इरानले पत्ता लगाएको थियो टर्कीमा ट्रम्प बसेको स्थान, नाटो सम्मेलनस्थल नजिकै क्षेप्यास्त्रसहित देखिएका थिए एक व्यक्ति « Khabarhub

इरानले पत्ता लगाएको थियो टर्कीमा ट्रम्प बसेको स्थान, नाटो सम्मेलनस्थल नजिकै क्षेप्यास्त्रसहित देखिएका थिए एक व्यक्ति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

अंकरा- टर्कीमा भएको नाटो शिखर सम्मेलनका क्रममा इरानी एजेन्टहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बसेको स्थानबारेको गोप्य जानकारी पाएको खुलेको छ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इरानी एजेन्टहरूलाई ट्रम्प बसेको भवन मात्र होइन, उनी बसेको तल्लासम्मको जानकारी थियो।

रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायले यसलाई ट्रम्पको सुरक्षाका लागि ठूलो खतरा मानेपछि अन्तिम समयमा उनको यात्रा योजना परिवर्तन गरिएको थियो। ट्रम्पलाई अर्को विमानबाट टर्कीबाट बाहिर निकालिएको थियो।

११ अगस्टमा ट्रम्पले पनि यो घटनाको पुष्टि गरेका थिए। पत्रकारहरूसँग कुरा गर्दै उनले आफू टर्की पुगेको विमानमै आक्रमणको सबैभन्दा ठूलो जोखिम रहेको बताएका थिए।

ट्रम्पका अनुसार उनलाई विमानस्थलमा रहेको क्याटरिङ ट्रकमा राखेर गोप्य रूपमा अर्को विमानसम्म पुर्‍याइएको थियो। विमानस्थलमा रहेका कसैलाई पनि उनको आवतजावतबारे जानकारी नहोस् भनेर यस्तो गरिएको थियो।

ट्रम्पमाथि आक्रमणको खतरा

रिपोर्टमा ट्रम्पलाई लैजाने कुनै पनि विमानमा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रबाट आक्रमण हुन सक्ने खतरा रहेको उल्लेख गरिएको छ।

अमेरिकी गुप्तचर निकायले नाटो शिखर सम्मेलन आसपास एक व्यक्तिलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्रसहित देखिएको जानकारीसमेत प्राप्त गरेको थियो।

त्यसपछि अमेरिकी सेक्रेट सर्भिस र वरिष्ठ अधिकारीहरूले ट्रम्पलाई टर्कीबाट सुरक्षित रूपमा निकाल्ने योजना बनाएका थिए।

रक्षामन्त्रीसँग ट्रम्पले विमान फेरे

सीबीएस न्युजका अनुसार ट्रम्पले रक्षामन्त्री पिट हेगसेथसँगै विमान परिवर्तन गरेर टर्कीबाट यात्रा गरेका थिए।

तर विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्ट भने ट्रम्पसँगै एउटै विमानमा गएनन्। उनीहरू अर्को विमानबाट अघि बढेका थिए। राष्ट्रपति सँगै कुनै दुर्घटना भएमा अमेरिकामा सत्ता सञ्चालनको व्यवस्था कायम राख्न उनीहरूलाई अलग विमानमा पठाइएको बताइएको छ।

अमेरिकामा राष्ट्रपतिको मृत्यु भएमा वा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न नसक्ने अवस्था आएमा उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्छन्। त्यसपछि प्रतिनिधिसभाका सभामुख, सिनेटका प्रेसिडेन्ट, विदेशमन्त्री र अर्थमन्त्रीको क्रम आउँछ।

कतारले दिएको विमानमा चढेका थिए ट्रम्प

यसअघि द वासिङ्टन पोस्टले ८ जुलाईमा अंकाराबाट उड्ने क्रममा ट्रम्प क्यामेरासामु बोइङ ७४७-८ ‘एयर फोर्स वन’मा चढेको दाबी गरेको थियो। यो विमान कतारले अमेरिकालाई उपहार दिएको थियो।

तर विमानस्थलमा सामान र खाना ओसार्ने क्याटरिङ गाडीको प्रयोग गरेर ट्रम्पलाई गोप्य रूपमा अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी-३२ए मा पुर्‍याइएको थियो।

सञ्चारकर्मीलाई थाहा थिएन

अमेरिकी राष्ट्रपति विदेश भ्रमणमा जाँदा केही सञ्चारकर्मी पनि उनीसँगै यात्रा गर्छन्। सुरक्षाका कारण सबै विवरण सार्वजनिक नगरिए पनि राष्ट्रपति कुन विमानमा छन्, कहाँ जाँदैछन् भन्ने उनीहरूलाई सामान्य जानकारी हुने गर्छ।

टर्कीबाट उड्ने क्रममा सञ्चारकर्मीहरूले ट्रम्प पनि एयर फोर्स वनमै रहेको ठानेका थिए। तर वास्तविकता फरक थियो। उडानका क्रममा सञ्चारकर्मीलाई विमानका झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। अर्थात् उनीहरूलाई बाहिर हेर्नसमेत अनुमति थिएन।

यस्तो सावधानी सामान्यतया विमान जोखिमयुक्त क्षेत्रबाट गुज्रिरहेको अवस्थामा अपनाइन्छ।

पछि सञ्चारकर्मीहरूले ट्रम्पलाई झ्यालका पर्दा बन्द गर्न लगाउनुको कारण सोधेका थिए। ट्रम्पले आफूहरू सम्भवतः खतरनाक उडानमा रहेको बताएका थिए। उनले आफू इरानको ‘लक्ष्य सूची’को सबैभन्दा माथि रहेको दाबी गर्दै आफूलाई केही भएमा सञ्चारकर्मीहरू पनि जोखिममा पर्ने बताएका थिए।

ट्रम्प बोकेको सानो विमान पहिले बेलायत पुग्यो

ट्रम्पलाई बोकेको सी-३२ए विमान राति करिब १०ः२० बजे बेलायतको आरएफ मिल्डेनहल एयरबेस पुगेको थियो। त्यसको केही मिनेटपछि पुरानो एयर फोर्स वन पनि त्यहाँ पुगेको थियो। उक्त विमानमा सञ्चारकर्मीहरू सवार थिए।

त्यसपछि ट्रम्पलाई गोप्य रूपमा एयर फोर्स वनमा ल्याइएको थियो। केही समयपछि उनी त्यही विमानबाट ओर्लिएको देखिएपछि सञ्चारकर्मीहरूले ट्रम्पले सम्पूर्ण यात्रा त्यही विमानबाट गरेको ठानेका थिए।

तर सी-३२ए बाट ओर्लिएपछि ट्रम्प एयर फोर्स वनसम्म कसरी पुगे भन्ने स्पष्ट भएको छैन। ट्रम्पले सञ्चारकर्मीतर्फ हात हल्लाए तर उनीहरूसँग कुराकानी गरेनन्। त्यसपछि उनी आधिकारिक विमान एयर फोर्स वनमा चढे र त्यही विमानबाट अमेरिका पुगे।

अमेरिकी अधिकारीहरूका अनुसार इरानबाट प्राप्त खतरा सम्बन्धी सूचनापछि यो सम्पूर्ण सुरक्षा योजना केही घण्टामै तयार पारिएको थियो। संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, रक्षामन्त्री पिट हेगसेथलगायत केही सीमित अधिकारी यस योजनामा संलग्न थिए।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : २९ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै