स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ « Khabarhub

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएसँगै राष्ट्रिय एकता र पार्टी एकतामा जोड दिएका छन्।

बिहीबार स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले आफू ‘शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न’ फर्किएको बताएका हुन्।

उनले विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्।

देउवाले नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताएका छन्। गत भदौमा भएको जेन-जी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उल्लेख गर्दै उनले परिवर्तनको अर्थ विगतका संघर्ष, त्याग र बलिदानलाई गलत ठहर्‍याउनु नभएको स्पष्ट पारे।

‘परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन,’ देउवाले भनेका छन्।

उनले वर्तमान सरकारको दायित्व जनतामा देखिएको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु रहेको बताए। ताजा जनमतबाट बनेको सरकारले जनताको मतको कदर गर्न नसके लोकतन्त्रमा जनताभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ छ। कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन्।

देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। संसद्को अंकगणितमा कांग्रेस सानो वा ठूलो भए पनि २००७ सालदेखि भएका राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको उनको दाबी छ।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ उनले भनेका छन्।

युवा पुस्तालाई अघि बढाउनुपर्ने तर पाका र अनुभवी पुस्तालाई नै खराब देखाउने भाष्य स्वीकार्य नहुने देउवाले बताएका छन्। आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तासँग बाँड्नु आफ्नो दायित्व भएको उनले बताएका छन्।

उनले संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै यसको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन्। कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्र सुदृढ गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

देउवाले आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै कानुन र नीतिविपरीत कुनै काम नगरेको बताएका छन्।

‘मेरो जीवन खुला किताब हो,’ उनले भनेका छन्, ‘अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिकता तथा मूल्य–मान्यताअनुसार काम गर्नेछु।’

देउवाले आफू नेता बनेर नभई ‘यस महान राष्ट्रको आजीवन नागरिक’ बनेर विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न फर्किएको बताएका छन्।

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने उद्घोष गरेको स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : ३६ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले