इरानको मृत्युदण्डविरुद्ध ३२ देश « Khabarhub

इरानको मृत्युदण्डविरुद्ध ३२ देश


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडासहित ३२ देशले त्यसको कडा विरोध गरेका छन्।

ती देशले इरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधारबिना हिरासतमा राखिएका सबै व्यक्तिलाई रिहा गर्न आग्रह गरेका छन्।

युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कालाससहित ३२ देशले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सिर्जना गर्ने तथा मानव अधिकारको प्रयोग गर्ने व्यक्तिलाई दण्डित गर्ने माध्यम बनाएको आरोप लगाइएको छ।

‘असहमतिलाई चुप गराउन, समुदायलाई डराउन र आफ्नो मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिन मृत्युदण्डको प्रयोग कहिल्यै उचित हुन सक्दैन,’ वक्तव्यमा भनिएको छ।

हस्ताक्षरकर्ता देशहरूले इरानी जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार निर्बाध रूपमा प्रयोग गर्न दिनसमेत आग्रह गरेका छन्। फ्रान्सेली विदेश मन्त्रालयका अनुसार सुरुमा २६ देश र इयुकी विदेश नीति प्रमुखले वक्तव्यमा हस्ताक्षर गरेका थिए। पछि थप देश सहभागी भएपछि हस्ताक्षरकर्ताको सङ्ख्या ३२ पुगेको हो।

अस्ट्रेलिया, न्युजिल्यान्ड, आयरल्यान्ड, इटाली र जर्मनीलगायत देशले पनि इरानलाई मृत्युदण्डको प्रयोग तत्काल अन्त्य गर्न तथा कानूनी आधारबिना पक्राउ गरिएका व्यक्तिलाई रिहा गर्न आग्रह गरेका छन्।

तर इरानका विदेशमन्त्री अब्बास अराघचीले अन्तर्राष्ट्रिय आलोचनाको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत फ्रान्सलगायत पश्चिमी देशले मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनका विषयमा अरूलाई उपदेश दिन बन्द गर्नुपर्ने बताए।

गाजामा इजरायलको कारबाहीप्रति पश्चिमी देशको समर्थन तथा इरानविरुद्ध भएको सैन्य कारबाहीको प्रसङ्ग उल्लेख गर्दै अराघचीले ती देशले मानव अधिकारका विषयमा नैतिक उच्च आधार प्रस्तुत गर्ने अधिकार गुमाइसकेको दाबी गर्नुभएको छ।

इरानमा पछिल्ला महिनामा मृत्युदण्ड र गिरफ्तारी बढेको भन्दै संयुक्त राष्ट्रसङ्घ तथा मानव अधिकार संस्थाहरूले निरन्तर चिन्ता व्यक्त गर्दै आएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार मार्च १९ यता राष्ट्रिय सुरक्षासम्बन्धी अभियोगमा कम्तीमा ५६ जनालाई मृत्युदण्ड दिइएको छ। तीमध्ये २७ जना विरोध प्रदर्शनसँग सम्बन्धित रहेको जनाइएको छ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले इरानी सरकारले मृत्युदण्डलाई ‘डर जगाउने’ माध्यमका रूपमा प्रयोग गरिरहेको आरोप लगाए। उनका अनुसार यस्तै अभियोगमा थप १०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइने जोखिम रहेको छ।

संयुक्त राष्ट्रसङ्घ तथा मानव अधिकार संस्थाहरूले ती मुद्दामा निष्पक्ष सुनुवाइ नभएको र अभियुक्तबाट जबर्जस्ती स्वीकारोक्ति गराइएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

इरानमा गत वर्ष डिसेम्बरको अन्त्यतिर जीवनयापनको बढ्दो लागतका कारण सुरु भएको विरोध प्रदर्शन पछि व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो। इरानी अधिकारीहरूले प्रदर्शन तथा त्यसपछिको हिंसामा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन्। उनीहरूले हिंसाका लागि संयुक्त राज्य अमेरिका र इजरायलबाट भएका ‘आतङ्कवादी कार्य’लाई जिम्मेवार ठहराएका छन्।

तर इरानबाहिर रहेका मानव अधिकार संस्थाहरूले मृतकको सङ्ख्या अझ बढी रहेको दाबी गर्दै सुरक्षा बलले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन्।

फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले न्याय र मर्यादाको माग गर्दै सडकमा उत्रिएका इरानी जनतामाथि भएको दमनको सात महिना बितिसक्दा पनि सरकारले बढ्दो सङ्ख्यामा मृत्युदण्ड दिइरहेको बताए।

एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले गत वर्ष दुई हजार १५० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको थियो। चीनपछि इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड कार्यान्वयन गर्ने देशमध्ये एक रहेको संस्थाले जनाएको छ।

इरानको मृत्युदण्डसम्बन्धी नीतिविरुद्ध ३२ देशको संयुक्त वक्तव्यले तेहरानमाथि अन्तर्राष्ट्रिय दबाब थप बढाएको छ। मानव अधिकार संस्थाहरूले भने मृत्युदण्ड रोक्नुका साथै निष्पक्ष सुनुवाइ र अभिव्यक्ति तथा शान्तिपूर्ण भेला हुने अधिकार सुनिश्चित गर्न इरान सरकारसँग माग गर्दै आएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : ४१ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै