चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ? « Khabarhub

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार नेपाल आइपुगेका छन्। देउवा नेपाल आइपुग्दा उनका शुभेच्छुक, नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा उपस्थित भएर स्वागत गरेका छन्।

देउवालाई स्वागत गर्न उनी पक्षका नेता तथा कार्यकर्ता विमानस्थल पुगे पनि गगन थापा पक्ष र नेता डा. शेखर कोइराला पक्षका नेताहरू भने उपस्थित भएनन्।

देउवालाई स्वागत गर्न उनका विश्वासपात्र पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, युवा नेता कान्छाराम तामाङ, मीन विश्वकर्मा, प्रकाशशरण महतलगायतका नेता विमानस्थल पुगेका थिए।

कांग्रेसका थुप्रै पुराना नेताहरू पनि देउवालाई स्वागत गर्न उपस्थित भए। तर पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अधिकांश नेता भने विमानस्थलमा देखिएनन्।

शेखर कोइराला पनि देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न शुक्रबार उपस्थित हुने कार्यक्रम रहे पनि देउवाको स्वागतमा भने विमानस्थल नपुगेका हुन्। उनको सचिवालयका अनुसार कोइरालाको सम्बोधन पार्टी एकतामै केन्द्रित हुनेछ।

‘२९ गते मेरो सम्बोधन रहन्छ। त्यो सम्बोधन पार्टी एकताका लागि हुन्छ,’ शेखरले भने, ‘म सबैलाई एकताका लागि आह्वान गर्ने मान्छे हुँ। कसैको पक्षमा भन्दा पनि पार्टी एकताको पक्षमा छु।’

‘देउवा नै सभापति’

देउवालाई स्वागत गर्न विमानस्थल पुगेका नेता कृष्णप्रसाद सिटौला र आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले अझै पनि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।

‘अर्को महाधिवेशन नहुन्जेलसम्म कांग्रेसको सभापति शेरबहादुर दाइ हुनुहुन्थ्यो र हुनुहुनेछ,’ सिटौलाले भने, ‘कसले कस्तो महाधिवेशन गरेर पार्टी कब्जामा लियो, त्यो हाम्रो विषय भएन। हामी आज पनि कांग्रेस हौँ, भोलि पनि कांग्रेस रहनेछौँ। हामी पार्टी विभाजनको पक्षमा छैनौँ।’

देउवासँगको नेतृत्वको संयोजनमा सक्रिय डा. शशांक पनि पार्टी एकताको पक्षमा रहेको बताउँदै देउवालाई स्वागत गर्न विमानस्थल पुगेका हुन्।

कांग्रेस बैठक सानेपामा

यसैबीच सर्वोच्च अदालत र निर्वाचन आयोगले आधिकारिकता दिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी छ। बैठकमा कांग्रेसभित्र पछिल्लो समय देखिएको विचलन, आन्तरिक विवाद र पार्टी विभाजनको सम्भावनाबारे समीक्षा भइरहेको छ।

बैठकमा सभापति गगन थापा, महामन्त्रीलगायतका नेताहरूले पार्टीको पछिल्लो गतिविधिबारे धारणा राखिरहेका छन्।

यस बैठकले देउवा पक्षसँग पार्टी एकताका लागि कस्तो निर्णय लिन्छ भन्ने स्पष्ट भइसकेको छैन। यसअघि पनि पार्टी एकताका लागि विभिन्न चरणमा छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन।

यसै साता डा. शेखर कोइराला र सभापति गगन थापाबीच पनि भेटवार्ता भएर पार्टी एकताका विभिन्न विषयमा छलफल भएको थियो। तर उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेन।

बैठकमा सभापति थापाले नेपाल फर्किएका देउवालाई स्वागत गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन्। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरेको स्रोतको भनाइ छ।

‘निवर्तमान सभापति देउवालाई स्वदेशमा स्वागत छ। उहाँको स्वास्थ्य लाभको कामना हामी सबैले गरेका छौँ,’ थापाले बैठकमा राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीलाई एकीकृत बनाउन कस्ता संवाद र अभ्यास अगाडि बढाउने, देउवा दाइ नेपाल आएपछि अरू पक्षले कस्तो भूमिका खेल्न सक्छ लगायतमा छलफल भइरहेको छ। सभापतिज्यूले स्वागत गरेर स्वास्थ्य लाभको कामना समेत गरिरहनुभएको छ।’

बिहीबारको बैठकले पार्टी एकताका लागि आगामी दिनमा अपनाउनुपर्ने पहल तथा संवादबारे केही खाका तयार पार्न सक्ने बताइएको छ।

तर भोलिको सम्बोधनपछि देउवा पक्षले पार्टी विभाजनको बाटो लिन सक्ने आशंका गगन पक्षमा रहेको नेताहरू बताउँछन्। त्यसबारे पनि बैठकमा नेताहरूले सजग गराइरहेको बुझिएको छ।

विधि र विधान कि नेतृत्वको स्वामित्व?

