‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’ « Khabarhub

अन्तर्वार्ता

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’



काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अहिलेकै अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताए । अझ उनले पैँतीस सय तिरेर एक लाख रुपैयाँको ग्यारेन्टी गर्ने विषय सञ्चालन असम्भव भएको पनि बताए । अर्थमन्त्रीको सो भनाइपछि सामाजिक सञ्जालमा उनको धेरैले आलोचना गरेको पाइएको छ ।

भुँइतहसम्मको जनताले प्रत्यक्ष सेवा प्राप्त गरेको कार्यक्रममाथि विज्ञ भनेर आफूलाई परिचित बनाएका अर्थमन्त्रीले किन त्यसरी टिप्पणी गरे ? के स्वास्थ्य बीमा कार्यक्रम नेपालमा अब सञ्चालन हुन नसक्ने हो ? कि यो कार्यक्रमलाई परिमार्जन गरेर मात्रै सञ्चालन सम्भव छ ?

सोही विषयमा बिमाकै विषयमा विद्यावारिधि गरेका डा. रविन्द्र घिमिरेसँग खबरहबका लागि नारायण अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश :

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पैँतीस सय रुपैयाँ लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य ग्यारेन्टी गर्न असम्भव रहेको भन्नुभएको विषयलाई यहाँले कसरी लिनुभएको छ ?

यो कमर्सियल इन्स्योरेन्स होइन, यो सोसियल इन्स्योरेन्स हो । सोसियल इन्स्योरेन्स भनेको सामाजिक सुरक्षा हो । सामाजिक सुरक्षामा पैसा नलिएर पनि उपचार दिन सकिन्छ, यो धनीबाट धेरै लिएर गरिबलाई प्रदान गर्ने भन्ने सिद्धान्त हो । स्वास्थ्य बीमा नियमावलीमा कर्मचारीले तलबको १ प्रतिशत र सरकारले सो एक प्रतिशतमा थप १ प्रतिशत थप गर्नुपर्ने व्यवस्था छ । 

यो धेरै कमाउनेबाट धेरै लिने, थोरै कमाउनेबाट थोरै लिने र नसक्नेहरूसँग नलिने सामाजिक सुरक्षा स्किम हो । कमर्सियलमा भएको भए उहाँले भनेको कुरा मिल्न पनि सक्थ्यो होला, सामाजिक सुरक्षा भएको हुनाले कोसँग कति लिने भन्दा पनि कति सक्नेसँग कति लिने भन्ने हो । मैले पढेको सामाजिक इन्स्योरेन्सको सिद्धान्त त्यो हो ।

सरकारले अहिलेकै स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउँदा पनि निश्चित उपचार र निश्चित औषधिमा मात्रै सुविधा दिएको छ, जसले गर्दा कमर्सियल इन्स्योरेन्स मोडेलमा यो इन्स्योरेन्स स्किम निकै सस्तो हो भनेर भन्न सकिन्छ र ? 

हो, राज्यले प्रदान गर्ने स्वास्थ्य उपचारको अवस्था छ । तर, कमर्सियल स्वास्थ्य बीमा र सामाजिक स्वास्थ्य बीमाबीचमा तुलना भने गर्न मिल्दैन । जस्तो, कमर्सियल बीमाले लागिसकेको रोगलाई कभर गर्दैन, निश्चित उमेरभन्दा तल र उमेरभन्दा माथिकालाई कभर गर्दैन । तर, यो सरकारी स्वास्थ्य बीमा रोगीलाई लक्षित गरेर ल्याइएको हो । पैसा तिरेर उपचार गर्न नसक्नेहरूले बीमामार्फत उपचार गरुन् भनेर ल्याइएको स्किम हो । 

कमर्सियल स्वास्थ्य बीमाले जागिर खानेहरू, स्वस्थ वातावरणमा बसेकाहरू हुन्छन् । स्टान्डर्ड लाइफ अन्तर्गत रहेकाहरूको दाबी नै कम पर्छ । तर, अझै पनि बीमा कम्पनीहरूको स्वास्थ्य बीमाको पोर्टफोलियो घाटामा छ । जति पैसा लिएर उनीहरूले बीमा गरिरहेका छन्, त्यो घाटाको बिजनेस हो ।

सरकारी स्वास्थ्य बीमा सामाजिक सुरक्षाको दृष्टिकोणले ल्याइएको, अहिलेसम्मको अवस्थामा यो प्याकेजले स्मार्ट सुविधा प्रदान गर्न सकेको छैन । बोर्डको तर्फबाट गरिने भुक्तानीमा पनि ढिलाइ हुँदा समय( समयमा बन्द हुने अवस्था पनि आएको देखिन्छ । के अब यो कार्यक्रम सञ्चालन हुन नसक्ने भएको हो वा सूत्रमा परिमार्जन गर्न आवश्यक छ ?

राज्य भनेको बाबुआमा हो, जनता भनेका छोराछोरी हुन् । आधारभूत आवश्यकतामा स्वास्थ्य पहिलो प्राथमिकतामा पर्छ । त्यसकारण राज्य यस्तो उत्तरदायित्वबाट उम्किन हुँदैन भन्ने मान्यता अन्तर्गतको यो कार्यक्रम हो । खर्च जति भएपनि अरु विषयबाट कटौती गरेर भए पनि राज्यले स्वास्थ्यमा लगानी गर्नुपर्छ ।
 
पुनरावलोकन गरेर पैसालाई केही थपघट गर्ने र कभर रकमलाई बिस्तार गर्ने काम हुँदै जान्छ । स्वास्थ्य बीमामा खराबी होलान् तैपनि यसका नराम्रा पक्षभन्दा राम्रा पक्ष नै बढी छन् । 

अहिले यही कार्यक्रमको कारण दुर्गम ठाउँबाट मानिसहरू आएर सेवा लिइरहेका छन्, अस्पतालमा भीडभाड छ । केही वर्ष भीडभाड हुन्छ । मान्छेहरू स्वस्थ हुँदै गएपछि बिस्तारै भीडभाड घट्दै जान्छ । मान्छे सचेत हुँदै गएपछि दाबी गर्ने दर पनि घट्दै जान्छ । त्यसो हुँदै जाँदा देशमा स्वस्थ मानिसहरू धेरै हुन्छन् । त्यसको लागि त राज्यले योगदान गर्नुपर्‍यो नि ।

भनेपछि स्वास्थ्य बीमालाई रोक्ने भन्दा पनि परिमार्जन गरेर लैजान आवश्यक छ ?

रोक्ने त कल्पना गर्न नै सकिँदैन । किनभने नेपालले सन् २०३० सम्म युनिभर्सल हेल्थ कभरेज गर्ने भनेर प्रतिबद्धता पनि जनाएको छ । यो भनेको अबको ४ वर्षभित्रमा सबै जनतालाई स्वास्थ्य उपचारको दायराभित्र ल्याउने भनेको हो । 

सबै नागरिकलाई स्वास्थ्य बीमा बोर्डको सदस्य बनाउने र उपचार गर्न पनि पाउने भनेर नेपालले अन्तर्राष्ट्रिय रूपमा सन्धी गरेको छ । 
अन्तर्राष्ट्रिय प्रतिबद्धताको बर्खिलापमा पनि जान मिलेन । सँगै यो झण्डै दुई तिहाइको लोकप्रिय सरकार यसले धेरै जनताको विश्वास प्राप्त गरेको छ । यसले झन् त्यसो गर्न नै हुँदैन ।

सरकारका अर्थमन्त्री स्वास्थ्य बीमालाई यही अवस्थामा लैजान सकिँदैन भनेर तर्क गर्दै गर्दा यसलाई सहजतापूर्वक अघि बढाउने उपाय के हो ?

स्वास्थ्य बीमा नियमावलीमा जे व्यवस्था छ, त्यसलाई मात्रै कार्यान्वयन गर्दा पनि धेरै समस्याको हल हुन्छ । नेपाल सरकारको जागिर खाने मात्रै पनि साढे ६ लाख छन् । ती साढे ६ लाखले मात्रै पनि बीमा नियमावलीअनुसारको योगदान गर्ने हो भने झण्डै ३० अर्ब रुपैयाँ जम्मा हुन्छ ।

मैले स्वास्थ्य बीमा बोर्डको पाँचवर्षे रणनीतिक योजना पनि बनाइदिएको थिएँ, त्यसमा पनि मैले त्यो प्रस्ताव राखेको छु । त्यसो गर्ने बित्तिकै राम्रो पैसा उठ्छ र राज्यले अहिले जति पनि निःशुल्क औषधि वितरण गरेको छ, त्यसलाई पनि बीमाको दायरामा ल्याउने काम गर्ने हो भने थप व्ययभार घट्छ ।

नेपालमा ५५ लाख घरधुरी छन्, गरिबीको रेखामुनि रहेका २० प्रतिशतलाई निःशुल्क गरेर बाँकी रहेका घरधुरीको २० देखि २५ प्रतिशत भन्दा दाबी आउँदैन । त्यसले गर्दा त्यति धेरै आर्थिक भार पर्दैन ।

सरकारले स्वास्थ्य बीमाको कार्यक्रम निजी अस्पतालमा पनि लागू गर्दै आएको थियो, तर, पछिल्लो समयमा भने निजी अस्पतालमा रोक लगाएको छ । निजी अस्पतालबाट बढी दाबी आयो भन्ने गरिएको पनि पाइन्छ । यो हेर्दा उपचारको दाबी प्रक्रियामा पनि अपारदर्शिता भएर सरकारलाई अप्ठ्यारो परेको हो ?

यो संसारभर जहाँ पनि हुन्छ । अमेरिकामा फ्रड इन्स्योरेन्स दाबी बढी भएको पाइन्छ । कति प्रतिशत फ्रडलाई सहन गर्ने भन्ने पनि हुन्छ । कृष्णप्रसाद भट्टराईले कुनै बेलामा १/२ हजार घुस खाएकालाई त्यति नगर भन्नुभएको थियो । लाखौँ करोडौँ खानेलाई समातेर थुन भन्नुहुन्थ्यो ।

रक्तचाप जँचाउन जाने, सिटामोल जस्ता औषधि लिन जानेलाई आँखा चिम्लिने हो । संगठित फ्रड रोक्नको लागि थर्ड पार्टी एडमिस्ट्रेटर भन्ने कम्पनी हुन्छ, अन्य देशमा त्यस्तो कम्पनीले दाबीलाई सेटलमेन्ट गर्छ । तेस्रो पक्षले डाटाहरू स्क्रिनिङ गर्छ र फ्रडलाई नियन्त्रण गर्छ । त्यस्तै, कोपेमेन्टको व्यवस्थाले पनि न्यूनीकरण गर्न सकिन्छ । जुन अहिले लागू भइसकेको छ । व्यक्ति स्वयंले पनि निश्चित प्रतिशत तिर्न पर्ने भएपछि अनावश्यक खर्चको लागि सेवाग्राही जाँदैन ।

अरु पनि सचेतनामूलक कार्यक्रम गर्ने, केहीलाई कारबाही गरेर प्रचार गर्ने लगायतका पहलबाट पनि फ्रड इन्स्योरेन्सलाई न्यूनीकरण गर्न सकिन्छ । तर, त्यस्तो भयो भन्दैमा कार्यक्रम बन्द गर्ने भन्ने हुँदैन ।

सरकारले यो कार्यक्रमलाई अगाडि लैजान अप्ठ्यारो मान्न खोजेको अवस्थामा अब कसरी अगाडि जान सक्छ ? 

यसमा एउटा सिस्टम हुन्छ, जसबाट सबै स्वास्थ्यको तथ्यांक लिन सकिन्छ, जहाँ एकपटक सबै नागरिकको स्वास्थ्य विवरण हालेपछि कसले कुन औषधि खाएको छ र कुन मान्छे केको रोगी छ भन्ने पनि थाहा हुन्छ । केही हजार युवालाई परिचालन गरेर यो गरौँ भन्ने हो भने केही दिनमा नै यो सम्भव पनि छ ।

यसो गर्दा कुनै व्यक्ति किड्नीसँग सम्बन्धित रोगी नै छैन, तर, त्यो व्यक्तिले किड्नीसँग सम्बन्धित औषधी खाएको दाबी गर्यो भने सिधै फ्रड गरेको समात्न सकिन्छ । स्वास्थ्य बीमामा महँगा औषधि बाइपास गर्ने चलन छ, यो प्रणालीको विकास गरियो भने बाइपास गरेको तथ्यांक सजिलैसँग भेटाउन सकिन्छ ।

यो कार्यक्रमलाई सफल बनाउने इच्छाशक्ति राख्ने हो भने यसलाई पारदर्शी र प्रभावकारी बनाउने धेरै उपाय छन् ।

यो निकै बलियो सरकार पनि हो, अहिले सरकारले स्वास्थ्य बीमाको क्षेत्रमा जति रकम खर्च गरिरहेको छ, त्यसलाई प्रभावकारी बनाउँदै थप स्रोतको व्यवस्था गर्न पनि केही नयाँ नीतिगत निर्णय पनि त सम्भव होला, जसले स्रोतको दायरा बढाउँछ ।

अवश्य । जस्तो भरतपुर क्यान्सर अस्पताल विदेशी सहयोगबाट बन्यो । तर, त्यहाँ क्यान्सर लागेर उपचार गर्न जाने बिमारीलाई सहयोग गर्न सरकारले चुरोटबाट कर उठाउने काम गरेको हो । स्वास्थ्य कर भनेर रक्सी, चुरोटबाट प्रदूषण गर्ने क्षेत्रबाट उठाउन खोज्यौँ भने २०/२५ अर्ब सजिलै उठाउन सकिन्छ । जुन थप निर्णय यो सरकारले गर्न सक्छ ।

त्यसपछि सरकारले स्वास्थ्य क्षेत्रमा गर्ने खर्च पनि तल स्वास्थ्य चौकीसम्म जाँदा ठूलो संख्यामा डाक्टर, नर्स लगायतले रोजगारी पाउने, फार्मेस्युटिकल्स क्षेत्रले उत्पादन र रोजगारीको सिर्जना गरेको छ । समग्रमा मुलुकको अर्थतन्त्रलाई सबल बनाउनकै लागि खर्च भएको छ ।

स्वास्थ्य बीमा पैसाको समस्याको विषय नै होइन यो राजनीतिक प्रतिबद्धता हो ।

कतै अर्थमन्त्रीले यो समाजवादी कार्यक्रम हो भनेर हटाउन खोजेका त होइनन् ? 

होइन । किनकी उदारवादका नेतृत्वकर्ता भनेर चिनिएका अमेरिका, जापान, दक्षिण कोरिया लगायतका मुलुक हुन् । जुन मुलुक उदारवादका विश्वविद्यालय नै हुन् । त्यहाँको सबै स्वास्थ्य प्रणाली बीमा मोडेलबाट सञ्चालन भएको छ । गरिबलाई राहत नै राहत छ त्यहाँ । पुँजीवादी देशमा स्वास्थ्य उपचारमा कमी छैन ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १ : २४ बजे

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा