सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने « Khabarhub

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । सो कार्यविधिअनुसार ८ क्षेत्रका उद्यमीले ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण पाउने भएका छन् ।

यो कार्यविधिले परम्परागत सीपको आधुनिकीकरण गर्ने, शिक्षित युवालाई स्वरोजगार बनाउने र प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न ८ वटा क्षेत्रमा तोकिएको सीमाभित्र रहेर सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछन् । यसअन्तर्गत कृषि तथा पशुपन्छी कर्जाका लागि ५ करोड रूपैयाँसम्म र उद्योगमा बोइलर प्रतिस्थापन कर्जाका लागि ५० लाख रूपैयाँसम्म ऋण पाइने व्यवस्था छ । 

त्यसैगरी, महिला उद्यमशील कर्जा र स्टार्ट–अप उद्यम कर्जाका लागि २५ लाख रूपैयाँसम्म सीमा तोकिएको छ । शिक्षित युवा परियोजना कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा स्वरोजगार कर्जा र दलित समुदाय व्यवसाय विकास कर्जाका लागि २० लाख रूपैयाँसम्म उपलब्ध गराइनेछ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणका लागि भने ५ लाख रूपैयाँसम्म ऋण पाइने प्रावधान छ ।

सहुलियतपूर्ण कर्जाको ब्याजदरलाई ऋणीमैत्री बनाउन सरकारले विशेष व्यवस्था गरेको छ । बैंकहरूले आफ्नो आधार दरमा १.५ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ । 

यसरी कायम गरिएको ब्याजदरमा नेपाल सरकारले ३ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । 

ऋणीले ब्याज, कर्जा सूचना शुल्क र बीमा शुल्कबाहेक बैंकलाई अन्य कुनै पनि अतिरिक्त शुल्क बुझाउनु पर्ने छैन । यस्तो अनुदान सुविधा बढीमा ५ वर्षसम्म मात्र प्राप्त हुनेछ र यो कार्यक्रम २०८७ असार मसान्तसम्म सञ्चालन हुनेछ ।

को हुन सक्छन् योग्य ?

यो कर्जा प्राप्त गर्नका लागि ऋणी कम्तीमा १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ । ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको र स्थायी लेखा नम्बर लिएको हुनुपर्ने अनिवार्य सर्त छ । 

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको हकमा विदेशमा कम्तीमा ६ महिना काम गरी फर्केको हुनुपर्नेछ । यद्यपि, कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त गरेका व्यक्तिहरू यो कर्जाका लागि योग्य हुने छैनन् । 

कार्यविधिअनुसार एकाघर परिवारको एक जना सदस्यले मात्र यस्तो कर्जा सुविधा लिन पाउनेछन् र एक व्यक्तिले एकभन्दा बढी प्रकारको सहुलियत कर्जा लिन पाउने छैन । 

कर्जा लिन चाहने व्यक्ति वा संस्थाले सम्बन्धित बैंकमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ । बैंकले निवेदन प्राप्त भएको १५ कार्यदिनभित्र कर्जा दिने वा नदिने निर्णय गर्नुपर्नेछ र कर्जा अस्वीकृत भएमा ३ दिनभित्र स्पष्ट कारणसहित ऋणीलाई जानकारी दिनुपर्नेछ । 

यो कर्जा प्रवाह गर्दा बैंकले व्यवसाय परियोजनालाई नै मुख्य धितोका रूपमा स्वीकार गर्नुपर्नेछ र आवश्यक परेमा व्यक्तिगत वा सामूहिक जमानी लिन सक्नेछन् । १५ लाख रूपैयाँसम्मको कर्जाको हकमा सरकारले बीमा र कर्जा सुरक्षण शुल्कमा ५० प्रतिशत अनुदानसमेत दिने व्यवस्था गरेको छ । 

सरकारले यो कर्जाको सदुपयोग भए नभएको अनुगमन गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थालाई दिएको छ । यदि कर्जाको दुरुपयोग भएको पाइएमा ब्याज अनुदान रोक्का गरी ऋणीबाट सम्पूर्ण अनुदान रकम ब्याजसहित असुल उपर गरिने कार्यविधिमा उल्लेख छ ।

नयाँ कार्यविधिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार क, ख र ग वर्गका बैंकलाई सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ५ : ३२ बजे

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्