कांग्रेसका नेताहरूमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्ने कि पुरानो नेतृत्वलाई नै निरन्तरता दिने भन्ने विषयमा विवाद चर्किएको छ।

एक पक्षले विशेष महाधिवेशनबाट विधि र प्रक्रियाअनुसार निर्वाचित भएको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्ने बताइरहेको छ। अर्कोतर्फ देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापतिका रूपमा स्वीकार गरेको छैन।

कांग्रेस महामन्त्री गुरुराज घिमिरे विधि र विधानअनुसार निर्वाचित भएको नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडानमा छन्। विधि र विधानअनुसार बनेको नेतृत्वलाई स्वीकार गरे कांग्रेस एक ढिक्का भएर अघि बढ्न सक्ने महामन्त्री प्रदीप पौडेलको टिप्पणी छ।

संस्थापनइतर समूहसम्मका नेताले गगन थापालाई सभापति स्वीकार नगर्दा कांग्रेस पार्टी विभाजनको डिलमा पुगेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।

‘विभाजन होइन, एकता’

देउवाले नेपाल आउनेबित्तिकै जारी गरेको वक्तव्यमार्फत आफूले विभाजन नभई एकता चाहेको सन्देश दिएका छन्। गगन थापाप्रति केही नरम देखिएका देउवाले आफ्नो वक्तव्यमार्फत पार्टी र मुलुकबारे महत्वपूर्ण सन्देश दिएका छन्।

आन्तरिक विवादबारे देउवाले भनेका छन्, ‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ।’ उनले आफू शक्ति प्रदर्शन वा शक्ति आर्जनका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको दाबी गरेका छन्।

यद्यपि, देउवा नेपाल फर्किएलगत्तै विमानस्थलमा देखिएको ठूलो संख्याको नेता–कार्यकर्ता र समर्थकको उपस्थितिलाई उनको शक्ति प्रदर्शनका रूपमा पनि हेरिएको छ।

नेपाल फर्किनुअघि देउवा शक्ति आर्जनका लागि सक्रिय हुने राजनीतिक वृत्तमा चर्चा चल्दै आएको थियो। विमानस्थलको उपस्थितिले त्यस्तो चर्चालाई थप बल दिएको छ।

गगनलाई सभापति नस्वीकारेको देउवा पक्षले उनको चुनदेवीस्थित निवासमा सभापतिकै बोर्ड टाँसेको छ। यसले देउवा उपस्थित भएर पनि थापालाई सभापति स्वीकार गर्ने सम्भावना कमजोर देखिएको छ। थप कुरा शुक्रबार हुने देउवाको सम्बोधनपछि धेरै स्पष्ट हुने बताइएको छ।

देउवा पक्षका नेता नेता डा. प्रकाशशरण महतले भने, ‘हाम्रो सभापतिज्यूले २९ गते सम्बोधन गर्नुहुन्छ। त्यसपछि सबै कुरा छर्लङ्ग हुन्छ। आजै किन उजागर गर्ने र?’

देउवाले आफ्नो वक्तव्यमा कानुन, न्याय र मुलुकको सर्वोपरि हितका लागि आफूले काम गर्ने उल्लेख गरेका छन्। उनले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा राख्दै नवपुस्तालाई अघि बढाउँदै पुरानो पुस्ताको योगदानको कदर गर्नुपर्ने बताएका छन्।

‘मेरो जीवन खुला किताब हो,’ देउवाले भनेका छन्, ‘अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिकता तथा मूल्य–मान्यताअनुसार काम गर्नेछु।’

सभापति थापाप्रति केही नरम रूपमा प्रस्तुत भएका देउवाले शुक्रबारको सम्बोधनमा कस्तो राजनीतिक सन्देश दिन्छन् भन्ने विषय भने महत्वपूर्ण बनेको छ। युवा पुस्ताको आन्दोलनलाई स्वीकार गर्दै आफू राष्ट्रिय एकता जोगाउन फर्किएको उद्घोष गरेका देउवाले कांग्रेसलाई पनि एकताको बाटोमा लैजान्छन् कि विभाजनतर्फ, त्यसका लागि केही समय कुर्नुपर्ने देखिन्छ।

देउवानिकट नेताहरूले गगन थापालाई सभापति स्वीकार नगरेको र एकअर्कामाथि आरोप–प्रत्यारोप जारी राखेको अवस्थामा पार्टीलाई विभाजनतर्फ धकेलेको भन्ने प्रश्न उठ्न थालेको छ।

देउवा पक्षको शक्ति प्रदर्शन

देउवाले बिहीबार आफ्नो पक्षमा शक्ति प्रदर्शन भने गरेका छन्। यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको नेता, कार्यकर्ता र समर्थकको भीड हो।

राजनीतिक विश्लेषकहरूका अनुसार देउवाले गगनलाई सभापति स्वीकारेको देखिएन । गगनले संवादको ढोका नखोलेकाले उनले पनि चुनदेवीमा चुनौती दिँदै सभापतिको बोर्ड टाँगेका छन् ।

उता देउवा पक्षका नेता रमेश लेखकले पत्रकारसँग आफूहरू एकताकै पक्षमा रहेको बताएका छन्। ‘हामी पार्टी एकताकै पक्षमा छौँ। शेरबहादुर दाइ नेपाल आउनुभयो, पार्टीको एकतामा बल पुर्‍याउनुहुन्छ भन्ने हामी विश्वास लिएका छौँ।’

संस्थापन पक्षले के गर्ला?

शुक्रबार हुने देउवा पक्षको राष्ट्रिय भेलामा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका कुनै पनि नेता–कार्यकर्ता उपस्थित हुने छैनन् । केन्द्रीय समितिका नेताहरू पनि देउवा पक्षको राष्ट्रिय भेलामा उपस्थित हुने छैनन् । तर बिहीबार विमानस्थलमा स्वागतका लागि भने केही नेता पुगेका थिए ।

गत पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनमा सहभागी भएका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिमध्ये केही राष्ट्रिय भेलामा उपस्थित हुन सक्ने स्वीकारोक्ति थापा पक्षकै नेताहरूले गरेका छन्।

राष्ट्रिय भेलामा उपस्थित भए पनि उनीहरूमाथि कारबाही नगर्ने संस्थापन पक्षले जानकारी दिइसकेको छ। त्यसकारण देउवा पक्षको कार्यक्रममा थापा पक्षीय केही महाधिवेशन प्रतिनिधि सहभागी हुन सक्ने सम्भावना छ।

बिहीबार बसेको केन्द्रीय कार्य समिति बैठकले आफ्ना सदस्य तथा पदाधिकारीलाई राष्ट्रिय भेलामा उपस्थित नहुन निर्देशन जारी गर्न सक्ने सम्भावनासमेत रहेको बताइएको छ। तर महामन्त्री प्रदीप पौडेलले त्यस्तो कुनै कार्यक्रम नरहेको जानकारी दिएका छन्।

देउवा पक्षका नेता कृष्णप्रसाद सिटौलाले सबैलाई राष्ट्रिय भेलामा बोलाइएको जानकारी दिए पनि विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय समितिका नेताहरूलाई व्यक्तिगत निमन्त्रणा नदिइएको बताए ।

कांग्रेसभित्रको विवाद अहिले पुनरावलोकनका लागि अदालतमा पुगेको छ। त्यसकारण कतिपयले विशेष महाधिवेशन नै खारेज हुन सक्ने अड्कलसमेत गर्न थालेका छन्। यद्यपि, कांग्रेसका नेताहरूले अदालतमा विचाराधीन विषयलाई अदालतकै निर्णयमा छाड्न आग्रह गर्दै आएका छन्। उता गगनले बिहीबार नै केन्द्रीय कार्यसमिति बैठकमा देउवालाई पूर्वसभापतिका रुपमा स्वागत गरेका छन्।

अब सबैको नजर शुक्रबार देउवाले गर्ने सम्बोधनमा छ। करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवाले बिहीबार भने ‘विभाजन होइन, एकता’को सन्देश दिएका छन्। तर उनले चाल्ने आगामी कदम कुन बाटोमा चाल्छन् भन्ने कुराले कांग्रेसको आगामी राजनीतिक दिशा मात्रै होइन, पार्टीको भविष्य पनि निर्धारण गर्ने छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ४ : ४० बजे

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा