वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन « Khabarhub

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गरेको छ ।

वन व्यवस्थापनले बाँस, फलफूल, बेसार खेती तथा लघु उद्यममार्फत वनले आम्दानी बढाउँदै स्थानीयलाई रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्दै आएको छ ।

करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन गर्दै आएको छ । 

हाल वनमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेका छन् ।

सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै चार लाख ९२ हजार ९०५ रुपैयाँ आम्दानी भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा एक लाख ९२ हजार १०५, २०८१/८२ मा एक लाख ३० हजार ९५० र २०८२/८३ मा एक लाख ६९ हजार ८५०  रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।

स्थानीय किसानले व्यावसायिक तरकारी खेती, डोको–डालो बुन्न, घर निर्माणमा सटरिङ गर्न, कुखुरापालनका लागि टहरा बनाउन तथा भूक्षय नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणमा बाँस प्रयोग गर्दै आएका छन् । प्रजातिअनुसार प्रतिगोटा बाँस २०० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ ।

सामुदायिक वनले बाँससँगै फलफूल खेतीलाई पनि विस्तार गरेको छ । वन क्षेत्रमा चार हजार बियाँरहित कागती, पाकिस्तानी सुन्तलाका ५० बिरुवा तथा लिची, बम्बई, दह्रे, बाह्रमासे र आम्रपाली जातका करिब ५०० आँपका बिरुवा रोपिएका छन् । 

दशकअघि लगाइएका ती बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । फलफूल बगैँचा पाँच वर्षका लागि चार लाख रुपैयाँमा ठेक्कामा दिइएको छ ।

सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार उपभोक्ताको आयआर्जन बढाउन दुना–टपरी तथा बाँस–बेत उद्योग सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

आवश्यक मेसिन खरिद गरिसकिएको र उद्योग सञ्चालनअघि उपभोक्तालाई सीपमूलक प्रशिक्षण दिइएको उनले बताए ।

सामुदायिक वनले चार हेक्टर क्षेत्रफलमा बेसार खेती गर्दै आएको छ । यहाँबाट वार्षिक ४० देखि ५० क्विन्टलसम्म बेसार उत्पादन हुने गरेको छ । 

उत्पादन भएको बेसारलाई गुणस्तरीय रूपमा सुकाउन नगरपालिका र दातृ निकायको सहयोगमा सौर्य ड्रायर (सोलार ड्रायर) जडान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

वनले मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्न कैलालीस्थित वनस्पति अनुसन्धान केन्द्रबाट दुई हजार चिउरीका बिरुवा ल्याएर रोप्ने तयारी गरेको छ । 

साथै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि वनभित्र पिकनिकस्थल निर्माण तथा धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको सुनदेवी तालसम्म पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको उनले बताए ।

सामुदायिक वनले संरक्षणसँगै सामुदायिक विकास, संरक्षण शिक्षा, विपन्न वर्ग लक्षित आयमूलक तथा सीपमूलक कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पूर्वाधार विकासमा खर्च गर्दै आएको छ ।

स्थानीय उपभोक्ता रमेश नेपालीका अनुसार वनले वन्यजन्तु बस्तीमा प्रवेश रोक्न मेसवायर जडान, टर्चलाइट वितरण, विद्यालयमा कम्प्युटर सहयोग, पुल–पुलेसा निर्माण, सडकमा ग्राभेलिङलगायत काम गर्दै आएको छ । 

विपन्न परिवारलाई आयआर्जनमूलक तथा सीप विकास कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सामुदायिक वनले उल्लेखनीय योगदान पुर्‍याएको उनले बताए ।

सामुदायिक वनले आर्थिक वर्ष २०८२/८३ मा फलफूल, बाँस, काठ–दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट ७४ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको जनाएको छ । 

एक हजार ११ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा सघाउँदै आएको छ । रासस

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ११ : ५७ बजे

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं- केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको