा नभएको स्पष्ट पार्दै आफ्नो कम्पनीको बद्नाम गर्ने प्रयासविरुद्ध उपलब्ध सबै कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।

त्यसैगरी, प्रविधि कम्पनी बाइडुले पनि आफूलाई सैन्य कम्पनी भनिनु पूर्ण रूपमा आधारहीन भएको र सूचीबाट नाम हटाउनका लागि सबै उपायहरू अवलम्बन गर्ने जनाएको छ। अर्कोतर्फ, सवारीसाधन निर्माता कम्पनी बीवाइडीले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यस निर्णयको स्वागत गर्दै चिनियाँ कम्युनिष्ट पार्टीसँगको रणनीतिक प्रतिस्पर्धासम्बन्धी अमेरिकी तल्लो सदनका अध्यक्ष तथा रिपब्लिकन सांसद जोन मूलनारले यो सूचीले अमेरिकी राष्ट्रिय हितविरुद्ध काम गर्ने चिनियाँ कम्पनीहरूलाई कडा चेतावनी दिएको बताएका छन्। उनले अमेरिकी सेयर बजारमा सूचीकृत भएका यस्ता कम्पनीहरूलाई तत्कालै हटाउनुपर्ने र अमेरिका निर्भर रहेका आपूर्ति शृङ्खलाहरूबाट तिनीहरूका उत्पादनहरूलाई बञ्चित गरिनुपर्ने मागसमेत गरेका छन्।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : ४० बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि