काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली पारिएको गुनासो सडक र सदनबाट उठिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह केही दिनयता गुमनाम जस्तै छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सातायता गायब जस्तै छन् । गणेश नेपालीले आत्मदाह गरेको घटना र सुकुम्वासीको विचल्ली भएको घटनामा रविसमेत मुखमा पानी हालेर बसेका छन् ।
दुईतिहाइको शक्ति लिएर बसेका यी दुई नेताको मौनताले यतिबेला रास्वपा र सरकार दुवै रक्षात्मक अवस्थामा पुगेका छन्। सडकदेखि सदनसम्म खोजी भइरहँदा बेपत्ता जस्तै भएका यी दुई नेताबीच आइतबार चार घण्टा लामो कुराकानी भएको छ।
शुक्रबार बेलुका टेलिफोनमा संवाद गरेका दुई नेताले आइतबार ४ घण्टा लामो संवाद गरेका हुन्। अनौठो चाहिँ के छ भने यसअघि भेट्न समयसमेत दिन नमान्ने प्रधानमन्त्री वालेन्द्र यस पटक आफैं सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेका हुन् ।
गत वैशाख १२ गतेदेखि दुई सातासम्म राज्यको सारा फौजी शक्ति उतारेर जबरजस्ती विस्थापित गरिएका सुकुम्वासी अहिले राखिएकै ठाउँमा अर्को डुबानमा परेका छन्। सडकमै युवाको आत्मदाह र सुकुम्वासी पनि विचल्लीमा परिरहँदा सरकारले भने उल्टै कर थोपरेको छ।
निम्न वर्गका व्यक्ति राज्यको चर्को कर र महँगीले पिल्सिरहँदा सरकारले राहतका ठोस कार्यक्रम ल्याउन सकेको छैन । तर देश यति गम्भीर बाटोतिर धकेलिँदा पनि यी दुई नेताको मौनताले झन् आगोमा घिउ थपिरहेको छ।
झन्डै दुई सातादेखि गायब जस्तै उनीहरू आइतबार वार्तामा जुटिरहँदा सरकारका ६ जना मन्त्रीहरूलाई भने सुकुम्वासी फकाउन खरिपाटी पठाए ।
खरिपाटीमा केही सुकुम्वासीहरूलाई भेला गरेर गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमि व्यवस्था मन्त्री प्रतिभा रावल फकाउन जुटे ।
झुपडीमा शक्तिशाली डोजर हानेर लखेटिएका तिनै सुकुम्वासी सामु सरकारका प्रवक्ता सस्मित पोखरेल खरिपाटी पुगेर हात जोडिरहेका थिए । तर कुनै बेला उनै होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीमा कुनै समस्या नरहेको र बालबालिका पनि पढ्न पाइरहेको जवाफ हाँस्दै दिन्थे। यिनै पोखरेल प्रम बालेनका निकट मानिन्छन् । उनी खरिपाटीमा आइतबार सुकुम्वासीसामु हात जोड्दै बिन्ती गरिरहेका देखिए ।
खरिपाटी पुगेर मन्त्री रावलले सुकुम्वासीलाई छिटो लालपूर्जा वितरण गर्ने अर्को उधारो आश्वासन दिलाइन्। तर लालपुर्जा कहाँको दिने ? जग्गा कहाँ खोज्ने ? घर कहाँ बनाइदिने ? सरकारसँग यसको उत्तर अहिलेसम्म छेन ।
प्रधानमन्त्री र सभापतिकै निर्देशनमा यी आधा दर्जन मन्त्रीहरूले खरिपाटीमा सुकुम्वासी भेटेका हुन् । सान्त्वना दिँदै रावलले सुकुम्वासीलाई फकाउन खोजिन् ।
यता प्रम वालेन र सभापति लामिछानेको मौनता भने सबैभन्दा खतरानाक छन। शीर्ष नेता बूढानीलकण्ठमा जुट्दा मन्त्रीहरूले खरिपाटीमा सुकुम्वासीलाई थामथुम पार्ने कोसिस गगरे ।

बूढानीलकण्ठको दैलोमा बालेन
चुनावी अभियानका बेला वालेन्द्र पार्टी कार्यालय समेत जाँदैन थिए । उनलाई भेट्न सभापति रवि लामिछाने आफैं दरबारमार्गको रोयल सिंघी होटलको स्वीट रुममा पुग्थे।
तर आइतबार वालेन्द्र आफैं बिहान ११ बजे बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवास पुगेका थिए। सरकारमै आएपछि पनि वालेन्द्रले रविलाई भेट्ने समय दिएका थिएनन् । त्यहीकारण रविले आफूनिकटसँग असन्तुष्टि पोख्ने गरेका थिए । तर केही सातायताका घटनाक्रमले बालेनलाई बूढानीलकण्ठको दैलोमा शीर झुकाउने अवस्थामा पुर्याएको छ।
बूढानीलकण्ठमा सुकुम्वासी समस्या र युवा वर्गमा देखिएको तनाव तथा गणेश नेपालीसहित व्यवसायीको आत्मादाहबारे लामो कुराकानी भएको थियो।
रवि र बालेनबीच आगामी दिनमा यी समस्या समाधान कसरी गर्ने रणनीतिबारे पनि छलफल भएको छ। रविले बालेनलाई अवस्था सम्हालेर थप क्षति हुन नदिन कदम चाल्नुपर्ने बताएका थिए।
‘दुई नेताबीच एक्ला एक्लै कुराकानी भएकाले धेरै बाहिर आउन पाएन। बीचमा केही नेता जोडिनु भए पनि संवादबारे केही खुलेको छैन’, रास्वापका एक नेताले भने, ‘चितवनमा भएको महाधिवेशनबाट टुङ्ग्याउनुपर्ने पार्टीका विवाद र सरकारबारे राम्रै कुराकानी भएको बुझेका छौं।’
प्रधानमन्त्री वालेनको कार्यशैलीलाई लिएर रास्वपाभित्रै आक्रोश बढेको छ। दुई नेताहरूबीचमा संसदीय दलको नेता पार्टी सभापतिले हटाउन लागेको विधानको प्रावधानबारे पनि कुराकानी भएको छ।
चितवनमा असार ९ गते जारी पार्टीको विधान र गत सोमबार सार्वजनिक भएको पार्टीको विधान फरक भएकाले यसमा वालेन्द्रले रविसँग कुरा गरेको बताइएको छ। उक्त विधानमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले म र च बुँदा थपेर सभापतिलाई संसदीय दलको नेता हटाउने अधिकार दिएको चर्चा छ ।
यस्तै प्रधानमन्त्री बालेन निम्न वर्गका समुदायमाथि पूर्वाग्रही भएको र उनीहरूलाई उपेक्षा गरेको आरोप लागेको छ। रविले सरकारको काममा आमनागरिकको असन्तुष्टि बढ्दै गइरहेकाले थप व्यवस्थित र विश्वासनीय कदम चाल्नुपर्ने सुझाए । सुकुम्वासीलाई विभिन्न ठाउँमा व्यवस्थापन गर्दाका विकल्पबारे पनि कुराकानी भएको छ।
यो छलफलमा वालेन्द्रका सचिवालय सदस्यहरूको कार्यशैलीबारे पनि कुरा भएको छ। अर्कातिर मन्त्रीहरूका सचिवालय सदस्यले सुकुम्वासीका समाचार संकलनमा पत्रकारलाई अवरोध गरेको र मानव अधिकारकर्मीमाथि पनि आक्रमक भएको लगायतबारे पनि कुराकानी भएको बताइएको छ। बालेन र रविबीच यही हप्ताभित्र सुकुम्बासीलाई लालपूर्जा दिनेबारे पनि संवाद भएको छ।












प्रतिक्रिया